जनस्तरबाट प्रदान गरिएकाे बालसाहित्य रत्न उपाधि मलाई स्वीकार छ : शान्तदास

राष्ट्रिय समाचार

केटाकेटी अनलाइन सम्वाददाता

काठमाडाैँ, २०८० जेठ ७ / नेपाल बालसाहित्य समाज लगायत विभिन्न ११ वटा संस्थाले नेपाली बालसाहित्यका अग्रज लेखक शान्तदासलाई ‘बालसाहित्य रत्न’ उपाधि प्रदान गरेका छन् । अग्रज लेखक शान्तदासको ९० औं जन्मदिनको अवसर पारेर उक्त उपाधि प्रदान गरिएको हो। संलग्न अन्य संस्थाहरूमा एभरेष्ट इङ्लिस स्कुल भक्तपुर, बालसाहित्य प्रतिष्ठान नेपाल, बालवाङ्मय तथा अनुसन्धान केन्द्र, थिएटर सेन्टर फर चिन्ड्रेन, सिविन- नेपाल, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुल काठमाडौं, जुगल स्कुल ललितपुर, किताब चरो र कथावाचक समाज रहेका थिए।

समारोहमा ११ संस्थाका प्रतिनिधिहरुले संयुक्त रूपमा उक्त उपाधि सम्मान पत्र शान्तदासलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा सिविन(नेपालका तर्फबाट निर्माण गरिएको शान्तदासबारेको वृत्तचित्र प्रस्तुत गरिएको थियो । साथै फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुलका बालबालिकाले शान्तदासले लेखेको बालकविता हाउभाउसहति वाचन र नृत्य प्रदर्शन गरेका थिए।
कार्यक्रममा एभरेष्ट इङ्लिस स्कुलका प्रधानाध्यापक भक्त राजभण्डारी, बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरे, बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्य, थिएटर सेन्टर फर चिल्ड्रेनका अध्यक्ष केदार श्रेष्ठ, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका निर्देशक भोला श्रेष्ठ, फ्युचर स्टार इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल मनोज श्रेष्ठ, किताब चरोका अध्यक्ष रामबाबु सुवेदी र कथावाचक समाजका अध्यक्ष ध्रुव घिमिरेले शान्तदासको योगदानबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै शान्तदास मानन्धरज्यूले जन स्तरबाट प्रदान गरिएको बालसाहित्य रत्न उपाधि प्राप्त गर्दा आफू निकै खुसी भएको बताउनु भयो । उहाँले हाैसिँदै भन्नुभयाे, ”जनस्तरबाट प्रदान गरिएकाे याे बालसाहित्य रत्न उपाधि मलाई स्वीकार छ । याे उपाधि दिनुभएकाेमा सम्लग्न सबैलाई धन्यवाद छ । मलाई गर्व महसुस भएकाे छ । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *