भद्रपुरमा बन्यो काली मन्दिर

Uncategorized

बनियानी, ५ फागुन (रासस)/ झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो । विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिर जस्तै भव्य बनाइएको उहाँले बताउनुभयो । “हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ”, उहाँले भन्नुभयो, “ऐतिहासिक धार्मिक स्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।

” मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले रु २७ लाख सहयोग उपलब्ध गराएको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनुरुप मन्दिर निर्माण गरिएको बताउनुभयो । “नगरकै आकर्षक धार्मिक पर्यटकीय स्थल बनाउने योजनामा स्थानीयवासी लाग्नुभएको छ”, उहाँले भन्नुभयो, “यसमा नगरपालिकाले पनि सहयोग गरेको हो ।”

मन्दिर निर्माणका लागि विभिन्न दाताले आर्थिक सहयोग गर्नुभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दाताबाट सङ्कलित सहयोग पारदर्शी र मितव्ययी तरिकाले मन्दिर निर्माणमा खर्च गरिएको बताइएको छ । काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोहीअनुरुपका साना मूर्ति भारतको सिलीगुढीबाट खरिद गरेर ल्याइएको छ । रु सात लाखको लागतमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाइले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *