भक्तपुर मङ्सिर ८, २०७९ / सेन्ट जोन्स स्कुल, सल्लाघारी, भक्तपुरले उत्कृष्ट बालनियात्रा कृति ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजालाई सम्मानित गरेको छ । बालसाहित्य प्रतिष्ठान नेपाल– बालसाहित्य छलफल क्लबद्वारा आयोजित विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम अन्तर्गत यस महिना ‘सम्पदा दर्शन’ कृतिमाथि छलफल गरिएको हो । छलफलमा कक्षा ७ र ८ का बालबालिकाहरुले भाग लिनुभएको थियो ।
विद्यालयका प्रिन्सिपल देव भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले विद्यालयका बालबालिकामा पठन संस्कारको विकास र सिर्जनात्मक क्षमता बढाउने लक्ष्यका साथ लेखक भेटघाट कार्यक्रम अत्यन्त उपयोगी भएको विचार गर्नुभयो । कार्यक्रममा बोल्दै प्रिन्सिपल देव भट्टले ‘सम्पदा दर्शन’ कृति बालबालिकालाई सम्पदा घुम्न प्रेरित गर्ने उत्कृष्ट कृति हो भन्नुभयो । उहाँले नेपालको गौरव सम्पदा घुम्न नपाएका बालबालिकालाई पनि लेखकले आफैं घुमे झैं गरी ‘सम्पदा दर्शन’ कृति तयार गर्नुभएकोमा लेखक सुशीला देउजालाई धन्यवाद छ भन्नुभयो ।
कार्यक्रममा कवि ईश्वर थोकरले कविता वाचन गर्नुभएको थियो । शिक्षिका याङ्जी थोकरको संयोजनमा सम्पन्न कार्यक्रममा कक्षा ७ की छात्रा एन्जल राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ‘सम्पदा दर्शन’ कृतिबारे रुक्मिनी विश्वास (कक्षा ८), सुमन श्रेष्ठ (कक्षा ७), सोसनिक ओली (कक्षा ७) र मनीष गौतम (कक्षा ८) समीक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा छात्रा सन्ध्या फुयाल (कक्षा ७) ले उद्घोषण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा लेखकसँग पुस्तक हस्ताक्षर कार्यक्रममा साहित्यकार काशिराम विरस र विद्यालयका बालबालिकाहरु सहभागी हुनुभएको थियो ।
कार्यक्रममा बोल्दै लेखक देउजाले बालबालिकालाई नेपाल र नेपालीप्रति गौरव गर्न प्रेरित गर्ने लक्ष्यका साथ ‘सम्पदा दर्शन’ भाग १ र २ कृति तयार गरिएको हो भन्नुभयो ।