ब्राजिलको पेट्रोपोलिस सहरमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको रियो दि जेनेरियो सहरबाट उत्तरी हिमाली क्षेत्रमा अवस्थित सो सहर अवरल वर्षाका कारण प्रभावित भएको हो ।
बाढीका कारण घरहरु क्षतिग्रस्त बन्नुका साथै सडकमै बाढीको पानी खोला जसरी बग्न थालेपछि कार लगायतका सवारी साधन बगाएको छ । बाढीले शहर नै तहस नहस बनाएपछि पेट्रोपोलिस शहरका मेयरले संकटकालको घोषणा गर्नुभएको छ ।

बाढी र पहिरोमा फसेकाहरुको जीवितै उद्दारका लागि खोज तथा उद्दार टोली खटाइएको छ । ब्राजिलको राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार उद्दार टोलीले हालसम्म पहिरोमा पुरिएका २४ जनाको जीवितै उद्दार गरेको छ ।
खोज तथा उद्दार कार्य जारी रहेकाले उद्दार गरिने र मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरूमा बाढीका कारण भएको व्यापक क्षति र सडकमा सवारी साधनहरू तैरिरहेको देखिन्छ ।
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो रुसको औपचारिक भ्रमणमा रहेका बेला विपद् आइ लागेको हो । पीडितहरुलाई तत्काल राहत उपलब्ध गराइने राष्ट्रपति बोल्सोनारोले बताउनु भएको छ । विपद् व्यवस्थापनका लागि १ सय ८० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।