- (विज्ञान कथा)
दिउँसो साथीहरुसँग घुम्न जाँदा ग्रीष्मले बाटोमा बेच्न राखेकाे चटपटे खाएको थियो । अहिले साँझ उसलाई बेस्सरी पेट दुख्न थाल्यो । उसले चिसो वरफ पनि खाएको थियो । साँझ परेपछि उसलाई हनहन ज्वराे पनि आउन थाल्यो । ग्रीष्मको आमा–बाबु चिन्तित हुन थाल्नुभयो । ग्रीष्म पनि पेट दुख्यो भनेर कराउन थाल्दा बाबाले डाक्टर अंकललाई फोन गर्नुभयो-
फोन गरेको केही समयपछि डाक्टर रमेश ग्रीष्म सुतेको कोठामा पुग्नुभयो । ग्रीष्मको आमा छेवैमा ग्रीष्मलाई पानी पट्टी गरेर बसिरहनुभएको थियो । डाक्टर रमेशले ग्रीष्मलाई आफ्नो जाँच यन्त्र निकालेर जाँच गर्न थाल्नुभयो—
“खै , हेरुम त…..ज्वरो । ओहो १०२ डिग्री पो रहेछ । के खाएका थियौ बाबु तिमीले आज ?” डा. रमेशले ग्रीष्मको निधारमा हात राख्दै भन्नुभयो ।
ग्रीष्मले सुक्क–सुक्क गर्दै भन्यो—“अलिकति चट्पटै मात्र खाएको हो , अनि पिरो भयो अनि होटेलको पानी पनि खाएको अनि एउटा वरफ पनि खाएको हो ।” यति भनेर उसले खोक्न थाल्यो ।
उसको खोकी छाती नै फुटाउला जस्तो थियो । ग्रीष्मको खोकी सुनेर डा.रमेशले भन्नुभयो—
“ग्रीष्म, तिमीले खाएको खानेकुरामा रोगका किटाणुहरु भएकोले तिमी बिरामी भएका हौ । अब तिमीले मैले लेखेको औषधी खाऊ अनि तिमी फेरि पहिले जस्तै हुन्छौ । अबदेखि नढाकिएको असुरक्षित खानेकुरा नखानु है ।”
“नाइँ , म औषधी त खान्न । औषधी तीतो हुन्छ ।” ग्रीष्मले भन्यो ।
“कस्तो बद्मास भएको बाबु , औषधी खाएनौं भने झन् गार्हो हुन्छ ।” ग्रीष्मको आमाले भन्नुभयो ।
“ल है भाउज्यू , म पनि अहिलेलाई लागे, एउटा बिरामीकहाँ जानु छ । केही पर्यो भने खबर गर्नुस् है ।” डा.रमेश यति भनेर घरबाट निस्के ।
“ममी, बरु म औषधी भोलि बिहान खान्छु ।” ग्रीष्मले जवाफ दियो ।
ग्रीष्मको जिद्दीको अगाडि ममी र बाबाको केही सीप लागेन । ग्रीष्मले तातो जाउलो बल्ल तल्ल खायो । केही बेर उसलाई ममीलै पानी पट्टी गरेपछि ऊ आफै निदायो ।
मस्तसँग निदाएपछि ग्रीष्मको पेटतिर हलचल हुन पो थाल्यो । ‘इसोफ्यागस’ भन्ने खाना नलीबाट एक हुल किटाणुहरु जाउलोमा पौडदैं पेटमा आइपुगे । पेट त पोखरी जस्तै राम्रो रहेछ । उनीहरु सबैले नारा लगाउँदै थिए—“जय ब्याक्टेरिया”
“पेट पोखरीमा विभिन्न क्षेत्रबाट पाल्नुभएका ‘ब्याक्टेरिया’ जिवाणुलाई म पनि सिगेला नामको ब्याक्टेरियाको तर्फबाट हार्दिक स्वागत छ । हामी आज यहाँ सम्मेलन गर्न भेला भएका छौं ।” प्रमुख ब्याक्टेरियाले सबैलाई स्वागत ग¥यो । सबैलै परर ताली पिटे । त्यहाँ अरु पनि भिब्रियो , क्लोस्ट्रि«डिया, स्ट्रेप्टोकोकस, माइकोब्याक्टेरियम लगायतका ब्याक्टेरियाहरु भेला भएका थिए ।
“हेर्नुस् , साथी हो , मानिसहरु अब स्वास्थ्यको लागि सचेत भएका छैनन् । यो खुशीको कुरा हो यसरी सबैले सचेत नभइदिने हो भने चाँडै नै हामी सबैको शरीरमा पस्नुपर्छ । मान्छेको शरीरमा मोज गर्नुपर्छ ।” अर्को एउटा ब्याक्टेरियाले भन्यो ।
फेरि अर्कोले थप्यो—“तर हामी त्यति सफल नहुन पनि सक्छौं । डाक्टरहरुले हामीलाई मार्न बिरामीलाई ‘आन्टीबायोटिक’ औषधी दिइरहेका छन् ।”
“तँ चुप् हुतिहारा ब्याक्टेरिया । हाम्रो संख्या चौबिस घण्टामा चारगुना बढ्छ । त्यो भुसुने डाक्टरलाई के थाहा ? बरु ग्रीष्मको भुँडी छेडेर त्यो डाक्टरको जीउमा पसौं कि क्या हो म त ?”
भिब्रियोले भन्यो ।
“मेरो पेट नछेड है ” ग्रीष्म सुतेको बेला बर्बराउन थाल्यो । सुतेपछि देखिएको सपनामा पो ब्याक्टेरियाहरु आएका रहेछन् । ग्रीष्मलाई तर पनि साँच्चिकै जस्तो लागिरहेको थियो ।
सिगेलाले अरु ब्याक्टेरियाहरुलाई निर्देशन दिँदै भन्यो—
“ल माइकोब्याक्टेरियम तिमी फोक्सोतिर लाग, स्ट्रेप्टो तिमी खोकी लगाइदेऊ म आन्द्राभुँडीतिर लाग्छु ।”
त्यहीबेला झ्वाट्ट ‘भाइरस’हरुको अर्को हुल आयो । भाइरस पनि जिवाणुको अर्को प्रकार हो । भाइरस मध्ये एउटाले भन्यो—
“नमस्ते सबैजनालाई ! मेरौ नाम ‘राइनो भाइरस’ । मैले रुघा लगाउने काम गर्छु । भर्खर मात्र ग्रीष्मलाई रुघा लगाएर आएको हुँ ।
“स्वागत छ , भाइरस भाइ , स्वागत छ । तिमी चाँहि कुन कुन क्षेत्रमा काम गर्छौ ?”
“ए म । म त जाँही ताँही छु । म दिमाग , मुटु , फोक्सो सबतिर पुग्छु । मलाई मार्न पनि गा¥हो पर्दछ । त्यति गतिलो औषधीहरु बनेका छैनन् ।” भाइरसले जवाफ दियो ।
सिगेलाले राइनो भाइरसलाई अँगालो मार्दै भन्यो—
“ओहो ! भाइरस भाइ, तिमी त एकदम महत्वपूर्ण पो रहेछौ । हाम्रो आधा काम तिमीले पो गर्न सक्ने रहेछौ । अरु साथीहरुलाई पनि तिमीलै खबर गर है । हामी तिम्रो एकदम आभारी हुने थियौं । ब्याक्टेरिया सिगेलाले भन्यो ।
यो सपना देखेर ग्रीष्मको निधार भरि चिटचिट पसिना आइसकेको थियो । ऊ कहिले यता पल्टन्थ्यो कहिले उता पल्टन्थ्यो । ब्याक्टेरिया र भाइरसहरु मिलेर आफ्नो जीउलाई सखाप पार्न लागेको कुरा सब थाहा भयो । एकछिनपछि सपनाका दृश्यहरु एक्कासी परिवर्तन भए । एउटा कुनामा डा.अंकललाई मोटो सिक्रीले बाँधेर राखिएको थियो । डा.अंकलको अगाडि एउटा ठूलो आगो बालिएको थियो । ब्याक्टेरिया र भाइरसहरु मिलेर आफ्नो टाउकोमा भारीका भारी आन्टीबायोटिक जस्ता ‘ट्याब्लेट’ औषधीहरु बोकेर आगोमा फुत्तफुत्त फालिरहेका थिए अनि क्लोस्ट्रिडियाले डाक्टरलाई भन्दै थियो—
“तँ हैनस् , मान्छेहरुलाई औषधी दिएर हामीलाई मार्न खोज्ने । अब तँलाई यही आगोमा हाल्छु पख् ।”
त्यसबेला डाक्टर अंकलले ग्रीष्मलाई हेर्दै भन्नुभयो—
“देख्यौ ग्रीष्म, तिमीले औषधी नखाँदा यिनीहरुले कस्तो रुप लिने रहेछन् । अब जे गर्नुपर्छ तिमी आफै विचार गर ।”
डाक्टर अंकलले यसो भन्दा ग्रीष्मको जीउबाट पसिना छुटेको थियो । रातभरि फरक फरक यति लामो सपना देखेर ग्रीष्मले ठूलो निर्णय लिई सकेको थियो । डा.अंकलले दिनुभएको आन्टीबायोटिक औषधी खाएर ती सब ब्याक्टेरियालाई आफ्नो शरीरबाट अन्त्य गर्ने निधो ग्रीष्मले गर्यो । उसले यो सपनाको बारेमा विद्यालयमा आफ्नो सबै साथीहरुलाई पनि भन्यो ।