भक्तपुरको रानीपोखरी

राष्ट्रिय समाचार

भक्तपुर, १७ फागुन (रासस)/ भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्वार गरेको हो । कला र संस्कृतिको संरक्षणमा पछिल्लो पुस्ता लाग्नु पर्नेमा वुद्धिजीवीहरुले जोड दिएका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले  पुरातत्व विभाग, प्रशासन र मालपोत कर्मचारीको मिलेमतोमा सांस्कृतिक सम्पदा नै व्यक्तिको नाममा जाने डर भएको भन्दै सम्पदा र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कार्य नगरपालिकाको जिम्मा लगाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रताप मल्लले नेपाल संवत् ७९० मा निर्माण गराएको काठमाडौँको रानीपोखरी, नेपाल संवत् ७६७ मा सिद्धिनरसिंह मल्लले निर्माण गराएको पाटनको रानीपोखरीभन्दा पहिला नेपाल संवत् ७५० मा जगज्योति मल्लले निर्माण गरेको भक्तपुरको रानीपोखरी उपत्यकाकै पुरानो भएको बताउनुभयो । पन्ध्र रोपनी पाँच आना दुई पैसा क्षेत्रफलमा रहेको पोखरीको बीचमा नागको अवशेष राख्ने ठाउँ जीर्णोद्वार गरिएको छ ।

पोखरीको वरिपरिको पर्खाल, पेटी, बाटो, डबलीलगायत संरचना मल्लकालीन शैलीमा पुनःनिर्माण गरिएका छन् । रानीपोखरीको पुनः निर्माण २०७५ माघदेखि थालिएको हो । नगरपालिकाको कूल रु चार करोड ४१ लख १९ हजार लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत रु दुई करोड ५४ लाख ८३ हजारमा निर्माण सम्पन्न भएको जानकारी दिइयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *