काठमाडौँ, १६ फागुन (रासस)/ के तपाईं चन्द्रागिरी नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाईंले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइन मार्फत् तिर्न सक्नुहुनेछ । साथै आफूलाई आवश्यक पर्ने विभिन्न सिफारिस लिन घरैबाट आवेदन दिन सक्नु हुनेछ । यसका लागि नगरपालिकाले अहिले धमाधम जिपिएस-जिआइएस प्रणाली मार्फत् नगर प्रोफाइल तयार पार्ने काम तीव्र बनाएको छ । यो काम सम्पन्न भइसकेपछि नगरवासीले अनलाइन सेवा उपयोग गर्न पाउने जनाइएको छ ।
नगरप्रमुख घनश्याम गिरीले जिपिएस-जिआइएस प्रणाली मार्फत् नगर प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताउनु भयो । प्रोफाइलले चन्द्रागिरिलाई ‘स्मार्ट सिटी’ बनाउन सहयोग मिल्नेछ । नगरवासीले घरमा बसेर सबै सेवा पाउने छन् । स्थानीय सरकारले पनि कुन स्थानमा कस्तो विकास आवश्यक पर्छ भन्ने जानकारी पाउने छन् ।
नगर ‘प्रोफाइल’ नगरपालिकाले आफ्नो नगर क्षेत्रको भौगोलिक सूचना लिन ड्रोनको सहायता लिएको छ । १८ दिन लगाएर वडा नं १ देखि १५ सम्मका सबै क्षेत्रमा ‘ड्रोनसर्वे’, ‘स्याटेलाइट म्यापिङ’को काम गरी लगभग नगरका ३५ हजार घरको ट्रयाकिङ भइसकेको छ । ड्रोनबाट लिइएका तस्बिरलाई ‘डिजिटाइज’ गर्ने काम धमाधम भइरहेको छ । ती डिजिटाइज तस्बिरलाई अस्थायी नम्बर दिने काम लगभग सम्पन्न भइसकेको जनाइएको छ ।
अब हरेक घरमा गणक तथा प्राविधिक टिम परिचालन हुनेछन् । गणकले घरधनी र अन्यसँग व्यक्तिगत विवरण तथा प्राविधिक टोलीले निजी घर, विद्यालय, धार्मिकस्थल, सार्वजनिकस्थल तथा जमिनका प्राविधिक पक्षका सूचना सङ्कलन गर्नेछन् । नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जीव ज्ञवालीले नगरका प्रत्येक घरमा गणक तथा प्राविधिक टोली खटिँदै छन् । ट्याब मार्फत सूचना सङ्कलन हुनेछन् । यस्तो सूचना नगरपालिकाको नेटवर्किङसँग जोडिने छ ।