रोल्पाको नमूना विद्यालयमा उत्प्रेरणा कक्षा

Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

रोल्पा, १९ चैत (रासस)/ शिक्षक सेवा आयोगको परीक्षाका कारण अधिकांश छिमेकी विद्यालयको पठनपाठन बन्द रहेका बेला रोल्पा सदरमुकाम लिवाङको पठनपाठन भने निरन्तर चलिरहेको छ । अधिकांश छिमेकी विद्यालय बन्द रहँदा पनि पठन पाठनलाई निरन्तरता दिने बालकल्याण नमूना माध्यमिक विद्यालयले नयाँ अवधारणा अघि सारेसँगै पठनपाठनले निरन्तरता पाएको हो । उक्त विद्यालयका प्रायः शिक्षक सेवा आयोगको परीक्षालाई जिल्ला बाहिर भए पनि विद्यार्थीको पठनपाठन भने प्रभावित भएको छैन ।

विद्यार्थीको पढाई प्रभावित नहोस् भनेर पठनपाठनमा वैकल्पिक सोच अघि सारेर पठनपाठनलाई निरन्तरता दिइएको बताइएको छ । शिक्षकको अनुपस्थितिले खाली भएका कक्षामा सो विद्यालयमा अचेल नागरिक कर्तव्य, नैतिक शिक्षा, बालविवाह, साइवर अपराध, उत्प्रेरणा, जलवायु परिवर्तन जस्ता कक्षा चल्ने गरेका छन् ।

“विभिन्न क्षेत्रका जानकार व्यक्तिको सहयोगमा खाली समयमा यस्ता कक्षा सञ्चालनको परिपाटी मिलाएका छौँ”, विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले भन्नुभयो । परीक्षा नजिकिँदै गरेको बेला पठनपाठन बन्द गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने भएपछि यस्तो अवधारणा अघि सारेको उहाँको भनाइ थियो ।

विद्यालयको अनुरोधमा सम्बन्धित क्षेत्रका जानकार व्यक्तिले स्वयंसेवी ढङ्गले पठनपाठनमा सहयोग गरेको उहाँले बताउनुभयो । सो विद्यालयका शिक्षकले शिक्षक सेवा आयोगको परीक्षाका लागि चैत १४ गतेदेखि नै विद्यालयमा बिदा लिएर जिल्ला बाहिर गएका थिए । खाली समय कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनबीच भएको छलफलपछि यस्तो निचोडमा पुगेर पठनपाठनलाई निरन्तरता गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताउनुभयो ।

वर्षभरि किताबी ज्ञानमा सीमित भएका विद्यार्थीलाई पाठ्यपुस्तक बाहिरको पनि ज्ञान दिनका लागि यस्तो तरिका अपनाइएको न्यौपानेले बताउनुभयो । अध्यक्ष न्यौपानेका अनुसार एक हप्ताका लागि सो विद्यालयमा जिल्ला सदरमुकाममा बसेर विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिले पढाउने गर्दछन् । आसन्न एसइई परीक्षालाई लक्षित गरेर उत्प्रेरणामूलक कक्षाका साथै विभिन्न विषयवस्तुको पढाई हुने गरेको विद्यालयको भनाइ छ ।

विद्यालयले डिभिजन वन कार्यालय रोल्पाको सहयोगमा वातावरण तथा जलवायु परिवर्तन, रोल्पा जिल्ला अदालतको सहयोगमा नेपालको संविधान एवं देवानी तथा फौजदारी कानूनको आधारभूत ज्ञान र जिल्ला प्रहरी कार्यालय रोल्पाको सहयोगमा साइबर कानून, बालविवाह जस्ता विषयवस्तुको पठनपाठनको व्यवस्था मिलाएको छ ।

विभिन्न कार्यालयका कर्मचारी तथा अन्य क्षेत्रका जानकार व्यक्तिले पठनपाठन गर्ने व्यवस्था मिलाएको विद्यालयको भनाइ छ । विद्यालयले निर्णय लेखन, निवेदन लेखन, तमसुक लेखन, सम्झौता लेखन जस्ता घरसारमा प्रयोग हुने सीपबारे पनि ज्ञान दिएको छ । विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउनका लागि नैतिक शिक्षाका साथै नागरिक कर्तव्यका विषयमा पनि पठनपाठन चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *