बालसाहित्यमा स्वैर कल्पना होइन यथार्थ प्रस्तुत गरिनु पर्छ । बालबालिकालाई विश्वासको आधार बनाएर मात्र पत्याउन सकिने कथावस्तुमा बालसाहित्य रचना गर्न सके राम्रो होला भन्ने ठान्दछु ।
– वरिष्ठ आख्यानकार गीताकेशरी
बालसाहित्यमा भाषालाई विशेष महत्व दिनुपर्छ । मिठासपूर्ण सरल भाषाशैलीमा लेखिनु राम्रो हुन्छ । कथावस्तु खजमजिएको भन्दा सरर बगेको भयो भने पढ्न मजा लाग्छ । साथै परिवेश अनुसारको जीवनशैली देखाउनु पर्छ । उदाहरण्का लागि तराईका बालबालिकाले मुरै खाजा बोकुन् अनि पहाडकाले मकै भटमास वा यस्तै अन्य घरमै बनाएको खाजा बोकुन् । साथै बालउपन्यास रचना गर्दा घटनाक्रमहरु चाँडचाँडो दौडाउने भन्दा पनि विस्तृत रुपले वर्णन गर्दै, संवाद थप्दै अघि बढ्दा राम्रो हुन्छ ।
– वरिष्ठ समीक्षक डा. शैलेन्दुप्रकाश नेपाल
बालसाहित्य लेखनमा बालबालिकालाई मनोरन्जन दिने एक मात्र उद्देश्य हुनुपर्छ । उनीहरुलाई उपदेश थोपर्ने पक्षमा म छैन । साथै बालउपन्यास रचना गर्दा अध्यायहरु विभाजन गरेर, हरेक अध्यायमा मूल कथासँग सम्बन्धित कथाहरुलाई मिहिन ढंगले गाँसेर रचना गर्न सकियो भने राम्रो हुन्छ । संवाद कम भयो र वर्णन मात्र बढी भयो भने पढ्न मजा आउँदैन । यसमा रचनाकार सचेत हुनुपर्छ ।
– वरिष्ठ समीक्षक प्रमोद प्रधान
बालसाहित्य लेखनमा बालबालिकालाई मनोरन्जन दिने नाममा स्वैर कल्पनामा मात्र उडाउनुपर्छ भन्ने कुरामा म सहमत छैन । उनीहरुका पनि कर्तव्य हुन्छन् । जिम्मेवारी हुन्छन् । एउटा बालकलाई कस्तो बनाउने भन्ने कुरामा लेखक सचेत हुनैपर्छ । मनोरन्जन दिने नाममा उनीहरुलाई परिवार, समाज र देशप्रति वफादार हुनबाट उसलाई विचलित गराउनु हुँदैन । सपनाकै माध्यमबाट भनिए पनि उनीहरुको चरित्र निर्माणका लागि उपयोगी खुराकहरु बालसाहित्यका माध्यमबाट आउनु पर्दछ भन्ने म ठान्दछु ।
– वरिष्ठ समीक्षक डा। रामप्रसाद ज्ञवाली
बालसाहित्य लेखनमा एउटा किताबमा एउटै शैली अपनाउनु राम्रो हुन्छ । जस्तो स्वैर कल्पनामा आधारित हो भने त्यो पुरै कथावस्तु फेन्टासीमै सकिएको हुनुपर्छ । स्वैर कल्पना र यथार्थ दुवैको प्रयोग एउटै किताबमा गर्नु राम्रो हुँदैन । साथै लेखकले नयाँ–नयाँ कथावस्तुको खोजी गरी पुनरावृत्तिको दोषबाट बच्नु जरुरी छ । लेखकको आफ्नो लेखनमा शैलीगत रुपमा पनि आफ्नोपन जरुरी छ ।
– चर्चित समीक्षक महेश पौड्याल
बालसाहित्य लेखनमा एउटा बालपात्रले कतिसम्म परिवर्तन गर्न सकेको देखाउने भन्ने कुरामा लेखक सजग हुनुपर्छ कि जस्तो लाग्छ । साथै नयाँ किसिमका पात्र, परिवेश र विषयवस्तुको खोजी गरी लेख्न सके राम्रो होला कि भन्ने मलाई लाग्दछ ।
– वरिष्ठ कथाकार उपन्यास लेखक जलेश्वरी श्रेष्ठ
बालसाहित्य लेखनमा स्वैर कल्पनामा पनि शक्ति छ । मैले छोराहरु हुर्काउने क्रममा पढेका फेन्टासी बुकहरु अझै रमाइला लाग्छन् । हो, जीवनमा अघि बढ्दै जानेक्रममा तथ्यपुस्तक पनि दिनुपर्छ तर उनीहरुको कल्पनाशीलता बढाउन काल्पनिक उडन्ते कथाहरु पनि प्रशस्त पढ्न दिइनुपर्छ जस्तो मलाई लाग्दछ ।
– वरिष्ठ लेखक विन्दु सुवेदी
बालसाहित्य लेखन गम्भीर लेखनमा यसमा फुर्सदमा लाग्ने भन्ने मानसिकतालाई लेखकहरुले त्याग्नुपर्छ । अहिले बालसाहित्यमा आएको बाढीमाथि पनि विचार गरिनुपर्छ । हामीले सधैं स्तरीय बालसाहित्यलाई प्राथमिकता दिनुपर्छ ।
– प्राज्ञ मातृका पोखरेल, प्रमुख, आख्यान विभाग, नेपाल प्रज्ञा–प्रतिष्ठान
बालसाहित्य लेखनको परीक्षण बालबालिका माझमै हुँदोरहेछ । मेरा नातिनीहरुले एउटै किताबमा स्वैर कल्पना र यथार्थ मिसाएकोमा प्रश्न गरे । वास्तवमा आफ्नै परिवेश अनुकूलको बालसाहित्य सिर्जना गर्न सके राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।
– प्राज्ञ नर्मदेश्वरी सत्याल, प्रमुख, बालसाहित्य विभाग, नेपाल प्रज्ञा–प्रतिष्ठान
बालसाहित्यमा बालबालिकाले ठूलठूला कार्य सम्पन्न गर्न सकेको देखाइनुलाई अतिशयोक्ति मान्नु हुँदैन । ठूलो सपना देख्नु राम्रो कुरा हो । सपना पूरा गर्न पात्रहरु इमान्दार छन् र मिहिनेत गरिरहेका छन् भने सपना अवश्य पूरा हुन्छ । बालसाहित्यले आपसी भाइचारा र सहकार्यको संस्कारलाई मलजल गर्नुपर्छ ।
– बालअधिकारकर्मी नवीनचन्द्र घिमिरे
बालउपन्यास लेखनमा जीवनको लामो खण्डको चित्रण आउनु जरुरी छ । किनकि कथा गमलाको फूल हो भने उपन्यास बगैँचा हो । बालसाहित्य लेखकमा विधागत सचेतता हुनु जरुरी छ ।
– युवा समीक्षक महेश क्षितिज
बालसाहित्यमा आफ्नो माटो अनुकूलको कथा पनि हुनुपर्छ । सबै विदेशीको नक्कल गर्नुपर्छ र मनोरन्जन मात्र दिनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिन ।
– वरिष्ठ कथाकार नारायण तिवारी
बालसाहित्यमा सपना मात्र होइन यथार्थका कुराहरु पनि गरिनु पर्छ । परीका कथा धेरै लेखियो अब अरु पात्रका कथा पनि लेखिनुपर्छ ।
– चित्रकार योगेश खपाङ्गी
यस किसिमको छलफल र अन्तरक्रियाले लेखनलाई परिष्कृत बनाउन र नयाँ नयाँ विचारहरु सुन्ने एवम् बुझ्ने मौका मिल्दोरहेछ । आज मेरो कृतिको पाण्डुलिपिमाथि भएको छलफल कार्यक्रमले मलाई धेरै उर्जा प्राप्त भएको छ । धेरै कोणबाट सुझाव आएका छन् । यीमध्ये मलाई उपयोगी लागेका सुझावहरु ग्रहण गरी आफ्नो बालपुस्तकलाई पुर्नलेखन गर्ने विचार गरेकी छु ।
– वरिष्ठ लेखिका लक्ष्मी उप्रेती
बालसाहित्य लेखनका विषयमा हुने यस किसिमका खुला बहसहरुले लेखकहरुमा थप उर्जा प्राप्त हुने रहेछ । यस्ता कार्यक्रमले लेखनप्रतिको जिम्मेवारीबोध अझ बढी महसुस हुने रहेछ । त्यसैले यस्ता गोण्ठीहरुलाई समय समयमा आयोजना गरिरहने कुरामा हामी प्रयत्नशील रहने छौं । यस अवसरमा म कविताराम वाङ्मय कोष, बुकआर्ट नेपाल र सिएलएफएन चिल्ड्रेन्स लिटरेचर डिस्कसन क्लबका साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।
– कार्तिकेय घिमिरे, अध्यक्ष, बालसाहित्य प्रतिष्ठान नेपाल ।