– डा. शैलेन्दुप्रकाश नेपाल
नेपाली कविता र बालसाहित्य सृजनामा विशेष अभिरुचि राख्नुहुने स्रष्टा कविता पराजुलीको नवीनतम कोसेलीका रूपमा ‘भ्यागुताको योग’ शीर्षकको बालथा सङ्ग्रह प्रकाशनमा आएकोमा मलाई अत्यन्त हर्षको अनुभूति भएको छ । बालबालिकाले सुन्दर उपहार प्राप्त गरेर रमाउने अवसर पाउने भए भनेर पनि म विशेष खुसी भएको छु । म यस रमाइलो कथासङ्ग्रहको हार्दिक स्वागत गर्दछु ।
‘भ्यागुताको योग’ मा एघार वटा बालकथा रहेका छन् । यी कथा बाल व्यवहार र मनोविज्ञानसँग सम्बन्धित छन् । कुनै यथार्थपरक घटनाक्रमसँग अनि कुनै स्वैरकल्पनामा आधारित कथाहरू छन् । सबैजसो कथाहरू रोचक छन्, रमाइला छन् । यहाँ मानिसबाहेक अन्य जीवहरू पनि पात्रका रूपमा आएका छन् । कथाहरू आकर्षक र सन्देशमूलक रहेका छन् । बालरुचि, उमेर, मनोविज्ञान र स्तर सुहाउँदा बालकथा रचना गर्ने दक्षता बालकथाकार कविता पराजुलीमा रहेको देखिन्छ ।
प्रौढ साहित्यका तुलनामा बालसाहित्य रचना गर्न जटिल हुने गर्छ । कविता पराजुलीको यो बालकथा सङ्ग्रह अत्यन्त सुन्दर र रोचक सामग्रीले पूर्ण रहेको हुनाले सबै बालपाठकले यसलाई माया गरेर पढ्नेछन् भन्ने कुरामा म विश्वस्त बनेको छु ।
बालबालिकाको प्रकृति प्रेम, जीवजन्तुप्रतिको आकर्षण र चेतना बुझ्नलाई प्रस्तुत ‘भ्यागुताको योग’ बालकथासङ्ग्रह उपयोगी रहेको छ । यसनिम्ति म स्रष्टा कविता पराजुलीलाई हार्दिक बधाई दिन्छु र सृजनात्मक निरन्तरताको कामना गर्दछु ।