१. गाउँ
गाउँमा माटोमा खेल्न पाइन्छ
रुखमुनि बस्न र अनौठा चराहरूको आवाज
सुन्न पाइन्छ
गाउँ जाँदा भूइँ काफल खोजेर खान रमाइलो हुन्छ
किम्बु खाएर जिब्रो निलो पार्दा पनि मज्जा आउँछ
हजुरबुवासँग घुम्ती पसल गएर किनमेल गर्न र सख्खर खान
हाटबजार घुम्दै जेरी खान
मलाई बेला बेला गाउँ गइरहन मन लाग्छ
शहरको भन्दा पनि उज्यालो लाग्छ
गाउँको घाम
घाममा बसेर सानो खोलामा खुट्टा डुबाउँदा आनन्द हुन्छ गाउँमा
भ्यागुता उफ्रिएको हेर्दै माछालाई बल्छी थाप्न मज्जा हुन्छ गाउँमा
रात परेपछि राक्षसजस्तो देखिने बाँसको झ्याङ्ग हेर्दा भने
मलाई डर लाग्छ ।
२. हजुरआमा
गाउँमा बाबाको घर छ
बाबाको पनि बाबाले बनाउनुभएको रे
आमाले भन्नुभएको
कहिले जाडोमा
कहिले दशैँमा
लामो छुट्टि हुँदा आमाले लैजानुहुन्छ गाउँ
कहिले बाबाको कहिले मामाको
शहरमा म बेलाबेलामा सम्झने गर्छु
आँपको ठूलो रुख,
पाकेको किम्बु
अनि निमको रुखमुनि बस्ने
सेतै कपाल भएकी मायालु हजुरआमा
जसले मलाई भकारीमा लुकाएको
केरा छानीछानी दिनुहुन्थ्यो
३. मसँग
मसँग टिभी छैन
महँगो मोबाइल र ट्याब छैन
तर, किताब छ
अब्राहम लिङ्कनसँग जस्तै
मसँग पनि किताबमात्रै छ
तर, क्यै छैन
जिजससँग त झन्
भेडाको बथानमात्रै थियो
र, अब मेरो गुडिया खेल्ने उमेर पनि गइसक्यो
हजुरबा भन्नुहुन्छ
किताब पढ्ने उमेर त कहिल्यै जाँदैन ।