साहसी गोही

कथा साहित्य

कुनै नदीमा एउटा ठुलो गोही थियो । गोहीकी श्रीमती पहिल्यै मरिसकेकी थिई । उसकी एउटी छोरी थिई । गोहीले आफ्नी छोरीलाई दु:ख नपरोस् भनेर अर्को विवाह नगरी बसेको थियो । बुबाको मायामा हुर्कँदै छोरी पनि ठुली भई ।
एक दिन गोहीले आफ्नी छोरीलाई मोतीको माला उपहार दिँदै भन्यो, ‘प्यारी छोरी ! यो मोतीको माला नहराइकन लगाऊ है ।’ छोरीले भनी, ‘उपहारका लागि मेरो प्यारो बाबालाई धेरै धेरै धन्यवाद ! म नहराइकन लगाइहाल्छु नि !’
एक दिन छोरी पौडिँदै टाढा खेल्न गएकी थिई । ढुङ्गामा अल्झिएर ऊ लडी । त्यै बेला उसको मोतीको माला घाँटीबाट खसेर हरायो । उसले चारैतिर खोजी तर माला भेट्टाउन सकिन । ऊ रुन थाली । ‘बाबालाई के भन्ने होला !’ भन्ने कुरा सोच्दै ऊ बाबा घर आई ।


अलि वर आएपछि उसले एउटा ठिटो गोही देखी । उसले भनी, ‘दाजु दाजु, मेरो बाबाले उपहार दिएको मोतीको माला पानीमा हरायो । बाबालाई के भन्ने होला भनेर मलाई ठुलो चिन्ता लागेको छ । तपाईं मेरो माला खाजिदिन सक्नुहुन्छ ?’
ठिटो गोहीले भन्यो, ‘मलाई माला खसेको ठाउँ देखाइदिनुस् । प्रयास गर्छु ।’ उनीहरू माला खसेको ठाउँतिर फर्केर आए । केटी गोही पानीमुनिको ढुङ्गामाथि बसी । ठिटो गोही तल तल गहिराइमा पस्यो । निकैबेरपछि उसले मोतीको माला लिएर आइपुग्यो । त्यो देखेर केटी गोही एकदमै खुसी भई । उसले भनी, ‘दाइ, तपाईंले ठुलो गुन लगाउनु भयो । म तपाईंको गुन कसरी तिरूँ !’ ठिटो गोहीले भन्यो, ‘मैले आफ्नो कर्तव्य पूरा गरेको हुँ । मलाई केही दिनुपर्दैन ।’
केटी गोहीले सारै आग्रह गरेपछि ठिटो गोही उसको घरमा जाने भयो । दुवै जना मिठामिठा गफ गर्दै केटी गोहीको घरमा आइपुगे । केटी गोहीले भनी, ‘बाबा, उहाँले मेरो हराएको मोतीको माला खोजेर ल्याइदिनु भयो । उहाँलाई पनि नौलो चिज उपहार दिन पाए हुन्थ्यो नि !’
ठुलो गोहीले ठिटो गोहीलाई हेर्‍यो । ऊ निकै बलियो र सुन्दर थियो । उसले भन्यो, ‘बाबु, तपाई निकै साहसी हुनुहुँदो रहेछ । म अब बुढो भएँ । मलाई हेरचाह गर्ने कोही छैन । तपाईं मेरी छोरीसँग विवाह गरेर हामीसितै बस्नुस् न है !’
बुबाको कुरा सुनेर छोरी पनि खुसी भई । ठिटो गोहीले उसैसँगै विवाह गर्‍यो । उनीहरू सुखले दिन बिताउन थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *