भारतीय बालसाहित्य लेखक डाक्टर आनन्द पाटिल कर्नाटक भारतमा बस्नुहुन्छ । उहाँ बालसाहित्य प्रतिष्ठान नेपालका शुभचिन्तक आदरणीय अग्रज व्यक्तित्व हुनुहुन्छ । उहाँ भारतको राष्ट्रिय रेडियो संचार अल इण्डिया रेडियोमा स्टेशन निर्देशक भई हाल अवकाशको जीवन विताइरहनुभएको छ । आदरणीय लेखक पाटिल विगत ३० वर्षदेखि बालसाहित्यको क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँले बालबालिकाका लागि कविता, कथा र उपन्यासहरु रचना गर्नुभएको छ । उहाँ मूलत कन्नड भाषामा लेख्नुहुन्छ । कन्नड भाषामा उहाँका थुप्रै कृतिहरु प्रकाशित छन् ।
बालसाहित्य लेखनका अलावा सम्पादन र बालसाहित्यको अध्ययन अनुसन्धानमा समेत गहिरो रुचि राख्नुहुने डा. पाटिलले लामो समयदेखि बालसाहित्य जर्नलको पनि सम्पादन गर्दै आउनुभएको छ । यो जर्नल कन्नड र अंग्रेजी दुवै भाषामा प्रकाशित हुँदै आएको छ ।
देशविदेशमा आयोजना भएका थुप्रै गोष्ठी र सेमिनारहरुमा कार्यपत्रहरु प्रस्तुत गरी प्राज्ञिक बहसहरुमा सहभागी भइरहनु हुने विद्वान् सर्जक पाटिल प्रतिष्ठित संघसंस्थाहरुबाट पुरस्कृत र सम्मानित भइसक्नुभएको छ ।
प्रस्तुति : कार्तिकेय घिमिरे