मोरक्कोमा ३२ मिटर लामो साँघुरो इनारमा खसेका ५ वर्षीय बालक रायनको मृत्यु/बालकको उद्दारमा खुसीयाली मनाउन गएको भीड शोकमा बदलियो ।
मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालकको मृत्यु भएको छ । ३२ मिटर लामो साँघुरो इनारमा खसेका रायन नाम गरेका ती बालकको जीवितै उद्दारका लागि सरकारले चारदिन निरन्तर प्रयास गरेको थियो । तर उद्दारको दुःखद अन्त्य भएको छ ।
बालकलाई इनारबाट निकाल्दा घटनास्थलमा खुसीले चिच्याएको ठूलो भीड जब बालकको मृत्यु भइसकेको खबर बाहिरियो शोकमा बदलिएको थियो । बालकलाई उद्दारकर्ताहरुले शनिबार साँझ इनारबाट निकालेका थिए । बालकलाई इनारबाट निकाल्नु अघि घटना स्थलमा ठुलो भीड जम्मा भएको थियो ।
फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा रायनको जीवन रक्षाका लागि कामना गर्नेहरुको संख्या ठुलो थियो । तर चारदिनपछि उद्दार गरिएका बालकको मृत्यु भइसकेको खबरले सबैलाई स्तब्ध बनाएको छ । बालकको मृत्युप्रति मोरक्का राजा मोहम्मद-पाँचौले गहिरो दुःख व्यक्त गर्दै शोक सम्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । बालक खसेको इनार नजिकै अर्को समानान्तर इनार खनेर बालकलाई निकालिएको थियो । बालकका बुवाले इनारको मर्मत गर्ने क्रममा रायन इनारमा खसेका थिए ।