भक्तपुर, पुस ५ । एभरेस्ट स्कुल, भक्तपुरमा अध्ययनरत बालबालिकाहरूले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्मृतिमा ‘सत्यमोहन स्मृतिसभा’ आयोजना गर्नुभएको खबर प्राप्त भएको छ ।

विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारी र कमला राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम विद्यालयका साना विद्यार्थीद्वय माहिरा मल्ल ठकुरी (वर्ष ७) र रिहान श्रेष्ठ (वर्ष ६) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा ‘सम्पदा दर्शन’ कृतिका लेखक सुशीला देउजा र बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरे विशेष अतिथिका रूपमा रहनुभएको थियो ।
कार्यक्रममा चर्चित कवि ईश्वर थोकर, आभा गुरागाईं (कक्षा ८), लिलिस दाहाल (कक्षा ८) र सौमाग्य अधिकारी (कक्षा ७) ले सत्यमोहनको स्मृतिमा कविता वाचन गर्नुभएको थियो ।
त्यस्तै सत्यमोहन लिखित द्वारा लिखित ‘केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरु’ कृतिको परिधि पौडेल (कक्षा ८) र एन्जेलिना राईले समीक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आकांक्षा लुइँटेल (कक्षा ८) ले सत्यमोहन जोशीको परिचय प्रस्तुत गर्नुभएको थियो । सत्यमोहन जोशीसँग भेट भएको स्मृतिबारे एन्जेल शाहीले संस्मरण प्रस्तुत गर्नुभएको थियो ।
कक्षा ७ का छात्र निवेशले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा निशा श्रेष्ठले उद्घोषण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल भक्त राजभण्डारीले सत्यमोहन जोशीबाट मिहिनेत गर्ने प्रेरणा लिनुपर्ने विचार व्यक्त गर्नुभयो । लेखक सुशीला देउजाले सत्यमोहन जोशीको सादा जीवन र उच्च विचार सबै बालबालिकाका लागि प्रेरणादायी रहेकाे विचार व्यक्त गर्नुभयाे ।
समारोहमा बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले सत्यमोहन जोशीबाट सिक्नुपर्ने ३ कुराबारे चर्चा गर्दै आफ्नो अरूसँग तुलना नगर्ने, खानपानमा ध्यान दिने र मिठो बोल्ने बानीबारे चर्चा गर्नुभएको थियो ।
वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्मृतिमा बालबालिकाहरूद्वारा आयोजित यस सभाले बालबालिकालाई सत्यमोहन जोशीको जीवनीबाट प्रेरणा मिल्ने विश्वास लिएकाे एभरेस्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी बताउनुभएकाे छ । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्मृतिमा विद्यालयका बालबालिकाद्वारा आयोजना गरिएको सम्भवत याे पहिलाे कार्यक्रम भएकाे संयोजक संस्था बालसाहित्य प्रतिष्ठान नेपालले जनाएको छ ।