कुटमिरो र दुधिलो

कथा साहित्य

एकादशेमा कुटमिरो र दुधिलो दुइटा रूख थिए । तिनीहरूमा सारै मिलाप थियो । एउटालाई दु:ख पर्दा अर्कोले र अर्कोलाई दु:ख पर्दा अर्कोले सहयोग गर्थे ।
तिनीहरूको मित्रता देखेर नेबारो ज्यादै रिस गथ्र्यो । एक दिन नेबारोले दुधिलोलाई भन्यो, ‘दुधिलो दाइ ! दुधिलो दाइ !’ दुधिलोले भन्यो, ‘के भयो भाइ ?’ फेरि नेबारोले भन्यो, ‘कुटमिरो दाइको अर्को पनि मिल्ने साथी रहेछ । ऊ तपाईंका नराम्रा कुरा गर्दै थियो । तपाईंलाई त देखावटी माया मात्र गरेको रहेछ ।’ दुधिलोले सोध्यो, ‘को रहेछ त उसको अर्को मिल्ने साथी ?’
नेबारोले भन्यो, ‘को हुनु नि । त्यै सल्लो रहेछ उसको साथी ।’ दुधिलोले भन्यो, ‘मलाई माया गरेजस्तो गरेर अरूसँग बस्न जाने त्यो कुटमिरो मेरो छेउमा त आओस् , मैले जानेको छु ।’
घाम डुब्दै गयो । कुटमिरो आइपुग्यो । दुधिलोले भन्यो, ‘ए कुुटमिरो ! तैँले मलाई माया गरेजस्तो गरेर अरूसँगै बस्न लागेको हो ? तेरो माया पिरती त सल्लोसँग पो छ रे ! हो ?’
कुटमिरोले भन्यो, ‘तपाईं जस्तो मनकारी साथीलाई छाडेर म त्यो रूखो सल्लोलाई काहीँ माया गर्छु !’ दुधिलोले भन्यो, ‘मलाई नेबारो भाइले भनेको यो कुरा । के तिमी साँच्चै मलाई माया गर्छौ त ?’ कुटमिरोले भन्यो, ‘तपाईं बाहेक यो संसारमा मेरो भनेको को छ र ! त्यसले हाम्रो मित्रतामा फाटो ल्याउन तपाईं कुरा लगाएको हो ।’
साँचो कुरा बुझ्न दुवै जना नेबारोकोमा गए । कुटमिरोले भन्यो, ‘ए, नेबारो भाइ, तिमीले दुधिलोलाई किन नचाहिने कुरा लगाएको ?’ नेबारोले भन्यो, ‘काँ दाइ, म झुटो बोलुँला त ! सल्लोलाई गएर सोधे भैहाल्यो नि ।’
कुटमिरो बाहिरबाट फुत्त भित्र छिर्‍यो । उसले भन्यो, ‘अर्कालाई नभाका कुरा लगाएर मित्रतामा फोटो गराउने ! तैँले यस्तो काम किन गरेको हँ ?’ दुधिलोले नेबारोलाई लम्कीझम्की गरेर कुट्न खोज्यो ।
नेबारोले भन्यो, ‘दाइ, मलाई माफ गर्नुहोला । तपाईंहरूको मित्रता देखेर मलाई आरिस लाग्यो । मैले कुरा बनाएर लगाएको हो । मबाट गल्ती भयो दाइ । मलाई केही पनि नगर्नुस् । अबदेखि म यस्तो फट्याँइ कहिल्यै गर्दिनँ ।’
कुटमिरोले भन्यो, ‘मिलेर सँगै बसेका साथीलाई फटाउने काम कहिल्यै नगर्नु अबदेखि ।’ त्यसपछि कुटमिरो, दुधिलो र नेबारो एक अर्कासँग हात मिलाएर आ–आफ्नाे ठाउँमा गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *