- शरद चन्द्र पौडेल
सर्पको नाम लिने वित्तिकै हामीलाई डर लाग्छ । त्यसमा पनि टाउको माथि उठाएर फडाँ फुकाएर चिरीएको जिब्रो ल्यापल्याप गर्दै चलाउने गोमन सर्प देख्दा त हाम्रो सातोपुत्लो नै उड्छ । गोमन सर्पले टोकेपछि मानिस मर्न सक्ने भएकाले हामी यसरी डराएका हाैँ । गोमन सर्पको सुलुक्क परेको, कडा मासुले वनेको शरीर र नागवेली गर्दै वगेर हिडने भएकोले पनि हामीमा डर पैदा हुन्छ । हुन पनि भारतमा मात्र गोमन सर्पले टोकेर प्रत्येक वर्ष कारीव दश हजार मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि गोमन सर्पको टोकाईबाट मानिसहरुको मृत्यु हुनेगरेको छ ।
गोमन सर्प खुट्टा नभएको घस्रिएर हिँड्ने कडा विष भएको जनावर हो । जीव विकासमा छेपारोले खुट्टा गुमाए पछि सर्प बनेको विश्वास गरिन्छ । संसारमा करीव ३००० थरीका सर्प पाइन्छन् । यीमध्ये गोमन एक थरीको सर्प हो । नेपालमा पाइने गोमनलाई इन्डियन गोमन सर्प भनिन्छ । यसको वैज्ञानिक नाम नाजा हो । भारतमा सबैले नागको रुपमा चिन्ने भएकाले सबैभन्दा पहिला भारतमा गोमन सर्प पत्ता लगाएर नामकरण गर्ने प्राणीशास्त्रीले नाग शब्दलाई ल्याटिनिकरण गर्दा नाजा हुन गएको हो । यो असाध्यै विषालु हुन्छ ।
गोमन डराए पछि यसले टाउको उठाएर फडाँ फैलाउँछ । फडाँ गोमन सर्पको विशेष पहिचान हो । यसको फडाँमा दुई गोलाकार र तीनलाई जोडने वक्र रेखावाट चश्माको आकार बन्ने भएकाले गोमनलाई चश्मे सर्प पनि भनिन्छ । गोमन सर्प दिनमा आराम गर्ने र साँझ बिहान हिँडडुल गर्ने प्राणी हो ।
यो गर्मी ठाँउमा मात्र पाइने प्राणी हो, २००० मिटर भन्दा माथिको चिसो ठाँउमा यो पाइदैन । गोमन सर्प नेपालको गर्मी हुने तराईमा मात्र पाइन्छ । गोमन सर्प नेपाल बाहेक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकामा पनि पाइन्छ । गोमन सर्प जंगल, धान खेत, गहँु बारी, चट्टानी भाग, चिसो जमिन र घनाबस्ती भएका शहरी क्षेत्रमा पनि पाइन्छ । यो अक्सर पानीको नजिक बस्न रुचाउँछ । धान खेत यसको प्रिय वासस्थान भएकोले धेरै मानिस यसको टोकाईमा परेर मरेका हुन् । यो रुख चढ्न र पनीमा राम्रोसँग पौडिन पनि सक्दछ । यसले मासु मात्र खान्छ, सागपात खाँदैन ।
गोमन सर्पले चराहरु, चराका फूलहरु, भ्यागुतो, मुसा जस्ता ससाना स्तनधारी, छेपारो र सर्पको शिकार गर्दछ । यसले शिकारलाई देख्नेवित्तिकै टोकेर विष प्रवेश गराउँछ र विषले शिकारमा असर गरेर चल्न चट्पटाउन नसक्ने नहुँदासम्म कुरेर वस्छ । रुखमा चढेर यसले चराको बच्चा तथा फूलहरु चोरेर खाइदिन्छ । रुखमा सर्प चढ्दा चराहरु एकदमै चर्को स्वरमा कराउँछन् । यसले शिकार सिंगै निल्दछ । यसको टाउकोका तल र माथिका वंगाराहरु मानिसमा जस्तो नजोडिएको हुनाले यसले आफ्नो टाउकोभन्दा ठुलो चिज पनि निल्नसक्दछ । यसको सास फेर्न प्रयोग गर्ने हावा नली लचकदार मासुले बनेको हुनाले यसरी शिकार निल्दा पनि यसलाई सास फेर्न गाह्रो हुँदैन ।
गोमन सर्पको शरीर सुडौल र चिटिक्क मिलेको लामो हुन्छ । यसको लम्बाई १ देखि १ं.५ मिटरसम्म हुन्छ । श्रीलंकामा पाइने गोमनको लम्बाई दुई मिटरसम्म भएको पाइएको छ । यसको टाउको अण्डाकार हुन्छ र घाँटीसग स्पष्ट छुट्टिएको हुन्छ । थुतुनो छोटो र गोलाकार हुन्छ । थुतुनोमा ठुलाठुला नाकका प्वाल रहेका हुन्छन् । गोमन सर्पको कान हुँदैन, यो बहिरो हुन्छ । बहिरो भए पनि गोमन सर्पले थर्किएको भने थाहा पाउन सक्दछ । यसको आँखामा परेला हुँदैन, त्यसकारण सुत्दा पनि यसको आँखा खुलै रहन्छ । पारदर्शि झिल्लीले आँखाको रक्षा गरेको हुन्छ । जिब्रो लामो र चिरिएको हुन्छ । गोमनको जिब्रोले मानिसको जिब्रोले जस्तै स्वाद थाहा पाउने काम मात्र गर्दैन, यसले गन्ध र स्पर्श पनि थाहा पाउँछ । यसको जिब्रोले बास्नाका कणहरु जम्मा पार्दछ र मुखमा भएको ज्याकोबसन भन्ने अंगले कुन स्वाद हो भनेर थाहा दिन्छ । जिब्रोले गोमन सर्पलाई शिकार पत्ता लगाउन, साथी भेट्न, खतराको अनुमान गर्न र बाटो पत्ता लगाउन सहयोग गर्दछ ।
गोमन सर्पले बैसाख देखि श्रावण महिनामा फुल पार्दछ । एक पटकमा गोमन सर्पले १२ देखि २० वटा फुल पार्दछ । फुलबाट सानो सर्प निस्कन ४८ देखि ६९ दिन लाग्दछ । प्रायः सवै थरी सर्पले फुल पारेपछि छोडेर हिँड्छन् । पोथी गोमन सर्पले फुलबाट सानो सर्प ननिस्किँदासम्म खाना खोज्न जाँदा बाहेक अरु बेला कुरेर वस्छ, रखबारी गर्दछ । फुलबाट निस्किएको सानो सर्प स्वतन्त्र हुन्छ । यो सलल्ल बग्दै आफनो बाटो लागि हाल्छ । यस्तो सानो सर्पको लम्बाई करीव २० देखि ३० सेन्टीमिटर मात्र हुन्छ । यसलाई अरु जनावरको बच्चालाई जस्तो आमाबुवाको हेरचाह आवश्यक हुँदैन । यसरी निस्किएको सानो सर्पमा विषको ग्रन्थी पनि पूर्ण रुपमा विकास भई सकेको हुन्छ । सबै सर्पजस्तै गोमन सर्पको शरीर पनि बाहिरी छालाले बेरिएको हुन्छ । सर्प बढ्दै गएपछि यो छाला छोड्दै जान्छ । सिंगो सर्प जस्तो देखिने सर्पले छोडेको यो छालालाई काँचुली भनिन्छ । गोमन सर्प करीव २५ वर्षसम्म बाँच्न सक्दछ ।
गोमन सर्पको माथिल्लो गिजाको अगाडिको भागमा विषको थैली रहेको हुन्छ । सर्पले अगाडिको तिखो दाह्रा गाडेर टोक्छ । सर्पले टोक्दा विषको थैली मुखको मासुले निचोरिन्छ र दाह्राको भित्री प्वालवाट विष शिकारको टोकिएको ठाँउमा प्रवेश गर्दछ । विषले १५ मिनेटपछि असर देखाउन थाल्दछ । यसको विषले फोक्सो र मुटुमा असर गर्दछ । असर गरेको ३ देखि ६ घण्टाभित्र मानिसको मृत्यु हुन्छ । गोमनले टोकेको केही बेरमै अस्पताल लगेर विष विरुद्धको सुई लगाउन सकियो भने मानिस मर्दैन । त्यसैकारण सर्पले टोक्दा झारफुुक गरेर समय खेर फाल्नहुँदैन, तुरुन्तै अस्पताल पुर्याउनु पर्दछ ।
हिन्दूहरु गोमन सर्पलाई नागको रुपमा पूजा गर्दछन् । हिन्दू देवता महादेवले यही सर्पको माला लगाउँछन् भने विष्णु सर्पको आसनमा बस्दछन् । नाग पञ्चमीमा त गोमन सर्पको पूजा नै गरिन्छ ।
सर्प नचाउने सपेराहरुले यो सर्पको विष निकालेर धेरै पैसामा बेच्छन् । विष नभएका सर्पलाई विणा बाजा वजाएर नचाउँछन् । वास्तवमा बहिरो हुने भएकाले सर्प विणाको अवाजमा नाचेको हुँदैन, सपेराले अक्रमण गर्छ कि भनी सपेराले विणा जताजता लैजान्छ, त्यतै तिर ढल्किएको मात्र हो । यस्तो सर्प नचाउने काम धेरै हुने भएकाले भारतलाई सपेराको देश भनेर पनि चिनिन्छ ।
मनिसहरु गोमन सर्पले डसेर वा टोकेर मर्नसक्ने भएकाले यसलाई देख्ने वित्तिकै मार्दछन् । वैज्ञानिकहरुले यो सर्पलाई विभिन्न अनुसन्धानको लागि प्रयोग गर्दछन् । यसको काँचुली, छाला, विष, बोसो परम्परागत ओषधि बनाउन प्रयोग हुन्छ । चश्माको आकार भएको छाला बहुमूल्य व्याग वनाउन प्रयोग गरिन्छ । यी कारणले गर्दा यो जनावर संकटमा छ ।
गोमन सर्पले अन्नबाली खाने मुसा मारी खाने भएकाले यो किसानको मित्र हुन्छ । वैज्ञानिकले यसको विषवाट विषविरुद्धको औषधी वनाउँछन् । यो हाम्रो सांस्कृतिक जनावर पनि हो । त्यसकारण यसलाई संरक्षण गर्नुपर्दछ । नेपाल सरकारले यसलाई संरक्षण गर्नुपर्ने जनावरको सूचीमा राखेको छ । यसलाई मार्दा अपराध हुनजान्छ ।