साहित्यकार पारिजातको ३० औं स्मृति दिवस सम्पन्न

Highlights राष्ट्रिय समाचार

२०८० वैशाख ५ गते / सुप्रसिद्ध साहित्यकार पारिजातको ३० औं स्मृति दिवसका अवसरमा पारिजात स्मृति केन्द्रले स्मृति भवन म्हेपी, नयाँबजारमा एक कार्यक्रमको आयोजना गर्‍यो । स्मृति केन्द्रका अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरेले साहित्यकार पारिजातसँगका वि. सं. २०१८ सालदेखिका संस्मरण प्रस्तुत गर्नुहुँदै महाकवि देवकोटा पछि नेपाली साहित्यमा दोस्रो स्थान पारिजातको रहेको विचार प्रस्तुत गर्नुभयो ।

उक्त स्मृति सभामा पारिजात स्मृति केन्द्रका संरक्षक एवम् पारिजातकी बहिनी सुकन्या वाइबा विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा २०७९ का लागि प्रदान गरिएका पारिजात सम्मानहरू प्राप्त गर्नुहुने विशिष्ट व्यक्तित्वहरू पारिजात सङ्घर्षशील नारी सम्मान – २०७९ प्राप्त गर्नुहुने सङ्घर्षशील नारी व्यक्तित्व गोमा देवकोटा, पारिजात सिर्जन सम्मान – २०७९ प्राप्त गर्नुहुने साहित्यकार शार्दूल भट्टराई, पारिजात बालसाहित्य सम्मान – २०७९ प्राप्त गर्नुहुने बालसाहित्यकार गङ्गा कसजू र पारिजात कला सम्मान – २०७९ प्राप्त गर्नुहुने सङ्गीतकार गुज्जे मालाकारले संक्षिप्त मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिनाले उक्त कार्यक्रमको संचालन गर्नुभएको थियो भने इसास कीर्तिपुरका कलाकारहरूले पारिजात गीत प्रस्तुत गर्नुभएको थियो ।
सुप्रसिद्ध साहित्यकार पारिजात (वि.सं.१९९०-२०५०) काे जीवनी

वि.सं. १९९० फागुन ३० गते दार्जीलिङमा जन्मिनुभएकी पारिजातले २०११ सालमा १७ वर्षको उमेरमा नेपाल काठमाडौंमा पाइला ६ेक्नुभयाे । १३ वर्षको उमेरमा छोएको हाडजोर्नी सम्बन्धी रोगबाट जब उहाँ अत्यन्तै पीडित हुनुभयाे तब उहाँलाई लाग्यो- ‘जीवन एउटा त्यस्तो फूल हो जुन भ्रमर चुम्बनमै ओइली झर्छ । त्यसको पुष्टि गर्नको खातिर उहाँले २०२२ सालमा ‘शिरीषको फूल’ प्रकाशित गर्नुभयाे । ‘शिरीषको फूल’ उहाँको परिचय र पर्यायको रुपमा स्थापित भयो । २०२३ सालमा आएर पारिजातले चर्चित आन्दोलन ‘राल्फा’ को नेतृत्व गर्नुभयाे जसमा रामेश, रायन, निनु , मंजुल लगायतका स्रष्टाहरु संलग्न हुनुहुन्थ्याे । निर्मल लामा र मोहनविक्रम सिंह ( जसलाई पारिजातले गडफादर मान्नुभएकाे थियाे ) संगको संगतपछि उहाँले जीवनको नयाँ क्षितिज देख्नुभयाे र २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन को सदस्यता लिनुभयाे । २०३९ सालमा अर्को शिरीषको फूल उर्फ प्रगतिवादी शिरीषको फूल ‘अनिदो पहाडसँगै’ प्रकाशन भयाे ।

पारिजातकाे जीवनी नेपालीमा https://www.youtube.com/watch?v=sWrJ1f_VCiU

पारिजातको जीवनी अंग्रेजीमा https://www.youtube.com/watch?v=AE0ouwOPs68

समाचार स्राेत : पारिजात स्मृति केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *