– भक्त राजभण्डारी, फाउन्डर प्रिन्सिपल, एभरेस्ट इङ्लिस स्कुल, भक्तपुर ।
विद्यालय कस्तो हुनुपर्छ ? विद्यालयको वातावरण कस्तो हुनुपर्छ ? भन्ने विषयमा थुप्रै मतहरु छन् । ती मध्ये धेरै विचारहरु विद्यालयलाई माया गर्ने तपाईंहरुले पक्कै पढ्नुभएकै होला ।
विद्यालयलाई कसरी बालबालिका मैत्री बनाउन सकिन्छ ? वास्तवमा विद्यालयलाई विद्यालय जस्तै नै कसरी बनाउन सकिन्छ भन्ने विषयमा म फिल्डमा नि खटेर काम गरेको मान्छे हुँ । धेरै वर्ष लामो यो शैक्षिक यात्रामा एउटा असल विद्यालय स्थापना गर्न आवश्यक थुप्रै सूत्रहरु मैले कार्यान्वयन गरेको र भोगेको छु । तर म आज यो आलेखमा त्यति धेरैतिर छरिएर होइन हाम्रो विद्यालयमा चलेको ‘तपाईं’ र ‘नमस्ते’ को जादु मै केन्द्रीकृत भएर केही विचारहरु साझा गर्न चाहन्छु ।
हाम्रो एभरेस्ट स्कुल स्थापना भएको लामो समयदेखि यस विद्यालयमा ‘तपाईं’ र ‘नमस्ते’ को संस्कृति सुरु भएको छ ।
मैले ‘तपाईं’ संस्कृतिभन्दा तपाईंहरुलाई यो के भनेको होला ? भन्ने जिज्ञासा उत्पन्न भयो होला । आउनुस्, अब यस विषयमा स्पष्ट गरौँ ।
विद्यालयको मूल गेटबाट भित्र छिरेपछि सबैले सबैलाई ‘तपाईं’ र ‘नमस्ते’ भन्ने चलनको सन्दर्भ हो यो । सुरुवाति दिनमा यो चलन हाम्रा लागि पनि नौलो थियो । यसको परिणाम कस्तो होला भन्ने कुरामा हामी सशंकित थियौँ, द्घिविधामा थियौँ । तर पाले दिदी र दाइलाई संवोधन गर्दै भनिने ‘तपाईं’, विद्यालयमा हरेक तहमा कार्यरत स्टाफ र विद्यार्थी लगायत सबैलाई संवोधन गरिने ‘तपाईं’ शब्द र हरेक विद्यार्थी, हरेक स्टाफ र शिक्षकशिक्षिकाबाट पाउने न्यानो सान्निध्य ‘तपाईं’ संस्कृतिले हाम्रो विद्यालयमा जादु गरेको छ ।
विद्यालयभित्र अपनत्व महसुस गराउन र एकअर्काबिचको सम्बन्धलाई गाढा बढाउन ‘तपाईं’ चलनले एउटा अभियान भनौँ सकारात्मक उर्जाको तरङ्ग नै सिर्जना गरेको छ । त्यहीँ भएर ‘तपाईं’ अभियान हाम्रो विद्यालयको संस्कृति नै बनिसकेको हामीले महसुस गरेका छौँ ।
त्यस्तै ‘नमस्ते’ को साइनो पनि हाम्रो विद्यालय परिवार बिच गाढा रहेको छ । अरुले त कोरोनाको कहर आएपछि मात्र ‘नमस्ते’ को प्रयोगको बारेमा बहस सुरु भएको विचार गरे होलान् । तर हाम्रो एभरेस्ट स्कुलमा लामो समयदेखि ‘नमस्ते’ विद्यालयको नित्यकर्ममा मिसिँदै आएको छ ।
वास्तवमा ‘नमस्ते’ अनुज पुस्ताले अग्रज पुस्ताप्रति दर्शाउने आदरको संवोधन मात्र होइन अग्रज पुस्ताले अनुजप्रति दर्शाउने ममताको द्योतक पनि हो । जब नमस्तेको आदानप्रदान सुरु हुन्छ । एकअर्काबिचको भावनात्मक दूरी घनिष्ठ हुन्छ । यसले सहकार्यका लागि वातावरण तयार गर्छ । संवादको लागि ढोका खुला गर्छ । विचारलाई कार्यान्वयनका लागि हातेमालो गराउँछ ।
यो बदलिँदो समयको शालीन तस्बिर पनि हो । आज हामी मौसूफको समय बदलेर जनताको प्रतिनिधिले शासन गर्ने राज्य व्यवस्थामा आइपुगेका छौँ । यो व्यवस्थामा संविधानले सबैलाई समान ठानेको छ । वर्तमान परिप्रेक्ष्यमा तपाईं एउटा बदलिँदो समयको तस्बिर पनि हो यो । समाज रुपान्तरणको सन्देश पनि हो । गणतन्त्रमा सबै समान हुन्, सबैले सबैको सम्मान गरी एकअर्का मिलेर देश बनाउन सकिन्छ भन्ने भावनात्मक एकताको कुरा पनि हो यो ।
वास्तवमा सहकर्मीबिचको सहकार्य र अग्रज पुस्ताको अनुभवबाट प्रेरणा ग्रहण गर्ने वातावरण तथा अनुज पुस्तासँगको सान्निध्यताका लागि ‘तपाईं’ को प्रिय संवोधन र ‘नमस्ते’ को जादु चल्छ । यो ‘नमस्ते’ संस्कृतिमा हामीले महसुस गरेको पक्ष हो ।
‘तपाईं’ संवोधनले हाम्रो विद्यालयमा सकारात्मक उर्जा सञ्चार गरेको मैले महसुस गरेको छु । सानाले ठुलालाई आदर गर्नु र ठुलाले पनि सानालाई माया र सम्मान भाव राख्नु निश्चय पनि सहअस्तित्व र आपसी सौहार्दता लागि उत्तम हो । हाम्रा शिक्षक सहकर्मीहरुले आआफ्नो घरमासमेत यस संस्कृतिलाई बढावा दिई योगदान गर्दै आउनुभएको छ ।
विद्यालयका साना बालबालिकाहरुमा शिक्षकले तपाईं भन्दा देखिने कृतज्ञताको भाव र विविध काममा खटिनुभएका कर्मचारी मित्रहरुमा देखिने अपनत्वको लगाव साँच्चिकै गौरवीवोध गर्न लायकको हुनेगरेको मैले प्रत्यक्ष अनुभूत गरेको छु । त्यसैले हाम्रो विद्यालय प्राङ्गणभित्र विगत लामो समयदेखि ‘तपाईं’ र ‘नमस्ते’ संस्कृतिले बलियो गरी जरा गाडेका छन् । यसमा म विद्यालयको मियो भएका नाताले पनि गर्ववोध गर्दछु भन्दा मलाई असीम आनन्द प्राप्त हुन्छ ।
हाम्रो यो अभ्यासलाई अपनाएर देशैभरिका अन्य विद्यालयहरु भित्र पनि सौहार्दपूर्ण र सौम्य वातावरण तयार गर्न सकिने छ भन्ने कुरामा म आशावादि रहेको छु । साथै यस अभियानकै क्रममा विद्यालयका बालबालिकालाई परीक्षामा साेधिने प्रश्नमा तपाई सम्बाेधनकाे प्रयाेग र पछिल्लाे पटक प्रकाशित हाम्राे सेराेफेराे पाठ्यपुस्तकमा समेत विद्यार्थीलाई तपाई भनेर सम्बाेधन गरिएकाे सन्दर्भले यस क्षाेत्रमा थप सकारात्मक परिवर्तनहरु हुँदै जाने विश्वास लिएकाे छु ।
धन्यवाद् ।
(सम्पादक कार्तिकेयसँग गरिएकाे कुराकानीमा आधारित)