तुलसीपुर, १५ फागुन (रासस)/ पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जाने समेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानी समेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । यति लामो इतिहास बोकेको सो विद्यालयमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन ।
नजिकै बगिरहेको खोलाबाट विद्यालयसम्म पानी ल्याउने व्यवस्था गर्न सकिएको अवस्था छैन । विद्यालय परिसरमा एउटा गैरसरकारी सस्थाले धारा जडान गरेको छ, तर यसमा पानी आउदैन । धारामा कमिला हिँडिरहेका हुन्छन् । शौचालयमा पानी हुँदैन । शौच गर्न खोलाबाट पानी बोक्नु पर्छ । खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरूसमेत किनेको छ । यही खोलाबाट विद्यार्थीले पानी बोकेर प्रयोग गर्ने गर्छन् । विडम्बना त के छ भने विद्यार्थीले त्यही खोलाको पानी प्रयोग गर्छन् ।
गाउँका मान्छेले पनि खोलामा बगिरहेको त्यही पानी प्रयोग गर्ने गरेका छन् । धेरै माथिको मुहानबाट बगेर आएको पानी नै विद्यार्थीले पिउनुपर्ने बाध्यता छ । बिभिन्न ठाउँमा पानीको उचित व्यवस्थापनका लागि पहल गरे पनि अहिलेसम्म सफल हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर विकले भन्नुभयो । पानीका लागि अहिलेसम्म कुनै पनि निकायबाट सहयोग भएको छैन । विद्यार्थी खोलाको दूषित पानी पिउन बाध्य रहेको जनाउँदै यसमा समयमै ध्यान दिनुपर्ने विद्यालयका प्रधानाध्यापक मीनबहादुर केसीले बताउनुभयो ।