गुन्जनमा ‘सम्पदा दर्शन’ माथि छलफल

Highlights राष्ट्रिय समाचार

काठमाडौँ, ११ चैत (केटाकेटी अनलाइन)/ नारी साहित्य संस्था गुन्जनको ८३ औं मासिक कोठे बैठकमा ‘सम्पदा दर्शन’ माथि छलफल भएकाे छ । यस पटक नियात्राकार सुशीला देउजाद्वारा लिखित बालनियात्रासंग्रह सम्पदा दर्शन’ भाग १ र २ माथि चर्चा भएकाे थियो ।

लेखक सुशीला देउजा
मन्तव्य व्यक्त गर्नुहुँदै लेखक देउजा

किशोर समीक्षक सोइना दहालले ‘सम्पदा दर्शन भाग २ मा रहेका सात प्रदेशका सात सम्पदा पढ्दा आफूले ती सम्पदा स्थलको उत्पत्ति कथा, इतिहास, भूगोल र सांस्कृतिक महत्वबारे पनि जान्ने अवसर प्राप्त गरेको धारणा राख्नुभयो ।

छलफल कार्यक्रम नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उहाँले नियात्राकार देउजालाई युद्वलाई नजिकबाट महसुस गरी नियात्रा लेख्ने नेपाली नियात्रा लेखकको रुपमा चिनाउनुभयो ।
छलफल कार्यक्रममा गुन्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ, संस्थापक अध्यक्ष पद्मावती सिंह र निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठकले लेखक देउजाको सिर्जनशील समुज्ज्वल भविष्यका लागि शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै कृतिका सम्पादक एवम् बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले ‘सम्पदा दर्शन कृति प्रकाशनको लक्ष्य किशोर पुस्तालाई नेपालप्रति गौरव गर्न प्रेरित गर्दै नेपालको गौरवमय सम्पदा भ्रमण गर्न प्रेरित गर्नु हो भन्नुभयो ।
लेखक सुशीला देउजाले मन्तव्यका क्रममा सुझाव, हौसला र प्रेरणाका लागि गुञ्जन परिवारप्रति आभार प्रकट गर्नुभएको थियो ।

गुन्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ईल्या भट्टराईले स्वागत गर्नुभएको थियो । उद्घोषण सुस्मिता नेपालले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित अग्रज साहित्यकारहरु

कार्यक्रममा प्राज्ञ माया ठकुरी, भागीरथी श्रेष्ठ, सिर्जना शर्मा, राधेश्याम लेकाली, विजयध्वज थापा, रुकु कार्की, गङगा पौडेल, मन्दिरा मधुश्री, भगवती बस्नेत, सीता बिष्ट कार्की, शान्ती सापकोटा, सन्ध्या पहाडी, गीता रेग्मी, उर्मिला पन्त आदि साहित्यकारहरु उपस्थित रहनुभएको थियो ।

सम्पदा दर्शन’ भाग १ बालसाहित्य प्रतिष्ठान नेपालबाट र भाग २ केटाकेटी मिडियाबाट प्रकाशित भएको हो । दुवै कृति मोटो गाता संस्करणमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *