साहित्यकार स्नेहलता राई भारत सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार साहित्य अकादमी बालसाहित्य पुरस्कार नेपाली भाषाका लागि प्राप्त गर्न सफल लेखिका हुनुहुन्छ । उहाँ ६ जनवरी सन् १९५० मा तकभर, दार्जिलिङ, भारतमा जन्मनुभएको हो । साहित्यकार पिता रोबीन नेचाल र माता शारदा नेचालकी सुपुत्री स्नेहलता पति पूरण थुलुङ राईसँगै अहिले माउन्ट हर्मन स्टेट, दार्जिलिङमामा बस्नुहुन्छ । उहाँ पिप्ली प्रा. पाठशालाको पूर्व प्रधान अध्यापिका हुनुहुन्छ । उहाँले शिक्षण पेशाबाट सन् २०१० मा अवकाश प्राप्त गर्नु भएको थियो ।
लेखिका राईले बालबालिका र किशोरहरुका लागि विभिन्न साहित्यिक कृतिहरु रचना गर्नु भएको छ । साहित्य लेखनमा उहाँको पहिलो कृति मनका हरफहरु कविता सङ्ग्रह हो । यो कृति सन् २००७ मा प्रकाशित भएको थियो । बालसाहित्यमा उहाँको पहिलो कृति बाल सुमन कविता सङ्ग्रह हो । यो पनि सन् २००७ मा प्रकाशित भएको थियो । त्यसपछि लेखिका राईका मनसँग साउती गर्दैै (कविता सङ्ग्रह), विचयन (ससाना कुराहरुको सङ्गालो, सन् २००८), बालोद्दान (बालकविता सङ्ग्रह, सन् २००९), स्नेहोद्गार (बालकथा, सन् २००९), प्रकृति र पृथ्वी (सन् २०१०), सचित्र बालकविता (नेपालबाट, सन् २०११), मनु (किशोर उपन्यास, सन् २०१३) र प्रकृतिको प्रिय घर (किशोर कथा सङ्ग्रह, सन् २०१३) प्रकाशित छन् । उहाँका नेसनल बुक ट्रष्ट भारतबाट दुईवटा सचित्र बालकथा र एउटा बालकथा सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ ।

नेपाली साहित्य सम्मेलन, दार्जिलिङमा उपसचिव पदमा रहनु भएकी राई साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । उहाँ गोर्खा दु:ख निवारक सम्मेलन दार्जिलिङको साहित्य संयोजक तथा आजीवन सदस्य र भारतीय गोर्खा संघ, देवकोटा संघ, जनमत मासिक, हाम्रो एकता, देहरादून र बालसाहित्य प्रतिष्ठान नेपालको आजीवन सदस्य हुनुहुन्छ । वसुधा, भारतीय नेपाली साहित्यिक मन्चको कार्यसमिति सदस्यमा रहनुभएकी लेखिका राई गोर्खा कला संस्थान उपसमितिको उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँका वार्ताहरु आकाशवाणि रेडियो खरसाङबाट प्रसारित भएका छन् । उहाँ नेसनल बुक ट्रस्ट भारत र सिक्किम अकादमीको संयोजनमा नेपाली भाषा कार्यशालामा प्रमाण पत्र प्राप्त लेखिका हुनुहुन्छ । बालदर्पण पत्रिकाकी सदस्य राई सामयिक साहित्यिक सङ्कलनका संरक्षक हुनुहुन्छ ।
साहित्य लेखनमा समर्पित लेखिका राईले बालसाहित्य पुरस्कार, जीवनकालीन उपलब्धि पुरस्कार, शिक्षक सम्मान लगायत भारत सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार बालसाहित्य अकादमी पुरस्कार पनि सन् २०११ मा बालसुमन कृतिका लागि प्राप्त गर्न सफल हुनुभएको छ ।
लेखिका राईले एक दर्जन भन्दा बढी सम्मानहरु प्राप्त गर्नु भएको छ । उहाँ अहिले अन्तर्राष्ट्रिय नेपाली बालसाहित्य प्रवर्धन मन्च, पूर्वोत्तर, भारतको तदर्थ समिति सदस्यको रुपमा पनि कार्यरत रही बालसाहित्यको विकास र बिस्तारका लागि क्रियाशील रहनु भएको छ ।