‘भीमसेन थापा’ उपन्यास पढेपछि

मेरो आवाज मैले पढेको किताब

प्रतिक्षा घिमिरे, कक्षा : ९, सुदेशा स्कुल, ललितपुर ।

संरचना :

भीमसेन थापाको जीवन र मृत्युसम्मका घटनाहरू समेट्ने प्रयास गरिएको चर्चित ऐतिहासिक उपन्यास ‘भीमसेन थापा’ उपन्यासको आयाम २७३ पृष्ठमा प्रस्तुत गरिएको छ । इतिहास र विशेष गरी भीमसेन थापाको बारेमा जान्न यो उपन्यासले मद्दत गर्ने छ ।

लेखक :

श्रीकृष्ण श्रेष्ठ ऐतिहासिक विषयमा केन्द्रित भएर साहित्य लेख्ने साहित्यकार हुन् । जङ्गबहादुर राणा, भीमसेन थापा आदिजस्ता महान् प्रभावशाली व्यक्तिहरुको जीवनलाई साहित्यिक ढङ्गमा रुपान्तरण गरी वर्णन गर्नु उनको कला हो । उनका हरेक कृति र संरचना प्रशंसाका लायक छन् ।

कथावस्तु वा विषयवस्तु :

भीमसेन थापा ‘ उपन्यासमा भीमसेन थापाको व्यक्तिगत जीवनको कथा दर्शाइएको छ । एघार खण्डमा विभाजन गरी भीमसेन थापाको जीवन यात्रालाई उनको सङ्घर्ष, लडाइँ , हार-जीत, र उनीमाथि गरिएको षड्यन्त्रहरु खुलस्त पारिएको छ । उनको केही बन्ने र केही गर्ने सङ्घर्ष जारी थियो । लाखौँ नेपालीहरुका लागि उनी प्रेरणाका स्रोत र आशाका केन्द्रका रुपमा प्रस्तुत भएका छन् । उपन्यासकारले उपन्यासमार्फत भीमसेन थापालाई कसरी निर्मम ढङ्गले आत्महत्या गर्न बाध्य पारियो भन्ने यथार्थसहित उनका जीवनका मुख्य मुख्य घटना समेटेर कथावस्तु तयार पारेका छन् ।

मुख्य पात्र ; भीमसेन थापा :

उनी नेपाल र नेपालीका लागि अझै भनौ राष्ट्रका लागि सङ्घर्षका साथ बाँचे । उनको स्वभाव दयालु छ भने कहिलेकाहीँ अन्याय,अत्याचारका विरुद्ध अत्यन्तै क्रोध पनि यस उपन्यासमा देखाइएको छ । उनी रिसाहा भएपनि निडर थिए । भीमसेन थापाले गरेका प्रशासनिक सुधारका कार्यहरू, धरहरा आदिको निर्माण, साम्रज्यवादी अङग्रेजहरूसँग लड्नका निम्ति एसिया स्तरमा गरेकादूरदर्शीपूर्ण सहकार्य आदि पक्षको उजागर गरिएको छ । यति हुँदाहुँदै पनि तत्कालीन राज्यव्यवस्थामा देखिने चाकरी, षडयन्त्र, हत्या हिंसाजस्ता पक्ष प्रबल हुँदा देखिने प्रशासनिक अविवेकीपनले मानवतालाई निर्ममता साथ दबाएको कुरा भीमसेन थापाको मृत्युका प्रसङ्गबाट प्रस्तुत गरिएको छ । भीमसेन थापाको मृत्यु इतिहासको एउटा कालो पक्ष हो जुन अमानवीय, क्रर एवं त्रासद रहेको छ । यसरी इतिहास प्रसिद्ध विषयवस्तुका माध्यमद्वारा मुख्य पात्रप्रति श्रद्धा, राष्ट्रप्रेम, जीवनदर्शन एवं मत्युको दुःखद पक्ष, इतिहासका अनेक घटना,मानवतावादी चिन्तन जस्ता पक्ष अगाडि सारिएको छ । उनी राष्ट्रका लागि बाचेँ तर उनको मरण अत्यन्तै क्रुर ढङ्गले भयो । उनी उपन्यासका मुख्य पात्र हुन् ।

परिवेश:

श्रीकृष्ण श्रेष्ठले विशेषगरी दरबार र शहरमा हुने इतिहासको पानाहरु पल्टाउने र एकपछि अर्को जोडिएको घटनाहरुको सुत्रबद्ध गरेका छन् । त्यस समयका षड्यन्त्रहरू र हत्याकाण्डहरु कहालीलाग्दा छन् । उपन्यासकारले यस उपन्यासमा भीमसेन थापाका क्रुर अमानवीय पक्ष मात्र नभएर त्यो समयको माग थियो त्यसैले घटनाहरु घटित भए भन्ने देखाएका छन् । घटनाहरू कुनै दरबारमा, कचहरीमा, मैंदानहरूमा साथै जेल लगायत नेपाल र नेपाल बाहिर साथै युद्धका विविध ठाउँहरुमा घटना घटेको छ र उपन्यासमा लामो कालखण्डलाई परिवेशको रुपमा अर्थ्याइएको छ । सहरी र ग्रामीण परिवेशका पात्र भए पनि सामाजिक बेथिति , अन्याय , अत्याचार र क्रुरतालाई चित्रण गरिएको छ ।

 दृष्टिविन्दु :

भीमसेन थापा उपन्यासमा पात्रको वर्णनमा पूर्वस्मृति समेतको वर्णन गरेर अन्य समसामयिक घटनासमेत प्र्स्तुत गरेको देखिन्छ । उपन्यासको अन्त्यसम्म नै तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग भएको छ ।

भाषाशैली :

दरबारिया भाषा र उच्च घरानिया भाषाको प्रयोग गरिएको छ । मध्यम खालको भाषा छ । वर्णनात्मक भाषाशैली र थेगो ,उखान टुक्का आदिको प्रयोग गरिएको छ । पश्चिमी भेगको नेपाली भाषाको प्रयोग पनि पाइन्छ ।

शीर्षक :

उपन्यासको शीर्षकमा भीमसेन थापा राखिएको र उनकै जीवनका घटनाक्रम र मृत्युसम्मको चर्चा गरिएकोले यसको शीर्षक सार्थक छ ।

निष्कर्ष :

ऐतिहासिक विषयमा आधारित भएर लेखिएको यो उपन्यासमा दरबारभित्रका षढ्यन्त्र,हत्या,क्रुरता,अमानवीय व्यवहार र योबाट देशको स्थिति साथै नागरिकहरुको दयनीय अवस्थाको चित्रण गरिएको छ । भीमसेन थापाको दुखद् मृत्यु र उनीप्रतिको अमानवीय र क्रुर व्यवहार मन परेन तर उपन्यास पढेर सबैले इतिहास बुझ्न सकिने भएका कारण यो पढ्न सुझाव दिन्छु । यस पुस्तकमा घटनालाई निकै वर्णन गरिएको र चित्रहरू कम भएका कारण पढ्न अलि पट्यारलाग्दो छ । प्राविधिक पक्ष अझै सुधार आकर्षक बनाउन सकिन्छ घटालाई वर्णन भन्दा पनि मुख्य मुख्य घटना अझै समेटेर लेखेको भए हुंथ्यो तर मलाई यो पुस्तक बहुउपयोगी लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *