भाइबहिनीहरु, यस पटक आदरणीय लेखक माधव सयपत्रीको बालकथा दसैंको उपहार लिएर आएका छौँ ।
सुरक्षा, सपना, दिपेश र महेश मावलीमा दसैंको टीका थाप्न हिँडे । उनीहरुलाई कतिखेर मावली पुगौंजस्तो भएको थियो । उनीहरुका आमाहरु दिदीबहिनी हुनुहुन्थ्यो । उहाँहरु वस्तुभाउलाई घाँसपात गरी बेलुका मात्र जानु हुने भएको थियो । मावलीको आँगन टेक्नेबित्तिकै उनीहरुले मामालाई नमस्कार गरे । मामाले भन्नुभयो, ‘अहो ! भाञ्जाभाञ्जी त कति चिटिक्क परेर आएका । बाबाआमाहरु खै त ?’ सुरक्षाले भनिन्, ‘उहाँहरु बेलुका मात्र आउनुहुन्छ । हामी फर्किएपछि ।’ मामाले भन्नुभयो, ‘ल, आओ आओ । साइतभित्रै आएका भाञ्जाभाञ्जीलाई साइतमै टीका लगाइ दिन्छु ।’ माइजुले अक्षता, जमरा ठिक पार्नुभयो ।
उनीहरु मूल ओछ्यानमा लहर मिलेर बसे । मामाले आर्शीवाद मन्त्र पढ्नुभयो । माइजुले सँगसँगै टीका लगाइदिनुभयो । दक्षिणा दिने बेलामा मामा मुसुक्क हाँस्नुभयो । भन्नुभयो, ‘ल, भन । पैसा दिउँ कि पुस्तक ?’ दुईचार वर्षअगाडिदेखि नै मामा रोजेर दक्षिणा दिनुहुन्थ्यो । दसैँमा दिन भनेर वहाँले बेलैमा पुस्तकहरु जम्मा पार्नुहुन्थ्यो । उमेर, रुची, क्षमताअनुसार वहाँ रोजाईरोजाई पुस्तक दिनुहुन्थ्यो । पोहोर उनीहरु सबैले पैसा रोजेका थिए । दिपेश र महेशलाई त यसपालि पनि पैसै लिन मन थियो । सुरक्षा र सपनाले भने पुस्तकको महत्व बुझ्न थालेका थिए । पहिल्यै उनीहरुले मामाको हातबाट पुस्तक लिने सल्लाह गरेका थिए । मामाले फेरि भन्नुभयो, ‘भन न भन । एकथोक रोज । रोजेर पाउँछौ ।’ मामाले पुस्तकको चाङ फिँजाइदिनुभयो ।
अहो ! कस्ता कस्ता पुस्तकहरु ! सुरक्षालाई स्टेफिन हकिङ र लुसी हकिङको ‘ब्रम्हाण्डको खजाना’ विज्ञान उपन्यास पढ्न मन लागेको थियो । सो पुस्तकाको चर्चा उनले पत्रपत्रिकामा पढेकी थिइन् । केही अंश त ‘नवयुवा’ मा छापिएको पनि थियो । त्यो उनले पढेकी थिइन् । उनलाई पूरै पुस्तक पढ््रन हतार भएको थियो । सुरक्षाले, ‘मलाई यो किताब’ भनेर ‘ब्रमाण्डको खजाना’ रोजिन् । सपनाले सामान्य ज्ञानको पुस्तक रोजिन् । मामाले ती कितावहरु दिंदैं भन्नुभयो, ‘भाञ्जीहरुलाई पढ्न मन लागोस् । पढेर असल मान्छे बन्नू ।’ रोज्ने पालो भाञ्जाहरुको आयो । मामाले भन्नुभयो, ‘भाञ्जाहरुलाई के नि !’
दिपेश र महेश एकछिन अन्कनाए । माइजु मुसुमुसु हाँसिरहनुभएको थियो । भाञ्जाहरु बोलेनन् । पुस्तकतिर पनि हेरेनन् । मामामाइजुको मुखतिर पनि हेरेनन् । मामाले कुरा बुझिहाल्नुभयो । वहाँले भाञ्जाहरुलाई पैसा दिनुभयो । टीकाटालापछाडि माइजुले भाञ्जाभाञ्जीलाई खाना खान दिनुभयो । सुरक्षा र सपनाको मन पुस्तक पाएर रमाएको थियो । दिपेश र महेशको मन पैसा पाएर रमाइएको थियो । सुरक्षा र सपनाले पुस्तकहरु ल्पाष्टिकको झोलामा हाले । दिपेश र महेश बेलाबेलामा खल्तीको पैसा छाम्न लागे । उनीहरु नजिकैको रोटेपिङ, लिङ्गेपिङतिर लागे । त्यहाँ मामाका छोराछोरी पनि थिए ।
केही समय पिङ खेलेपछि उनीहरु बाबाआमालाई पालो दिन घरतिर लागे । उनीहरुले बाटोमा बाबाआमाहरुलाई भेटे । सुरक्षाकी आमाले भन्नुभयो, ‘हामी बेलुका घर आएनौँ भने नडराई सुत्नू । भोलि बूढामावली जानुपर्छ ।’ बाबाआमा मावलीतिर लाग्नुभयो उनाीहरु घरतिर लागे । बाटोमा दिपेशले भने, ‘खूब जान्ने भएर किताब लिने भएका । हामीलाई अप्ठेरो पारिदिए । बिताब कहाँ लगेर बेच्छौ ? हामीसँग त पैसा छ पैसा । पैसाले जे पनि किन्न पाइन्छ । तिमीहरुको किताबले के किन्न सक्छौ ?’
महेशले त पैसा झिकेर देखाए, ‘ई, यसले के आउँदैन, चाउचाउ, बिस्कुट, चकलेट, चिजबल … । ल, तिमीहरु किताबले केही किन त !’ सपनाले भनिन्, ‘किताबले ज्ञान आउँछ । ल, तिमीहरु पैसाले ज्ञान किन त !’ दिपेशले भने, ‘यो पैसाले हामी पुस्तक पनि किन्न सक्छौँ । ज्ञान पनि किन्न सक्छौँ ।’ सुरक्षाले भनिन्, ‘खूब किन्छौ, मामाले यी पुस्तकहरु काठमाण्डुदेखि झिकाउनुभएको हो । अब किताब किन्न काठमाण्डौं जान्छौ ? खर्च कति लाग्छ थाहा छ ?’ दिपेशले भने,
‘हरि दाइको पसल त आओस् । हामी के के किन्छौं, त्यतिबेरै थाह पाउँछौ ।’ हरिदाइको पसलमा पुगेपछि दिपेश र महेशले थरिथरिका खानेकुरा किने । सुरक्षा र सपनालाई दिँदा उनीहरु नखाने भए । दिपेशले भने, ‘पराईहरुको त पुस्तक छ, त्यै खाँदा मिठो हुन्छ नि महेश ।’ दिपेश र महेश प्याकेटबाट खानेकुरा झिक्दै खाँदै झरे ।
उनीहरुको घर सँगसँगै जस्तो थियो । सुरक्षा र सपना आफ्नो घरमा पसे । दिपेश र महेश त्यता हेर्दैनहेरी आफ्नो घरतिर झरे । दसैं सकिएपछि विद्यालय खुल्यो । शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । वार्षिक कार्ययोजनाअनुसार महिनाको अन्तिम शुक्रबार हाजिरीजवाफ प्रतियोगिता हुन्थ्यो । हाजिरीजवाफ हुनेदिन कक्षा ६ देखि ८ सम्मका भाग लिने विद्यार्थीहरुलाई चार समूहमा बाँडियो । समूहको नाम लालीगुराँस, सयपत्री, सुनाखरी र गोदावरी राखियो । सुरक्षा र सपना लालाीगुराँस समूहमा परे । महेश र दिपेश सुनाखरी समूहमा परे । गोदावरी समूह पहिल्यै बाहिरियो ।
सयपत्री समूह तेस्रा भयो । लालीगुराँस र सुनाखरीको बराबरी अङक आयो । अब दुइटा प्रश्न तयार गर्नुपर्ने भयो । छिट्टै निर्णायक मण्डलले प्रश्न तयार गर्यो । सरले प्रश्न सोधिहाल्नुभयो, ‘यो प्रश्न सुनाखरी समूहलाई, ‘ब्रम्हाण्डको खजाना’ पुस्तक कस्ले लेखेका हुन् ?’ उत्तर दिने समय बित्यो । सुनाखरी समूहले उत्तर दिन सकेन । सरले त्यही प्रश्न लालीगुराँस समूहलाई सोध्नुभयो । समूहनेता सुरक्षाले उत्तर दिइन्, ‘स्टेफिन हकिङ र लुसी हकिङ ।’ सरले भन्नुभयो, ‘ठीक । लालीगुराँसले एक अङ्क थपेको छ । प्रश्नको पालो पनि लालीगुराँसकै हो । प्रश्न छ, ‘समाचार पत्रको सुरुआत कुन देशबाट भएको थियो ?’ लालीगुराँस समूहबाट उत्तर आयो, ‘चीन’ सरले भन्नुभयो, ‘ठीक । अब म आजको प्रतियोगिताको नतिजा सुनाई दिन निर्णायक मण्डललाई अनुरोध गर्छु र पुरस्कार वितरणका लागि विद्यालयका अध्यक्षलाई आग्रह गर्दछु ।’
पटट…अ ताली बज्यो । दिपेश र महेश घोसेमुन्टो लगाएर बसे । सुरक्षा र सपनाले पुस्तक उपहार दिने मामालाई मनमनै धेरैधेरै धन्यवाद दिए । बाटोमा सपनाले दिपेश र महेशलाई भनिन्, ‘मामाले दिएको दसैंको दक्षिणाले हाजिरीजवाफमा अङ्क किन नकिनेका त !’ दिपेश र महेश बोल्न सकेनन् । लुरुलुरु आफ्नो बाटो झरे ।
दिपेशले भने, ‘अर्को दसैंमा त हामी पनि पुस्तक दक्षिणा लिने है !’ महेशले भने, ‘हुन्छ । पैसाभन्दा पुस्तक नै राम्रो रहेछ ।