हालसालै विश्व स्वास्थ्य संगठनले एक रिपोर्ट जारी गरी साना बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित निर्देशिका जारी गरेको छ । जसमा भनिएको छ, बालबालिकाको सही र सम्पूर्ण विकाशको लागि इलेक्ट्रोनिक स्कृिनहरूलाई उनीहरूको जीवनको हिस्सा बन्न नदिनु अत्यन्त जरुरी हुन्छ। विश्व स्वास्थ्य संगठन मान्दछ कि इलेक्ट्रॉनिक डिवाइस हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ तर सम्भव भएसम्म बालबालिकालाई यसबाट टाढै राख्नु अत्यन्त राम्रो हुन्छ। खासगरी ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई टाढा राख्नु पर्छ।
विश्व स्वास्थ्य संगठनको दिशानिर्देश
एक वर्ष वा यसभन्दा कम उमेरका नवजात शिशुहरूलाई त स्क्रिनको अगाडि लानै हुँदैन । एक वर्ष सम्मका शिशुहरूलाई एक दिनभरिमा १ घन्टाभन्दा बढी उनीहरु सक्रिय हुन नमिल्ने ठाउँमा पनि राख्नुहुँदैन। यसका साथै १ वर्षसम्मका बालबालिकाहरू दिनभरि जति सक्रिय रहन सक्छन् त्यति नै राम्रो हुन्छ ।
१ देखि २ वर्षसम्मका बालबालिकाका लागि केही मिनेटको स्क्रिन समय नै पर्याप्त हुन्छ। साथै कम्तिमा पनि ३ घन्टाको शारीरिक सक्रियता यस उमेरका बालबालिकाका लागि एकदमै जरूरी हुन्छ।
३ देखि ४ वर्षसम्मका बालबालिकालाई दिनभरमा १ घन्टा भन्दा बढी स्क्रिनको अगाडि राख्नु हुँदैन, चाहे त्यो टिभी होस्, स्मार्टफोन होस् वा अन्य कुनै उपकरण। यस उमेरका बालबालिकालाई दिनभरिमा कम्तिमा पनि ३ देखि ४ घन्टाको शारीरिक व्यायाम पनि गराउनु पर्छ अर्थात् उनीहरूको शारीरिक क्रियाकलापलाई महत्व दिनुपर्छ।
डब्ल्यूएचओको दिशानिर्देशका अनुसार विश्वभरमा लगभग ४ करोड बालबालिकाको तौल सामान्य भन्दा बढी छ, जुन कुल वजनको लगभग ६ प्रतिशत हो। यसमध्ये आधा अफ्रिका र एशियाका बालबािलका छन् ।
डब्ल्यूएचओका अनुसार बाल्यकालको प्रारम्भिक चरणमा बालबालिकाको विकाश छिटो हुने गर्छ र यो यस्तो समय हो जब स्वस्थ रहनको लागि परिवारको जीवनशैलीलाई सोही अनुकूल मिलाउन सकिन्छ।
उल्लेखनीय कुरा यो छ कि डब्ल्यूएचओको दिशानिर्देश अनुमानको भरमा आएको होइन। हालसालै वैज्ञानिकहरूले यस विषयमा चिन्ता व्यक्त गरेका छन् कि दुइ वर्षको उमेरभन्दा कम उमेरका बालबालिका मोबाइल र ट्याब जस्ता डिजिटल डिवाइसहरूमा एकदम धेरै समय बिताउन थालेका छन् । साइन्स जर्नलको एक रिपोर्टका अनुसार यी बालबालिकाहरूले डिजिटल स्क्रिनको अगाडि बिताउने समय पछिल्ला १७ वर्षमा पहिलेको भन्दा दुई गुणाले बढेको छ। बाल चिकित्सा विशेषज्ञहरूका बिच यस कुरालाई लिएर चिन्ता बढेको छ। उनीहरूले बालबालिकाका अभिभावकलाई सुझाव दिएका छन् कि ती बालबालिकाको सुत्ने समय भन्दा एक घन्टा पहिलेदेखि नै एक किसिमको डिजिटल कर्फ्यु लगाइ दिनुहोस्। अर्थात मोबाइल र ट्याब जस्ता चिजहरूबाट उनीहरूलाई टाढा राख्नुहोस्।
अमेरिकाको यूनिभर्सिटी ऑफ मिशिगनद्वा जामा पेड्रियटिक्स नामको साइन्स जर्नलद्वारा जारी रिपोर्टमा त्यस समयको तुलना गरिएको छ, जब मोबाइल यति सुलभ र आम प्रचलनमा थिएन। यसको लागि १९९७ को वर्ष छनोट गरियो र यसको तुलना २०१४ सालसँग गरिएको छ। १९९७ मा अमेरिकामा दुइ वर्ष भन्दा कम उमेरका बालबालिका हरेक दिन लगभग मोबाइल स्क्रिनमा औसत १.३२ घन्टा बिताउने गर्थे। जुन २०१४ मा बढेर औसत लगभग दुइगुना भन्दा पनि धेरै अर्थात ३.०५ घन्टा भयो । १९९७ मा यस उमेर समूहका बालबालिकाहरूले हरेक दिन लगभग २.३ घन्टा मोबाइल हेर्ने गर्थे, २०१४ मा यो समय बढेर ३ घन्टाको वरिपरि पुग्यो। डब्ल्यूएचओको भनाइ छ कि यो अहिले अमेरिकाको मात्र नभएर पूरा विश्वको स्थिति हो। जागरूकताको मामलामा एशिया र अफ्रिकाको स्थिति धेरै खराब छ।
इन्टरनेट मैटर्स, यूथवर्क्स र यूनिवर्सिटी ऑफ किंग्सटनको एक रिपोर्टमा चेतावनी दिइएको छ कि ५ वर्षभन्दा कम उमेरका बालबालिकाहरू काँचो माटो जस्तै हुन्छन् र उनीहरु जस्तो माहोलमा हुर्कँदैछन्, त्यहाँ इन्टरनेट सुरक्षाको बारेमा पर्याप्त जानकारिबिना उनीहरू डिजिटल स्पेसमा हराएर जाने खतरा छ। यस रिपोर्टमा यो कुरामाथि पनि जोड दिइएको छ कि यस्ता बालबालिका, जसलाई विशेष शिक्षाको आवश्यकता छ वा जसमा मानसिक, शारीरिक वा अन्य कुनै कमजोरी छ उनीहरूका समस्याहरूलाई इन्टरनेटको दुनियाले अझ बढाइ दिन्छ।
याे दिशानिर्देशनको महत्त्व के ?
डब्ल्यूएचओद्वारा जारी गरिएको दिशानिर्देश वर्तमान समयको माग हो किनकि वर्तमानमा विश्वका सबै देशहरूमा साना बालबालिकाहरूको बालापन हराएर जान थालेको छ, यसले उनीहरूको वर्तमान मात्र नभइ भविष्यकाे बाटो पनि कठिन हुँदै गएको छ। हामी यो भन्न सक्छौँ कि बालबालिकाको भविष्य शारीरिक र मानसिक दुवैतर्फबाट चिन्ताजनक अवस्थामा अगाडि बढिरहेको छ।
तसर्थ यो दिशानिर्देशको महत्वलाई निम्नलिखित पक्षको आधारमा विश्लेषण गरी हेर्नु राम्रो हुन्छ :
विश्वव्यापिकरणको दौडमा विश्वका सबै देश जसरी एक अर्कोसँग जुधिरहेका छन् त्यसरी मानिसहरूको कार्यपद्धति र रहनसहन पन बदलिँदै गइरहेको छ। मानव विकाशका धेरै चरण हुन्छन् र तीमध्ये बाल्यावस्था पनि शुरूवाति एक महत्वपूर्ण चरण हो। एक व्यक्तिको बालापनको शारीरिक विकाश उसको भविष्यको सिँढी बन्दछ। पहिलेको समयमा बालबालिकालाई खेलकूद वा शारीरिक व्यायामको लागि धेरै स्वतन्त्रता थियो। यस्तै उनीहरूका लागि मनोरन्जनका सामग्रिहरू पनि समाजमा रही आएका परम्परागत खेल सामग्री नै थिए जसले गर्दा ती दुई चार हुन्थे र त्यसबाट नै उनीहरू मनोरन्जन लिने गर्दथे। परिणामस्वरूप उनीहरूको शारीरिक विकाश पनि राम्ररी हुन्थ्यो।
तर वर्तमान समयलाई हेर्दा डिजिटल विश्वको निर्माण भैसकेको छ र विश्वका सबै देश डिजिटलिकरणतर्फ नै छिटो गतिमा अघि बढिरहेका छन्। यस युगमा यदि बालबालिकाको शारीरिक विकाशको कुरा गर्ने हो भने धेरै सर्भे र रिपोर्टले बताउँछन् कि बालबालिकाहरूमा शारीरिक गतिविधिहरु अत्यन्त कम हुँदै गएका छन् र बालबालिकाहरूले शारीरिक श्रमको समयलाई पनि डिजिटल डिभाइसमा आफूलाई व्यस्त राखिरहेका छन् जसको दुष्परिणाम मोटोपनको रूपमा अगाडि देखा परेको छ। बालबालिकाहरू खेलकुद मैदानमा गएर खेल्नमाभन्दा बढी भिडियो गेमदेखि लिएर ऑनलाइन च्याटलाई धेरै महत्त्व दिइरहेका छन्।
एउटा प्रचलित भनाइ छ, स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्कको विकाश हुन्छ । तर वर्तमान समयमा अभिभावकहरूले यस उक्तिलाई ध्यान दिइरहेका छैनन् । अभिभावकहरूलाई लाग्छ स्कुलपछि बालबालिकासँग कम समय हुन्छ त्यसैले ती बालबालिकालाई डिजिटल डिभाइसको प्रयोग गर्नबाट वन्चित गर्नु हुँदैन। यदि १ देखि ५ वर्षसम्मका बालबालिकाहरूको कुरा गर्ने हो भने उनीहरूको मामलामा पनि अभिभावकहरूले बालबालिकालाई इन्टरनेट चलाउन खुला छाड्छन् किनकि त्यसो गर्दा ती बालबालिकाले अभिभावकलाई सताउँदैनन्, परिणामस्वरूप अभिभावक आफ्नो काममा व्यस्त रहन पाउँछन्।
स्कुलको क्षेत्रलाई हेर्ने हो भने पनि जति प्राथमिकता पढाइलाई दिइन्छ त्यति शारीरिक व्यायामलाई दिइँदैन। व्यायाम वा खेलकूदको लागि बढीमा आधा वा एक घन्टा दिने गरिन्छ त्यो पनि नियमित रूपमा हुँदैन। यसले गर्दा बालबालिकाको मनमा खेल वा शारीरिक व्यायामप्रतिको रूचि कम हुन थालेको छ। यहाँ जबदेखि कम्प्युटरको युग आयो तबदेखि स्कुलमा पनि बालबालिकाहरू खेलको समयलाई लाइब्रेरीमा बिताउँछन् र ऑनलाइन गेम खेल्छन्।
जसरी विज्ञान एवं प्रविधकिो विकाश भइरहेको छ त्यसरी नै देश, समाज र व्यक्तिको विकाश त भइरहेको छ तर त्यसको साथसाथै चुनौती पनि अत्यन्त छिटो गतिले बढिरहेको छ। खास गरी बालबालिकालाई लिएर समस्या थप बढेर गएको छ। रिपोर्टहरूले बताउँछन् कि बालबालिकाको मानसिक विकाश र शारीरिक विकाशका बिच असन्तुलन बढ्दै गएको छ। बालबालिकाहरू आफ्नो समयभन्दा अगाडि बढिरहेका छन् र यसको लागि डिजिटल डिभाइस धेरै हदसम्म जिम्मेवार छ। बालबालिकाको अगाडि थुप्रै मनोरन्जनका साधन उपलब्ध छन् र उनीहरूले परम्परागत किताब, कथा, चुट्किलाका ठाउँमा इन्टरनेटमा आफ्नो समय बिताइरहेका छन्।
आश्चर्यको कुरा यो छ कि ठुला बालबालिका मात्र होइन ५ वर्षभन्दा कम उमेरका बालबालिकाहरू पनि इन्टरनेटमा गेम खेलिरहेका हुन्छन्। परिणामस्वरूप उनीहरूको मानसिक विकाश व्यावहारिक स्तरमा कम हुँदै गएको छ। अहिले थुप्रै घातक गेमहरूको कारण बालबालिकाको आत्महत्याको प्रसङ्ग पनि समस्याको रुपमा अगाडि आएको छ।
वर्तमान समयमा गाँउँ होस् वा शहर, एउटा नयाँ कुरा के देखिन्छ भने ५ वर्ष मुनिका बालबालिकालाई दूध खुवाउन वा खाना खुवाउनको लागि उनीहरूको हातमा मोबाइल दिने चलन चलेको देखिन्छ जसले गर्दा उनीहरूलाई मोबाइल देखाउँदै अभिभावकहरूले उनीहरूलाई सजिलैसँग दूध पिलाउन र खाना खुवाउन सकून्। यो प्रक्रियाले विस्तारैविस्तारै बालबालिकाको रूचि ग्याजेट बन्दै गएको छ र उनीहरूलाई यसको बानी नै पर्न थालिसकेको छ। यसले गर्दा बालबालिकाको शारीरिक र मानसिक दुवै विकाश प्रभावित भइरहेको छ। यतिमात्र होइन बालबालिकाहरू रुँदा वा अलि बढी जिद्धी गर्दा, जुन उनीहरूको जीवनको एक हिस्सा हो तर पनि उनीहरूलाई डिजिटल डिभाइसको प्रयोग गरेर मनाउने कोसिस गरिँदै छ जुन बालबालिकाको स्वस्थ विकासका लागि घातक कदम बनिरहेको छ।
संयुक्त परिवार टुट्नु र एकल परिवारको संरचना बढ्नु बालबालिकाको सामाजिक घुलमिलमा एउटा ठुलो कारक बनेको छ। खासगरी साना बालबालिका जो जन्मेको केही समयपछिसम्म हजुरबुवाहजुरआमा, काकाकाकी आदिको काखमा रमाउने गर्थे उनीहरू अब उहाँहरूबाट टाढा भैसकेका छन् र उनीहरू अब इन्टरनेटको दुनियामा रमाइरहेका छन् । अभिभावकहरूसँग समयको कमी र एक्लै रहने चाहनाले बालबालिकाको बालापनलाई बर्बाद गरिरहेको छ। बालबालिका पारिवारिक सम्बन्धबाट टाढा हुँदै गएका छन् किनकि उनीहरूका चाहानाहरू माथि इलेक्ट्रोनिक डिभाइसहरूले जाल फिँजाइरहेका छन्। आजको समयमा वयस्क व्यक्तिहरूलाई मात्र एक्लोपनले सताएको छैन, बालबालिका समेत एक्लोपनमा समय बिताउन विवश छन्। यसले गर्दा बालबालिकाको शारीरिक विकाश मात्र नभइ सामाजिक सम्बन्धमा पनि नकारात्मक असर पर्दै गएको छ। हराउँदै गएको बालापनमाथि लगातार भइरहेका अध्ययनहरूलाई ध्यानमा राखेर नै डब्ल्यूएचओले आफ्नो दिशानिर्देश जारी गरेको छ जसले बालबालिकाको बालापनको साथसाथै उनीहरूको सुमधुर भविष्यलाई पनि बचाउन सकिन्छ।
यो दिशानिर्देशको उद्देश्य
यो दिशानिर्देशको उद्देश्य त्यस्ता अधिकारीहरूलाई सहयोग गर्नु हो जसले शारीरिक गतिविधिहरूलाई बढाउनको लागि राष्ट्रिय योजना बनाउँछन्। यो दिशानिर्देश बालबालिकाको विकाशको लागि व्यापक पोषणको अध्ययनको लागि आवश्यक छ। पोषण सम्बन्धी अध्ययनमा स्वास्थ्य, पोषण र सुरक्षाको आवश्यकताको साथसाथै सिक्नको लागि सुरुवाति अवसर सामेल गरएिका छन्। यो दिशानिर्देश बालबालिकालाई पर्याप्त निद्रा, शारीरिक गतिविधि तथा मोटोपनको समस्याबाट छुट्कारा प्रदान गर्नमा सहयोगि हुने विश्वास गरिएको छ।
विश्वका धेरै देशहरूले पहिलेदेखि नै बालबालिकालाई स्क्रिनबाट टाढा राख्ने नीति बनाएका छन् । यस सूचीमा ऑस्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका तथा न्यूजीलैण्ड आदि जस्ता देशहरु पर्दछन् । बालबालिकालाई डिजिटल डिघचइसबाट टाढा राख्ने सम्बन्धमा व्यापक चेतना फैलाउनु अत्यन्त जरुरी देखिन्छ । तसर्थ यस विषयमा बालबालिका र अभिभावकका बिचमा गई व्यापक छलफल हुनु आवश्यक देखिन्छ । यस कार्यमा हामी सबै सक्रिय बनौँ ।
(याे लेख विभिन्न अनलाइन समाचार स्राेतकाे सहयाेगमा सरिता अर्यालले तयार गर्नुभएकाे हाे ।)