झापा, १९ फागुन/ अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थालेपछि उनलाई साङ्लोले बाधेर राखिएको हो ।
आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको बुवा सेवुलालले बताए । सेबुलालका दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश । श्रीमती पनि नभएकाले सानैदेखि दुई छोराको लालनपालन एक्लै गर्दै आउनु भएका उहाँले मजदुरी गरेर जसोतसो घर चलाउँदै आउनु भएको थियो । छोराको मानसिक अवस्था विग्रएपछि सेबुलाललाई घर चलाउनै मुस्किल भएको छ । छोरा जता गयो उतै हराउने र जे पायो त्यही खाने गर्न थालेपछि केही समयअघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको हो ।