प्रस्तुति : आरोही थापा, कक्षा : ६, सुदेशा स्कुल, ललितपुर ।
विद्यालयको प्रमुख व्यक्ति प्रधानाध्यापक । प्रधानाध्यापकले विद्यालयको रेखदेख, शिक्षक कर्मचारीको परिचालन र विद्यालय व्यवस्थापनमा सहयोग गरी नेतृत्व प्रदान गर्नुहुन्छ । विद्यालयलाई कता लैजाने भन्ने कुरा विशेषगरी प्रधानाध्यापककै हातमा रहन्छ । शिक्षालाई गुणस्तरीय र उपलब्धिमूलक बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा प्रधानाध्यापकको ठुलो भूमिका रहन्छ । त्यसैगरी हरेक बालबालिकाको मनोभावना बुझेर शिक्षा प्रदान गर्ने र रमाइलो वातावरणमा विद्यार्थीहरुलाई सिकाउने र सिक्ने अवसर प्रदान गर्ने दायित्व पनि प्रधानाध्यापककाे नै हाे । यिनै विषयमा रहेर सुदेशा स्कुलका प्रधानाध्यापक श्वी वीरङ्गना महर्जनज्यूसँग गरिएकाे कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ :
नमस्कार, प्रधानाध्यापकज्यू,आफ्नोबारेमा केही भनिदिनुस् न है ।
मेराे नाम वीरङ्गना महर्जन हो । म विक्रम सम्बत २०३९ फागुन २० गते ललितपुरको, ठेचो १, (हाल गोदावरी,न.पा १२) मा जन्मिएको हुँ । मैले श्री सरस्वती माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेकी हुँ । मलाई सानोमा पढ्न र लेख्नमा धेरै रुचि थियो । त्यतिबेला मेराे मनपर्ने विषय विज्ञान र गणित थियाे । मेराे बाल्यकाल सहज थियाे किनकि विद्यालय घरनजिकै थियो । घरमा अन्य कुनै त्यस्तो समस्या थिएन ।
मैले विसं २०५६ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरी व्यवस्थापन संकायमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकाे छु । हाल म STEAM Education विषयमा एमफिलको तयारीमा गरिरहेकी छु ।
तपाईले बालबालिकालाई कसरी राम्ररी पढाउन सकिन्छ भनेर विभिन्न विषयहरु अध्ययन गर्नुभएकाे छ । ती विषयहरुका बारेमा केही बताइदिनुस् न है ।
हाे, बालबालिकालाई कसरी राम्ररी पढाउन सकिन्छ भन्ने विषयमा मैले विभिन्न तालिम र काेर्सहरु पूरा गरेकी छु । जसमध्ये केही प्रमुख तालिमहरु PGD, ECEC बाट ECD मा एक वर्षे तालिम, रातो बङ्गला फाउन्डेसनबाट प्राथमिक शिक्षणमा एक वर्षे तालिम, समाहित शिक्षासम्बन्धी कोर्स, इन्टरनेसनल चाइल्ड डेभलपमेन्ट कोर्स आदि हुन् ।
जब मैले स्कुलमा काम गर्न थालेँ । त्यसपछि म बालबालिकासँग अझ नजिक भएँ । बालबालिकाहरुलाई परम्परागत शिक्षण प्रणालीबाट पढाइन्थ्याे । घोक्ने र घोकाउने तरिका व्यापक थियाे । याे देखेर मेराे मनमा उनीहरुको भावना बुझेर मनोरञ्जनात्मक ढङ्गले सिकाउनुपर्छ भन्ने भावना पैदा भयो । त्यसपछि मैले शिक्षा क्षेत्रमै अझ बढी समय दिएर काम गर्न सुरु गरेँ । सुरुमा विद्यालयकै प्रशासन क्षेत्रमा काम गरेँ । बिस्तारै शिक्षण विधिमा परिवर्तन नगरी बालाबालिकालाई राम्रोसँग सिकाउन सकिँदैन भन्ने महसुस भएपछि शिक्षण सिकाइ विधिका बारेमा खोजी गर्दै माथि उल्लिखित कोर्सहरु गरी सिकेका कुरा शिक्षक साथीहरुसँगै मिलेर विद्यालयमा प्रयोग गर्न थालेँ । शिक्षणकाे काममा व्यस्त हुँदा प्रशासनिक काम नभ्याउने भएकाले सो जिम्मेवारी अरुलाई सुम्पेर मैले सह- प्रधानाध्यापक हुँदै प्रधानाध्यापकसम्मकाे जिम्मेवारीमा बसेर काम गर्न थालेँ । याे क्रम अहिले जारी छ । सिक्ने र सिकाउने क्रम पनि जारी छ ।
तपाईले अगुवाई गर्नुभएकाे सुदेशा स्कुललाई कुन स्थानमा पुर्याउने लक्ष्य लिनुभएको छ ?
हाम्रो विद्यालयलाई संसारमा प्रचलित र आधुनिक विधिहरुको प्रयोग गरी देशको राम्रो शैक्षिक संस्था बनाउने लक्ष्य लिएकी छु । विद्यालय भनेको शैक्षिक मन्दिर हो । यहाँ बालबालिकाले सुरक्षित महसुस गर्न सक्ने वातावरणा बनाउनुपर्छ । घोकन्तेभन्दा सिपमूलक शिक्षामा जोड दिएर विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै जाने लक्ष्य रहेको छ ।
शिक्षा क्षेत्रमा आउन चाहनेलाई के सुझाव दिन चाहनुहुन्छ ?
यस पेशामा आउन चाहनेहरुले आफूमा धैर्यता र सहनशीलता लिएर आउनुपर्छ । बालबालिकालाई बुझेर, सिक्ने सिकाउने लक्ष्य लिनुपर्छ । निरन्तर आफू पनि सिकिराख्नुपर्छ । महत्त्वपूर्ण कुरा याे पेशामा आउन चाहनेले बालबालिका चिन्न र बुझ्न सक्ने खुबि जान्नुपर्छ । उनीहरुकाे बालबालिकालाई हेर्ने धारणा सकारात्मक हुनुपर्छ ।