भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा सुरु हुन १ सय १९ वर्ष लाग्याे

राष्ट्रिय समाचार

भक्तपुर, २९ माघ (रासस)/ भक्तपुर अस्पताल स्थापनाको १ सय १९ वर्षपछि पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍‌ सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटर सहितको एनआइसियु सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो । अब त्यसको अन्त्य भएको छ, २० शय्याको एनआइसियु सञ्चालनको तयारी पूरा भएको छ । आगामी फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दामुनिकाका लागि १० शय्याको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउने गौतमले जानकारी दिनुभयो । आवश्यक सबै तयारी पूरा गरेर जनशक्तिसमेत परिचालन गरिएको छ । तीन वर्ष अगाडिसम्म आइसियु नै नभएको भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा गौतम आएपछि अस्पतालको मुहार फेरिएको छ । अस्पतालमा डेढ वर्षदेखि भेन्टिलेटर सहितको १६ आइसियु सञ्चालनमा छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा गौतमका अनुसार भेन्टिलेटरसहितको ६ शय्याको आइसियू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटर सहितको १० शय्याको आइसियु अरु बिरामीका लागि प्रयोग भइरहेको छ । आइतबारदेखि बच्चाको २० शय्याको आइसियु सुरु भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटर सहितको ३६ शय्याको आइसियु सञ्चालन हुनेछ । भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आइसियु छैन, डाक्टर छैनन्, सुविधा छैन भनेर अन्यत्र जानु नपर्ने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *