सरकारले असार ९ गतेबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुई चरणमा खोप अभियान सञ्चालन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।
जस अनुसार प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ गरी चार, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्ला रहेका छन् ।
त्यसैगरी, बाग्मती प्रदेशमा मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, ललितपुर गरी सात जिल्ला रहेका छन् । गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्व गरी दुई जिल्ला रहेका छन् । लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया गरी पाँच जिल्ला रहेका छन् । कर्णाली प्रदेशमा सुर्खेत रहेको छ र सुदूरपश्चिम प्रदेशमा कैलाली, कन्चनपुर र डडेल्धुरा गरी तीन जिल्ला रहेका छन् ।
सोही समूहलाई पहिलो मात्रा लगाएको २१ दिनपछि साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिनेछ । सरकारले बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो खोप अभियान सञ्चालन गर्न जनाएको छ । बालबालिकालाई खोप लगाउन सरकारले विद्यालयमा, नजिकको स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकेको छ । पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाको विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ ।
परिवारकल्याण महाशाखाका निर्देशक डा.विभेककुमार लालले कोरोनाविरुद्धको फाइजर बायोएनटेक खोप अन्य कोभिड खोपजस्तै सुरक्षित भएको बताउनु भयो ।
बालबालिकाहरुलाई लगाउन कोरोना विरुद्धको फाइजर बोयएनटेक खोप ९१ प्रतिशत सुरक्षित र प्रभावकारी भएकाले अध्ययनहरुले देखाएको निर्धक्क भएर खोप लगाउन उहाँले आग्रह गर्नुभयो ।
महाशाखाका जनस्वास्थ्य विज्ञ सञ्जयकुमार महासेठले कोभिड १९ विरुद्धको खोपले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाई गम्भीर सङ्क्रमण हुनबाट बचाउने बताउनुहुन्छ । खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिकाका लागि खोप दिने प्रक्रिया अगाडि बढेको हो ।
मन्त्रालयका अनुसार खोपलाई विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन प्रयोगका लागि सूचीकृत गर्नुका साथै नेपालमा प्रयोग गर्न औषधि व्यवस्था विभागले अनुमति प्रदान गरिसकेको छ । । खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्स मार्फत् करिब २२ लाख मात्रा आएको थियो ।