तुलसीपुर, २१ माघ (रासस)/ दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा घरैपिच्छे होमस्टे निर्माण गरिएको छ । त्यहाँ अहिलेसम्म सात होमस्टे निर्माण गरिएको स्थानीय प्रविर पुनले बताउनुभयो । यस क्षेत्रमा १० वटा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । अहिलेसम्म सात होमस्टे दर्ता गरिएको छ । वि.सं २०७६ देखि त्यहाँका स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । त्यहाँको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व अवलोकनका लागि पर्यटक आउने गरेका छन् । ती पर्यटकलाई होमस्टेको सेवा दिने गरेको स्थानीय जीवराज रेउलेले बताउनुभयो । उहाँका अनुसार होमस्टेले त्यहाँका स्थानीयवासीको आम्दानीको स्रोत पनि बढेको छ । “अहिले कोरोनाले गर्दा केही असहज भएको छ”, उहाँले भन्नुभयो, “नत्र परिवार पाल्नलाई होमस्टेले हामीलाई निकै सहज बनाएको छ ।” होमस्टेमा जैविक खाना प्रदान गर्ने गरिएको छ । स्थानीय रुपमा उत्पादन भएका रोटी, ढिँडो, सिस्नोको तरकारी, लोकल कुखुरा, दही, दूध, स्थानीयस्तरमा उत्पादन गरिएका मदिरा खुवाउने गरिएको उहाँको स्थानीयको भनाई छ ।
जिल्लाकै पर्यटकीय हिसाबले उत्तम ठाउँ छिल्लीकोट हो । त्यहाँ विश्वकै दुर्लभ वनस्पति मल्लागिरि पाइन्छ । त्यत्तिमात्रै होइन, त्यहाँ कुनै समय राजा बसेको ठाउँ पनि हो । उक्त ठाउँ भौगोलिक हिसाबले पनि एकदमै उत्तम स्थान हो । त्यहाँबाट रुकुमपूर्वको सिस्ने, रोल्पाको जलजला तथा धवलागिरि हिमालको अवलोकन गर्न सकिन्छ । त्यस्तै रुकुम, रोल्पा, सल्यान तथा दाङको भू–भागको पनि त्यहाँ अवलोकन गर्न सकिन्छ ।।