फुर्वा 

कथा साहित्य
  • सुमन घिसिङ 

फुर्वा आज पनि सधैं झैँ विद्यालयबाट फर्केको छ। सात वर्षको ऊ अहिले दुई कक्षामा पढ्छ। घरायसी तथा आर्थिक समस्याका कारण बा-आमा जिउँदो भएर पनि टुहुरो भएको छ। जसकारण ऊ आफ्नो मामा माइजूसँग निस्सासिएर बस्न बाध्य छ । ऊ बिहान गाडीको पुच्छर भएर विद्यालय पुग्छ र पुच्छर भएरै घर आइपुग्छ । उसलाई लिन गाडी आउँछ तर मायाले हात समाउँदै पैदल लागि सहयत्री बन्ने कोही आउँदैन। विद्यालयमा जसरी लामालामा अक्षर खोप्ने र घोक्ने कुराहरूप्रति सजग बन्थे, त्योभन्दा बढी घरमा मामा माइजू  नियम र निर्देशनको परिधिले तर्साउथ्यो। घरमा ती निर्दोष बालकको मनोविज्ञान बुझेर सिकाउने, न्यानो मायाको अभास दिलाउने कोही छैन । त्यसैले त ऊ रित्तो र एक्लो भएको छ।

उसका बा-आमाको विवाह सानैमा भएको थियो । आमाले १८ वर्षको उमेरमै फुर्वालाई जन्म दिएकी थिइन्। बा-आमा दुवै पट्टिको पारिवारिक पृष्ठभूमि कमजोर रहेको कारण उनीहरुको वर्तमान अवस्था पनि निम्न बन्न पुगेको छ। बिस्तारै उमेर र मानसिक परिपक्वताले जुनुमायालाई जिम्मेवार बनाउँदै लग्यो भने बिक्रमलाई उमेरको उत्तेजनाले उत्ताउलो र गैरजिम्मेवारपनतिर लैजादै थियो। वैचारिक फरक व्यवहार साथै कमजाेर आर्थिक अवस्थाले उनीहरुको झैँ झगडा नै दिनचर्या बनेको थियो। विक्रमको जाँड, जुवा तथा पर स्त्री मोहका  कारण विक्षिप्त भई तीन वर्ष अगाडि गाउँठाउँ सम्पूर्ण परिवार त्यागेर छोराका साथ जुनुमाया सिन्धुलीबाट काठमाडौं ओर्लिएकी थिइन् ।

परिचय दिने माटो, परिवार, जीवन साथी छोडेर आएकी जुनुमाया काठमाडौंको बौद्ध नजिकै गलैचा कारखानामा काम गरेर गुजारा चलाउने चेष्टा गरिरहेकी थिइन् ।  एक वर्षसम्म काम गर्दा पनि दुख सयबाट उनान्सय नभएको देखेर कामप्रतिको मोह घट्दै र नयाँ भविष्यको सोच र खोजीमा थिइन् । आफू सधैं  यही काम गरेर बसे आफूसँगै आफ्नो कलिला छोराले दुट्खठ पाउने सोचेर रोई कराई दिनरात काम गरेर विदेश जाने पैसा जम्मा गरेकी थिइन् । आफ्नो भाइ बुहारीलाई जिम्मा लगाएर दलाली मार्फत उनी कुबेत पुगेकी थिइन् ।
छोरोको राम्रो ख्याल गर्छ भन्नेमा विश्वस्त भएर गएकी जुनुमाया छिमेकी तथा अन्यले आफ्नो छोरोको अवस्था बारे बताउँदा आँसु बगाउछिन् । एक मनले सोच्छे त्यहाँबाट निकालेर अन्तै राखौ तर उसलाई सहयोग गर्ने को छ ? ऊ गुँड र आहार नभेट्टिएको पन्छी झैँ भौतारएरै  कुबेत पुगेकी थिइन् । उसले भाइबुहारीलाई छोराकाे कुरा सुनाउँदा रिसाएर घरबाटै लखेट्छ कि भन्ने डरले जुनुमाया एक शब्द बोल्दिन छोरोप्रतिको अन्यायको बारेमा ।
फुर्वा कालो वर्ण र गम्भीर स्वभावको छ। सायद सानैदेखि डरको परिधिले बाँधिएकाले होला। विद्यालयमा बाल मनोरञ्जनात्मक कार्यक्रम हुँदा बच्चाहरु आ-आफ्नै तरिकाले रमाउँछन् तर फुर्वा कहिल्यै हाँसिलो हुँदैन । स्कुले बच्चाहरु जताततै दौडिएको देख्छु । फुर्वा भने एकोहोरिएको मात्र देख्छु भन्नुहुन्छ स्कुलका सरमिसहरु । फुर्वाको जीवनमा कहिल्यै हाँसो देख्दैन पक्कै उनी उसलाई फूल नसुहाए झैं फुर्वालाई खुसी सुहाउँदैन होला। प्रसङ्ग फुर्वाकै थियो फेरि प्रेरणा मिसले थपिन् ।”  फुर्वाको काम त मामा माइजूको सानो छोराकाे हेरचाह गर्नुका साथै कोठा बढार्ने, बोत्तलमा पानी भर्ने पनि गर्नुपर्छ रे”। “राति विद्यालयले दिएको होमवर्क गर्न खोज्दा बत्ती निभाउँछ रे” यस्तै कुरा बताउथे ।
दिएको सामान्य गृहकार्य कहिल्यै नगर्ने जस्ता कुराले सबैजना हैरान भइसकेको थियो। उसैको नाममा विद्यालयमा मिटिङ हुन्थ्यो। विद्यालयले पनि फुर्वाको लागि त्यति हेरचाह नगर्दा पनि हुन्छ भन्नेसम्म कुरा गर्थ्यो । वास्तवमा ढुङ्गाकै रुपमा हेर्थे। विद्यालयले सबै समस्या बुझ्न खोज्दा मामा माइजूले आफैं लगेर पाल्नुसम्म भनेको थियो। जुनुमायाले आवश्यक खर्च प्रदान गर्दा पनि फुर्वाप्रति किन यस्तो व्यवहार देखाउँछ्न्। यस्तै सोच्छ्न् वरिपरिका मानिसहरु।

फुर्वाको जीवन रङ्ग उडेको पुष्प जस्तै भएको छ। एकोहोरो भइरहन्छ । आँखा अगाडि जे आउँछ हेरी टोलाइरहन्छ। एउटै कुरा पटक पटक दोहोर्याएर भन्नुपर्छ। उसको बाल मष्तिस्कमा के खेलिरहेको छ। कसैलाई थाहा छैन। कहिलेकाही मामा माइजूले पनि स्वर निकालेर कहिल्यै रोएनन्। मरुभूमिमा पानीको थोपो झारेर के गर्नु त्यसैले ऊ मौन बस्छ। उसको मनमा घर छोडेर जाने कुरा पनि नआएको होइन। अस्ति एकछिन् घर छोडेर जाँदा  फर्के पश्चात् हात खुट्टा बाँधेर पिटेको सम्झेर ऊ अगुल्टोले हानेको कुकुर बिजुली चम्के झैँ छ ।

 बिक्रम आज छोरो र श्रीमतीसँग सम्पर्कविहिन भएको तीन वर्षपछि छोरोको अदृश्य चुम्बकीय शक्तिले तानेर भनौ,बुद्धि आएर वा कुनै स्वार्थ बोकेर खोजनिती गर्दै विद्यालय आइपुगेछ। विद्यालयलाई उसको मामा,माइजूबाट बाहिरी कुनै व्यक्ति तथा उसको बाबापट्टिको मान्छे झुक्किएर आएमा पनि भेट्न नदिनु भनेर भनेको कारण विद्यालयले उसलाई भेट्न दिएनन् । फुर्वाप्रती तलमाथि केहि भएमा विद्यालयले जिम्मा लिनुपर्छ भन्ने जस्ता कुराले पनि विद्यालय संवेदनशील हुनुपर्ने थियो, जसकारण विद्यालय बाध्य थियो। पटकपटक गेट बाहिरबाट निराश भई आँसु झारेर बसेको देखेपछि सबैको मन पग्लिएछ । त्यसैले चार, पाँच दिनपछि विद्यालयले भेट्न अनुमति दियो ।
हिजोसम्म बा-को नाम के हो ? भनी सोध्दा बा मरिसक्यो भन्ने फुर्वा अलमलमा छ। छोरोसँग भेटेपछि बिक्रम अँगालो हालेर भक्कानियो र गालामा म्वाँई खाइदियो अनि निकै बेर गम्भीर भएर आँसु झारिरह्यो । २० मिनेटको समय छुट्ट्याइएकाे थियो। आफ्नै छोरो भेट्न पनि समय निकालेर भेट्नु परेकोमा रिस त्योभन्दा बढी विगतमा गरेको गल्तीको पछुतो लागेको थियो । त्यसपछि विद्यालयले फुर्वालाई भित्र लाग्यो। निकै बेर झोक्राएर बसेको एकाउन्ट सेसनमा गए र खाजा र एक वर्षको मासिक पैसा लिन आग्रह गर्‍यो । अघिसम्म मामा माइजू निर्णय भनेर भेट्न नदिएको स्कुलले सजिलै पैसा लिइने पनि रहेकोमा थोरै घृणा पोखे। बिक्रम अन्तिम चोटी फेरि भेटेर छोरोलाई लुगा,जुत्ता साथै साइकल किनिदुन्छु भनेर आश्वासन दिएर गए। त्यस पश्चात् स्कुल र बिक्रमको आवतजावत बाक्लिएको थियो । 
यसै क्रममा जुनुमायाले पनि विद्यालसँग कुरा गरेर मामा माइजूबाट छोरो छुट्टाएर होस्टेलमा राखे। अब कहिल्यै मामा कहाँ जानु नपर्ने कुराले फुर्वा खुसी छ। जुन दिनदेखि होस्टेल सरे सोही समयदेखि फुर्वामा परिवर्तन आएको छ। ऊ साथीहरूसँग बोल्ने, हाँस्ने र खेल्ने गर्छ। उसले सामान्य लेखपढ जानिसकेको छ। भिडियो कल मार्फत आमासँग कुरा गर्छ । दिनभरिको नालिबेली सुनाउँछ र जुनुमायाको गह खुसीको आँसुले भर्छ। राम्रोसँग पढ्नु, ठुलो मान्छे बन्नु भनेर छोरालाई सम्झाउँछ र फकाउँछ। आउँदा राम्रो राम्रो खेलौना किनिदिने कुरा गर्छिन् । आमाको गढ माया र बाबाको अस्थिर मायाको रहरले आज फुर्वाको जीवनमा वसन्त आए जस्तै भएको छ। विक्रम पनि बवगतको गल्तीबाट सजग भएको छ।  जिम्मेवार भएको छ। ऊ जुनुमायालाई नभन्ने सर्तमा फुर्वाको आवश्यकता पूरा गरिरहेको छ। यस्तैमा विद्यालयले अनुकुल भूमिका खेलिरहेका छ। आज जुनुमाया परदेशमा जति दुख पाए पनि छोरोमा एउटा किरण देखेर खुसी छिन् भने विक्रमले छोरोलाई भेट्न पाउनु छोराको निम्ति केही गर्न पाएकोमा भाग्यमानी ठानेको छ। परिस्थितिले जे जस्तो गरेता पनि उनीहरुको छुट्टाछुट्टै रहेता पनि उनीहरुको मन एउटै छ,उद्देश्य एउटै छ मिठो सपना बुन्नेमा ।

ठेगाना: मण्डन देउपुर न.पा-०१, काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *