काठमाडौं, पुस ३ । ब्राइट फ्युचर सेकेन्डरी स्कुल, नैकाप, काठमाडौंमा विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अस्ट्रेलियन लेखक लुक डेविसले कक्षा ६ र ७ का बालबालिकाहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । स्कुलका निर्देशक मोहन कार्कीको सभापतित्वमा सम्पन्न समारोहमा विद्यालयका व्यवस्थापक मोहित कार्कीले लेखक लुकलाई नेपाली टोपी लगाइदिएर स्वागत गर्नुभएको थियो ।

विद्यालयका कार्यकारी प्रिन्सिपल हरि पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका संयोजक लक्ष्मीराज दाहालले कार्यक्रम संयोजन गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूका लागि कथावाचनको शक्ति (पावर अफ स्टोरी टेलिङ) का विषयमा चर्चा गर्दै लेखक लुकले आफ्नो २ वटा कृतिको कथा वाचन गरी सुनाउनुभएको थियो ।
लेखकसँग छलफलका क्रममा विद्यार्थीहरूले लेखकको विषयमा थुप्रै प्रश्नहरू सोध्नुभएको थियो ।
कार्यक्रममा कवि ईश्वर थोकरले कविता वाचन र बालसाहित्य प्रतिष्ठान नेपालका सचिव सरिता अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लेखक लुकले विद्यार्थीहरूसँग छलफलका क्रममा आफूले नेपालमा धेरै वर्ष बस्ने अवसर पाएकाले नेपाली पौराणिक कथा, लोककथा र दन्त्यकथाप्रति आफ्नो लगाव बढी रहेको विचार व्यक्त गर्नुभएको थियो । लेखक लुक लिखित २ वटा कृतिहरूमाथि समीक्षा प्रस्तुत गर्दै बालबालिकाहरूले दुवै किताब अत्यन्त रमाइलो रहेको छ भन्नुभयो । लुक लिखित कृतिमा नेपाली चित्रकार रत्न सागर श्रेष्ठका सुन्दर चित्रहरू रहेका छन् ।
