चितवन, १८ माघ (रासस)/ मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् ।
दुई ठुला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठुला निजी अस्पताल रहेको भरतपुरमा शिक्षक अस्पताल स्थापनासँगै स्वास्थ्य क्षेत्रको थप विकास हुने भएको छ । भरतपुर महानगरपालिका–१५ भगवानपुरमा जग्गा उपलब्ध गराउन महानगर सहमत भएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो ।
शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउन सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन गरेसँगै यहाँ अस्पताल बनाउन भरतपुर महानगरपालिकाले पहल थालेको थियो । अस्पताल बनाउन प्रस्ताव गरिएको ठाउँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र एवं गाउँसमेत हो । महानगरपालिकाका प्रमुख रेनु दाहालले सो ठाउँमा ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराएसँगै सोही ठाउँमा अस्पताल बनाउने निर्णय भएको बताउनुभयो ।
महानगरपालिकाको प्रयास सफल भएको भन्दै उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रमुख दाहालले भन्नुभयो, “अस्पताल बनेसँगै स्थानीयवासीको जीवनस्तर उकासिने छ । रोजगारी सिर्जना हुने, व्यापार व्यवसाय फस्टाउने र स्थानीय उत्पादन खपत हुनेछ ।”
यसले मेडिकल सिटीका रुपमा अघि बढेको भरतपुरको विकासमा थप टेवा पुग्ने प्रमुख रेनु दाहालको भनाइ छ ।