सत्यमोहन जोशीबाट सिक्नुपर्ने तीन कुरा

Featured Highlights सम्पादकीय

आज वैशाख ३० गते । यो दिन आदरणीय सत्यमोहन जोशीको १०४ औँ जन्म जयन्तीको दिन हो । आज सत्यमोहन जोशीबाट हामीले सिक्नुपर्ने तीन कुराहरुबारे चर्चा गर्न लागेका छौँ ।

चर्चा गर्नुपर्ने ती तीन कुराहरु निम्नलिखित रहेका छन् :

१. आफूलाई अरुसँग नदाँज्ने
सत्यमोहन जोशीले औपचारिक शिक्षा धेरै लिन पाउनुभएन । त्यो समय नै त्यस्तै थियो । तर, उहाँले सम्पदा र संस्कृतिको विषय छानेर खुब अध्ययन गर्नुभयो । उहाँले कहिले पनि आफूलाई डाक्टर, प्रोफेसरसँग दाज्नुभएन । आफ्नो काम मिहिनेतका साथ गर्दै जानुभयो । उहाँको यही बानीले उहाँलाई आज ती डाक्टर र प्रोफेसरभन्दा माथि टप लेभलको नेपाली नागरिक भनेर हामीले गर्व गर्न पाएका छौँ ।

२. खानपिनमा अनुशासन
सत्यमोहन जोशी खानपिनको समयको धेरै याद गर्नुहुन्थ्यो । सकभर घरमै खाएर निस्किने उहाँको बानी थियो ।
उहाँ दाल, भात र तरकारी खान मन पराउनुहुन्थ्यो । कुनै कार्यक्रममा जाँदा मिठो खाना देखेर धेरै खानु र कहिले लामो समयसम्म दिनभरि नखानु यस्तो अनुशासनहीन खानपिनको बानीले शरीरलाई असर गर्छ भन्ने उहाँको विचार थियो ।
उहाँको मिठो नमिठो केही नभनी भान्सामा पाकेको सादा भोजन समयमै खाने बानी थियो । यसरी खानपिनमा अनुशासनमा बसेकाले उहाँ १०३ वर्षसम्म बाँच्न सफल हुनुभयो ।

३. सबैसँग मिल्ने, मिठो बोल्ने
सबैसँग मिठो बोल्नु, बोलीको शक्ति गोलीको भन्दा शक्तिशाली हुन्छ भन्ने कुरा विचार गर्नु । एकपटक गोली हानेर घाउ निको भयो भने त्यो मान्छे फेरि साथी बन्नसक्ला । तर, वचन लगाएर बोलीको वाण हानेको मान्छे कहिले फेरि मित्र बन्नसक्दैन भन्ने सत्यमोहन जोशीको विचार थियो ।

सत्यमोहनज्यू बाँच्नुभएको समयमा किताबी ज्ञानको आधारमा विश्वविद्यालयको प्रमाणपत्रको आधारमा हेर्ने हो भने उहाँभन्दा धेरै ठुला विद्वानहरू अहिले पनि हुनुहुन्छ । तर, ती सबैभन्दा माथि राष्ट्रिय ख्याति र सम्मान सत्यमोहन जोशीलाई नै किन मिल्यो त ?

यही प्रश्नको उत्तरमै उहाँको जीवनको रहस्य लुकेको छ ।

उहाँ कसैप्रति भेदभाव नगर्ने, मिठो बोल्ने मृदुभाषी हुनुहुन्थ्यो । वचनको वाणले कसैलाई पनि घाइते बनाउनु हुन्न भन्ने उहाँको धारणा थियो । त्यसैले उहाँको जीवनबाट हामीले मिठो बोल्ने र सबैप्रति राम्रो व्यवहार गर्ने मान्छे सबैको प्यारो हुने रहेछ भन्ने शिक्षा पनि लिनसक्छौँ ।

भाइबहिनीहरू, तपाईँहरूले पनि सत्यमोहन जोशीका यी ३ वटा बानीबाट प्रेरणा लिनुहुनेछ भन्ने आशा एवम् विश्वास गरेको छु ।
धन्यवाद, जय नेपाल ।
दाजु कार्तिकेय घिमिरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *