गण्डकी प्रदेशका बालबालिकालाई टाइफाइड विरुद्धको खोप

राष्ट्रिय विद्यालय समाचार समाचार

कास्की, १४ चैत (रासस)/ गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत् नै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइड विरुद्धको खोप दिन लागिएको हो । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । टाइफाइड विरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको हो ।

एक भायलमा पाँच मात्रा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खोप योजनाका लागि प्रदेशस्तरीय योजना तथा प्रशिक्षण सम्पन्न भएर ११ जिल्लामै खोप लगाउने स्वास्थ्यकर्मीको तालिम चैत १४ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिने छ । चैत २० गतेभित्र प्रदेशमा खोप आइपुग्ने भएकाले २१ देखि २३ गतेसम्म खोप सबै जिल्लामा पुगिसक्ने बताइन्छ । खोप प्रत्येक विद्यालयमा लगाउने व्यवस्था गरिने निर्देशक डा खड्काले बताउनुभयो ।

यस खोप अभियानमा खोप लगाउने पर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि सबै वडाका विद्यालयमा नै खोप कार्यक्रम सञ्चालन हुनेछ । यस सँगै वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गरिनेछ । टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको बताइन्छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रति लाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको बताइएको छ । टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास गरिएको छ । विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन् । त्यसमध्ये करिब एक लाख ६१ हजारले ज्यान गुमाउने गरेको तथ्याङ्क छ । नेपालमा भने प्रति एक लाखमा एक हजार ६२ मा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रति एक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *