- दिनेश बस्नेत
स्याङजा फेदिखोला निवासी सुरज उपाध्याय आफ्नो तश्रो कृति: बाल कविता संग्रह– ‘साइकल’ लिएर पाठकमाझमा आएका छन् । उनी बालकवितामा सिद्धहस्त छन् । । बाल साहित्य लेखन जो कोहीलाई सहज छैन । जो कोहीले हात हाल्न सक्दैनन् । कारण, बालसाहित्यमा आफ्ना अनुभव र अनुभुती जथाभावी व्यक्त गर्न पाईदैन । आफ्नो उमेर बालभावनासँग समतुल्य हुने गरी घटाउनु पर्छ । बालकहरुले बुझ्ने र रुचाउने खालको हुनुपर्छ ।सुरज उपाध्यायले एउटा बालक कै रहनसहन र चेतना मुताविक कविता लेख्नु हुन्छ । एउटा सफल निर्देशकको फिल्म दोहोर्याएर, तेर्याएर हेर्दा पनि त्यसको गुणत्वमा ह्रास नआउने, अझ थप आनन्द अनभूति हुने हुन्छ । त्यस्तै सुरजका बाल कविता पनि दोर्याई दोहोर्याइ पढ्न रुचाउने खालका हुन्छन् । बालबालिकालाई भरपुर मनोरञ्जन दिलाउने खालका हुन्छन् ।
‘चिल उड्यो आकाशमा’ बाल कविता सङ्ग्रह निकालिसकेका उनको ‘साइकल’ नामक ‘बालकविता’ मा जम्माजम्मी २३ वटा कविता रहेका छन् । सबै कविता चेतनामुखी लाग्छन् । सबै कविताले एउटा न एउटा सन्दर्भ कथा बोकेका छन् । सरसिला र फलदायी छन् । सुरुमा ‘डर’ शिर्षकको कविता छ । जसले नेपाली समाज जरैदेखि हल्लाइदिएको छ –
‘बाघ,भालु वनमा बस्छन् आउँदैनन् घर
हामीलाई त हुन थाल्यो मान्छेबाटै डर ।’
कति सुन्दर बान्की परेका कविता, पढ्दा जीवन कथा पढे जस्तो लाग्ने । अर्थात कवितामा नै कथाको प्लट सदृश्य देखिने । उनको अर्काे कविता ‘रमाइलो गाऊ’ हो जसमा उनले लेखेका छन् –
हजुरबाले पकाएको खान पाइने आँटो पिठो
अरु कुरा छोड साथी पानी पनि गाउँकै मिठो
डुलिर’ न मन लाग्ने सफा सुग्घर वरपर
हेर, कति रमाइलो डाँडामाथि हाम्रो घर ।
उनका सबै कबिता पढौँ पढौँ लाग्ने खालका छन् । ‘धेरै राजा’ शिर्षकको कवितामा उनले व्यक्त गरेको छन् – ‘बाबा बन्दुक बोकेर
लड्न भनी जानु’ भो
छुटाएर पढाइ
दाइलाई पनि लानु’ भो ।
हुर्काउनु’ भो आमाले
सारै दु:ख गरेर
गणतन्त्र आएको
दाइ र बाले लडेर ।’
उनले कविता मार्फत प्रकृति प्रेमी हुन पनि आग्रह गरेका छन् । ‘आउ चरी आऊ’ शिर्षकको कवितामा उल्लेख गरेका छन् –
‘आऊ चरी आऊ
चारा टिपी खाऊ
छैन बस्ने ठाउँ
आफ्नै घर जाऊ ।’
कति साना साना तिल दाना जस्ता सन्दर्भलाई टपक्क टिपेर कवितामा उनेका छन् । उनको जस्तो क्षमता जो कोहीसँग हुँदैन । ‘हेलो हलो मामा’ शिर्षकको कविता उनी लेख्छन् –
‘हेलो, हेलो मामा !
सबै सन्चै घरमा ?
यौटा फोटो पठाउनू
छिटो म्यासेन्जरमा ।’
उनका कविताले पठन संकृतिको विकासमा टेवा पुर्याउने देखिन्छ । ‘किताब– कापी’ शिर्षकको कवितामा उनी लेखछन्–
‘कापी किताब गनेर
स्कुल जान्छु भनेर
हिँड्यो झोला बोकेर
रोकिन्न ऊ रोकेर ।’
एउटा प्रसङ्गमा उनले मलाई भनेका थिए, ‘म बालबालिकासँग खेल्दै बोल्दा बोल्दै कविता फुर्छ र मोवाइलमा लेख्छु ।’ उनका कविता वास्तवमै बाल–मैत्री छन् । बालबालिकाका लागि बुझनिय हिसाबले शब्दचयन भएका हुन्छन् । ‘मेरा सानो भाइर्’ शिर्षकमा उनी लेख्छन् –
‘खोज्दैन अरुलाई भेटेपछि दाई
कति सारै खुशी हुन्छ मेरो सानो भाई ।’
त्यस्तै ‘चञ्चले र बाते’ शिर्षकको कवितामा उनी लेख्छन्–
‘हावा सिरीसिरी
नाना थिरीथिरी
गर उठीउठी
साना साना खुट्टी । ’
त्यस्तै ‘चराको घरमा’ उनी लेख्छन् –
‘गँुड बनाई खेल्न भनी साना साथी आए
झिक्रा झिक्री घुरानमुरान बटुलेर ल्याए ।’
उनको शैली शिल्प अनुकरणीय छ । कति साहित्यकारले लेख्छन् तर पाठकले जति प्रयास गर्दा पनि बुझ्दैनन् । उनका कविता सरल भई कन रसिला र रमाइला छन् । ‘भट्टी भट्टी धाएर’ शिर्षकको कवितामा उनले लेख्छन्–
‘भट्टी– भट्टी धाएर
दिउँसै रक्सी खाएर
किन पिट्छौ आमालाई ?
अब मैले भन्छु मामालाइर्’
उनको बालकविताको अर्काे विशेषता हो । उनका कवितामा मानविय संवेदना प्रशस्त मात्रामा पाइन्छन् । ‘दिदी–बैनी’ शिर्षकमा उनी लेख्छन् –
‘बैनीको नाम सानी
मेरो नाम ठुली
हामी दिदी–बैनी
खेल्छौँ मिलिजुली ।
हुन्न हाम्रो झगडा
स्कुल जाने बेलामा
घरमै बस्छौँ मिलेर
आमा जाँदा मेलामा । ’
‘साइकल’ बाल कवितासंग्रहमा विविध शिर्षक र भावनाको मिसावट पाइन्छ । आजका बालवालिका राजनितिक चपेटाबाट विमुख छैनन् । त्यसैले उनले राजनितिक चेतना प्रवाह गर्ने प्रयास ‘बालाई चिठ्ठी’ मार्फत गरेका छन्–
‘आमा सधैँ पिरैपिरमा पाइनँ बाबा देख्न
नसिकाउनू गुरु मलाई, बालाई चिठी लेख्न ।
स्कुल आउँदा दोबाटोमा बाको सालिक देख्छु
चिठी होइन बरु मैले बाको कथा लेख्छु ।’
सुरज उपाध्यायको ‘बालकविता संग्रह बालबालिकाका लागि एउटा यस्तो उपहार हो । जस्तै कतिपय बहुमुल्य उपहार दिँदा र्यापिङ पेपरले बेरेर दिइन्छ । त्यस्तै ‘साइकल’ कविता संग्रह पनि भाषा शैलीले राम्ररी बेरिएकाे छ । मलाई लाग्छ, यो उपहार बालबालिकाले औधी मन पराउने छन् । निकै खुशी भएर पढ्ने छन्, पढ्दै जाने छन् । अझ मलाई त यति सम्म विश्वास लाग्छ, यतिसम्म भन्न मन लाग्छ, उनको ‘साइकल’ स्वदेशका कुना कन्दरामा भ्रमण गर्न सफल हुने छ ।