– कार्तिकेय घिमिरे (युगसम्वाद साप्ताहिक, २०५८ पुष ३ गते)
गौरी प्रधान नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन) का प्रणेता, नेपाली बालबालिकाहरूका लागि धेरै काम गरिसकेका र गरिरहेका एक सक्रिय व्यक्तित्व हुन् । नेपाली समाजमा संकटपूर्ण अवस्थामा बाँचिरहेका बालबालिकाहरूका लागि सिविनले पुर्याएको सेवा र सामाजिक चेतनाका लागि यसले खेलेको भूमिकामा निश्चय उत्साहप्रद छ । त्यही उत्साहको ‘वाह !’ हुन् प्रधान ।
सधैँ बालबालिकाहरूको लागि नयाँ नयाँ क्षितिज उघारिदिन उत्साहित हुने प्रधानले आफ्नो व्यक्तित्वलाई विविधकोणबाट अलग्याउने प्रयत्न गर्नु उनको कामप्रतिको लगनशीलता र परिश्रमको उपज हो । आज थोरै समयमा सिविनले पाएको व्यापक माया पजि वास्तवमा प्रधानको त्यही व्यक्तित्वभित्र सुगन्धिएको एक पाटो हो ।
नेपाली बालबालिकाहरू निश्चय नै विश्वका अन्य बालबालिकाहरूजस्तै विविध किसिमका भेदभाव र शोषणबाट पीडित छन् । तथापि नेपाली समाज विश्वको समाजभन्दा पृथक पृष्ठभूमिमा अवस्थित रहेको हुँदा हाम्रा बालबालिकाका बचाईका जङ्घारहरू कठिनतम घडीहरूबाट गुज्रिरहेको छ, उठिरहेको छ । त्यति नै धेरै बालअधिकार हनन्को समस्या विकराल बन्दै गएकोे छ । यही विकराल परिस्थितिको बीचमा केही न केही भए पनि राहत प्रदान गर्न सक्षम बालगृहहरूका व्यवस्थापनलाई कसरी सुसंगठित बनाउने भन्ने सम्बन्धमा एक उत्कृष्ट पुस्तक लिएर आएका छन् गौरी प्रधान । जसको नाम छ– ‘बालगृह व्यवस्थापन ।’
२०५८ सालमा बालगृहहरूको भूमिकाका विषयमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र सिविनले बेग्लाबेग्लै आयोजना गरेको कार्यक्रममा प्रस्तुत कार्यपत्रलाई त्यस कार्यक्रमबाट प्राप्त सुझावसहित संशोधन गरी पुस्तककार रुप दिइएको यस पुस्तकमा बालगृह किन ? नेपालमा बालगृहको स्थिति, बालगृह व्यवस्थापनका सैद्धान्तिक पक्षहरू, बालगृहले ध्यान दिनुपर्ने आधारभूत कुराहरूजस्ता मुख्य शीर्षकमा विभिन्न उपशीर्षक राखी वर्णन गरिएको छ । यस पुस्तकमा परिशिष्टनङ्क एकमा बालगृह व्यवस्थापन समितिको सम्बन्धमा (सुझाव) र बालगृह व्यवस्थापनसम्बन्धी संरचना एवं परिशिष्टाङ्क २ मा बालबालिकाको व्यक्तिगत विवरण सम्बन्धमा र बालबालिकासम्बन्धी नियमावली, २०४८ को अनुसूची १ एवं वार्षिक प्रतिवेदनको सम्बन्धमा बालबालिकासम्बन्धी नियमावली २०४८ को अनुसूची २ र परिशिष्टाङ्क ३ मा बालकल्याण गृह सञ्चालन सम्बन्धमा, बालकल्याण गृह सञ्चालन निर्देशिका, ०५५ र परिशिष्टाङ्क चारमा नेपालमा क्रियाशील बालगृहहरूको सूची दिइएका छन् ।
यसरी नेपाली बालबालिकाहरूका लागि ८३ वटा बालगृहहरू रहेको तथ्य पनि यस पुस्तकले उजागर गरेको छ । यस पुस्तक प्रकाशन भए यता नेपाल बाल संगठनद्वारा म्याग्दी जिल्लाको बेनीमा ‘म्याग्दी बाल गृह’ र जेलमा अपराधी मातापिताको साथमा बसिरहेका बालबालिकाहरूका लागि ‘बाल संरक्षण गृह’को स्थापना भएको देखिन्छ । यसरी नेपालभरि बालगृहको संख्या ८५ वटा पुगेको देखिन्छ ।
मूलत: बालगृहको उपादेयता प्रत्यक्षत त्यहाँ संरक्षित बालबालिकाहरूको भविष्यसँग हुने भएकाले हाम्रो देशमा सञ्चालित प्रत्येक बालगृहहरूका लागि यस पुस्तक निकै उपयोगी सिद्ध हुनसक्छ । यस पुस्तकको माझमा बालबालिकाको क्षेत्रमा काम गरेर खारिएको लेखकको अनुभवले पनि विशेष भूमिका खेलेको छ । जसको कारण पुस्तकले उचाइ नापेको छ । त्यसबाहेक गोष्ठीबाट प्राप्त विद्वतहरूको सुझावलाई दृष्टिगत गरी परिमार्जनका साथ प्रकाशन गरिएको कार्यपत्रको पुस्तककार स्वरुप भएकाले यस पुस्तक बालगृह व्यवस्थापनका लागि व्यवहारिक र उपयोगी हुने कुरा स्वत: सिद्ध छ ।
खासगरी बालगृह र बाल हकहितका लागि क्रियाशील संघसंस्था एवं बालगृहसम्बन्धी दिने टेवा प्रशंसायोग्य रहने छ । तथापि पुस्तक पढ्दै जाँदा सिविनजस्तो संस्थाले निकालेको पुस्तकमा देखिएको भाषागत त्रुटि भने क्षमायोग्य छैन । यसतर्फ सिविनले आफ्नो आगामी प्रकाशनमा सोचिदिए अति बेस हुने थियो कि !
अन्त्यमा बालबालिकाहरूका लागि नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन गरी उनीहरूको सृजनात्मक विकासका लागि हर क्षेत्रबाट टेवा दिने सिविनको वैशिष्ट्यभित्र फुलेका फुल गौरी प्रधान स्वयंले जन्माएको यस अर्को फूलभित्र पौडी खेल्दा उनको यस क्षेत्रको अनुभूति बडो संयमित किसिमले पोखिएका देखिन्छन् । जसले गर्दा पाठकले चट्ट चट्ट खोजेको जानकारी र अवधारणा प्राप्त हुँदा पुस्तक अझ बढी स्तरीय बन्न पुगेको छ ।
यसै परिप्रेक्ष्यमा सिविन र नेवासासको संयुक्त आयोजनामा गत कार्तिक २७ मा सम्पन्न एउटा नौलो कार्यक्रमको स्मरण गर्न सान्दर्भिक लागिरहेछ । ‘सहसृजना : बालसाहित्यमा बाल सहभागिता’ नाम दिइएको उक्त कार्यक्रमले उठाएको प्रश्न र बाल कूचीसँग साहित्यकारको कलमले गाँसेको सामिप्यता पनि गजब नै रह्यो ।