१. मेरो नाम विभूति अधिकारी हो । म कक्षा ११ मा विज्ञान विषय लिएर एम्बिसन एकेडेमी, नयाँ बानेश्वरमा पढ्दै छु। मेरो बाबाको नाम रामप्रसाद उपाध्याय अधिकारी हो भने मामुको नाम गायत्री कुमारी भट्टराई हो । मेरो जन्म २०६३ साउन ५ गते फाकफोकथुम, इलाममा भएको हो । म अहिले वरिष्ठ उपाध्यक्षकाे रूपमा नवसर्जक साहित्य चौतारी नेपालमा आबद्ध छु । मेरो अद्भुत इन्द्रेनी (खण्डकाव्य-२०७७) प्रकाशित छ ।
२. म कक्षा ६ मा पढ्दा मलाई पढाउने सरले कर्णप्रिय स्वरमा छन्द कविता वाचन गर्नुहुन्थ्यो अनि मलाई पनि त्यस्तै कविता लेख्न र वाचन गर्ने इच्छा जागृत भयो । कक्षा ६ मा पढ्दा भानु जयन्तीका अवसरमा दून एकेडेमी विद्यालयद्वारा आयोजित कविता वाचन प्रतियोगितामा प्रथम भएपछि मैले पुरस्कार स्वरूप एउटा डायरी र कलम पाएको थिएँ र भोलिपल्ट अर्थात् २०७४/३/३० गते मैले किसान शीर्षकको कविता जस्तो जाने त्यस्तै लेखे । बाबाले साझा प्रकाशनबाट किताबहरू ल्याइराख्नुहुन्थ्यो, छन्दोहार किताब बाबाले मलाई एकदिन दिनुभयो । छन्दोहार किताब निकै जटिल भएर छन्दको सामन्य ज्ञानसतेत सम्पूर्ण रूपमा मैले बुझ्न सकिनँ तर जे जति बुझ्थे लेख्थे। युट्युबमा डा. देवी नेपालज्यूको थुप्रै कविताहरूले मलाई दिनप्रति दिन लेखिरहन प्रेरणा दिन्थे र एकदिन उहाँकै माध्यमबाट म दीपक गौतम गुरुको “नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियानमा” जोडिन पुगेँ । मैले त्यस अभियानबाट थुप्रै अवसरहरू पाएको छु । र आज पनि मलाई नवसर्जक साहित्य चौतारी नेपाल (जो नवसर्जक केन्द्रित अनलाइन साहित्यप्रशिक्षणकै उपज हो) , डा. देवी नेपाल र दीपक गौतम गुरुबाट अविरल हौसला र प्रेरणा मिलिरहन्छ । मेरो पहिलो प्रकाशित रचना गुरु शीर्षकको कविता हो। जो नागरिक दैनिक राष्ट्रिय पत्रिकामा म कक्षा ८ मा अध्ययनरत हुँदा प्रकाशित भएको थियो।
३. हजुर, मैले नेपाली बालसाहित्य पनि पढ्ने गरेको छु । बालसाहित्य मलाई मन पर्ने विषय हो । बालसाहित्यमा पाइने सरलताले मलाई निकै आकर्षित गर्ने गर्दछ । बालसाहित्यमा थुप्रै आदरणीय लेखकहरू हुनुहुन्छ । मैले जति पढेको छु ती सबै मलाई मनपर्छन् तथापि भन्नै पर्दा शान्तदास मानन्धर, डा. देवी नेपाल, प्रमोद प्रधान, प्रभा भट्टराई, प्रा. डा. ध्रुवकुमार घिमिरे, रामबाबु सुवेदी, उर्मिला पन्त, कार्तिकेय घिमिरे, शान्ति सापकोटा आदि ।
नेपाली बालसाहित्य जति अङ्ग्रेजी बाल साहित्य त त्यति पढ्ने गरेको छैन तर मौका मिलेको बेला पढ्न छोड्दिनँ पनि । मलाई A.A Milne को The Sunny Side भित्रका कथाहरू मन पर्छन् ।
४. स्कुल र कलेजको पढाइमा निकै अन्तर छ । कक्षा बढेसँगै पढाइमा दिनुपर्ने समय बढ्छ र विद्यार्थीमा स्कुलभन्दा कलेजमा कैयौँ गुणा पढाइको दबाब पनि हुन्छ । त्यसकारण पनि साहित्यतिर समय दिन सकस पर्छ । तर केही समय साहित्यतिर दिएर पढाइलाई पनि राम्रो गर्ने कुरामा म कसरत गरिरहेकै छु।
५. म समय पाउनासाथ किताब पढ्न रुचाउने मान्छे हुँ । विभिन्न साहित्यकारहरूबाट उहाँहरूले माया गरेर किताबहरू साहित्यिक कार्यक्रम/भेटघाट भएपिच्छे दिनुहुन्छ । त्यसकारण पनि किताब पढ्न जाँगर चल्छ ।
६. दुर्भाग्यवश मलाई बालककालमा मुना पत्रिका पढ्ने अवसर मिलेन । म धेरैजसो सामाजिक सञ्जालबाट कविताहरू श्रवण र पठन गर्ने गर्थे र अहिले पनि तुलनात्मक रूपमा सामाजिक सञ्जालबाट निकै पढ्ने गरेको छु। यो इन्टरनेटको युग हो। प्रविधिको प्रयोगले गर्दा धेरै कुराहरू सुगम र सहज भएका छन्। किताब खोज्न कतै जानै पर्दैन, एक क्लिक गरेसँगै आफूले चाहेको खोजेको सामग्री सजिलै उपलब्ध हुन्छ। मैले युट्युब फेसबुक जस्ता सामाजिक सञ्जालबाट कविताहरू पढ्दै प्रेरित हुँदै धेरै कुराहरू सिकेको छु र लेखेको छु।
७. जब म ११, १२ वर्षको थिएँ, मैले त्यतिबेला गौरी, ऋतुविचार मुनामदनजस्ता साहित्यिक किताब पढेको थिएँ। मेरो बाल मस्तिष्कले ती किताबको गहनता बुझ्न नसके पनि पढ्न खुबै आनन्द मिल्थ्यो। मैले युट्युबमा गौरीका श्लोकहरू सुनेको थिएँ तसर्थ मैले बाबालाई गौरी शोककाव्य उपलब्ध गराइदिनहुन अनुरोध गरेको थिएँ। उहाँले मलाई साझा प्रकाशनको कार्यालयबाट गौरीसँगै ऋतुविचार, मुनामदन र अन्य पुस्तकहरू उपलब्ध गराइदिनुभएको थियो।
९. अग्रज लेखक र युवा लेखकबिच सम्बन्ध सुमधुर हुन नसक्नु किन भन्नेबारेमा मेरो विचारमा यस्ता विचारहरू आउनुका कारण मुख्यतः दुइटा छन् । पहिलो, पाका पुस्ताहरूले समयसँगसँगै आफूलाई परिवर्तन गर्न नसक्नु हो । आफ्नै पहिलेकै नीतिनियममा अल्झिरहनु पनि हो । युगीन समयलाई आत्मसात् गर्न चुकिरहेकाले यस्ता गुनासाहरू पाका पुस्तामाझ छ । दोस्रो, अनुज पुस्ताले अग्रज पुस्तासँग सहकार्य गर्न नसक्नु हो। अहिलेको युगीन समयमा हामीमात्र श्रेष्ठ छौँ, पाका पुस्तालाई उपदेश दिनमात्र त आउँछ नि अरू के नै जानेका छन् र भन्ने जस्ता सङ्कुचित सोचाइले अहिलेका पुस्तालाई घमण्डी बनाउँदै छ । अनुज पुस्ताले अग्रज पुस्तासँग परामर्श लिँदै आदरपूर्वक सहकार्य गर्दै अनि अग्रज पुस्ताले पनि अनुज पुस्तालाई सहजतापूर्वक आत्मसात् गर्नसके रूढिवादी दबाब दिन छोडेर अघि बढ्नसके यस्ता विचारहरू रहँदैनन् र हाम्रो समाजलाई अझ सभ्य र गतिशील बनाउन मदतसमेत पुग्छ ।
१०. मैले साहित्यिक किताबहरू विद्यालयको पुस्तकालयबाट सजिलैसँग पढ्न पाउँथेँ । बाबाले बजारबाट पुस्तकहरू ल्याइदिनुहुन्थ्यो। मैले कक्षा ९, १० धनगढी, कैलाली मेरै घरबाट दिएको हुँ । काठमाडौँमा पुस्तक बजारमा आएको दुई-तीन दिन पछि म धनगढीका पुस्तक पसलमा पुस्तक किन्न भनेर जान्थे र हामीसँग पुस्तक छैन भन्नुहुन्थ्यो अनि आएपछि खबर गर्नुहोला नि भन्थेँ तर हप्तौँदिनसम्म पनि खबर नआएर म पुनः धाइरहन्थे उहाँहरू पुस्तक दिन अलि आनाकानी गर्नुहुन्थ्यो । मैले भन्न खोजेको कुरा के हो भने सुदूरपश्चिमतिर पुस्तक पुग्न अस्वाभाविक समय लागेको पाएको छु । साथै पुस्तक पसलले पनि फुटकर रूपमा व्यक्ति-व्यक्तिलाई बेच्नुभन्दा एकैचोटि पुस्तकालयमा दिन चाहेर हामीकहाँ छैन भनेर पठाएको थुप्रै घटना छन् ।
११. साहित्यमा समर्पित हुनु भनेको आफ्नो रुचिको कुरा हो । साहित्यमा भाग लिएपछि सृजनात्मक बनिन्छ, आत्मविश्वास बढ्छ र साहित्यिक संस्थामा संलग्न भएपछि नेतृत्व शक्तिको पनि विकास हुन्छ । मैले त यो पनि अनुभव गरेको छु कि अहिलेको अधिकतम पुस्ता नेपाली विषयमा तुलनात्मक रूपमा कमजोर छ र साहित्यिक पठन र लेखनसंस्कृतिले यसमा निकै सुधार ल्याउन ठूलो भूमिका खेल्छ।
नवसर्जक साहित्य चौतारी नेपाल (नसाचौने) नयाँ पुस्ताले नेतृत्व गर्दै गरेको साहित्यिक संस्था हो । विद्यार्थीको पढाइसम्बन्धी निकै संवेदनशील र सचेत छ । नसाचौने साहित्यिक गतिविधिले विद्यार्थीको पढाइमा प्रतिकूल असर पर्नु हुँदैन भन्ने कुरा सदैव नवसर्जकहरूलाई भनिरहेकै हुन्छ। विद्यार्थीको परीक्षा समयमा विद्यार्थीले चाहे जति अवकाश दिने गर्दछन् भने बेलाबखतमा नवसर्जकले अभिभावकसँग पनि परामर्श लिने गरेको छ । विद्यार्थी आफैँले पनि उचित समय व्यवस्थापन गर्नसके पढाइमा साहित्य क्षेत्रले प्रतिकूल असर पार्दैन।
१२. म विद्यालय पढ्दा साहित्यिक कृतिहरू उपहार स्वरूप पाएका, पुस्तकालयबाट ल्याएर, कतिपय किनेर पनि पढ्ने गर्थेँ। किताब किन्दा धेरैजसो किताबहरू सर्वसुलभ मूल्यमा पाइन्थे भने केहीको मूल्यचाहिँ बेसी भएको महसुस हुन्थ्यो। अहिले पहिलाजस्तो त्यति समय मिलाउन सकेको पनि छैन तर वर्षभरिमा ८/९ वटा कृति जति किनेर पढ्छु ।
१३. विज्ञानपनको पछि लागेर भन्दा पनि आफ्नो आवश्यकतालाई हेरेर सामान प्रयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ। किताब छान्दा पनि हामी सचेत हुनुपर्छ ।
हामीले गर्नुपर्ने कुरा के हो र हामी कहाँ चुकिरहेका छौँ यस्ता कुराको हेक्का राखेर बढ्न सके सफलता मिल्छ भन्ने मेरो बुझाइ हो । आजको नवयुवाले आफ्नो कर्तव्यको पहिचान गरी कर्तव्यपथमा अग्रसर हुन आवश्यक छ । कर्तव्य निर्वाह गर्दै जाँदा त्यहाँ कमजोरी, गल्ती हुनु स्वाभाविक हो परन्तु अग्रजको परामर्श लिँदै त्यस्ता गल्तीहरू सच्चाउँदै सहर्ष अगाडि बढ्नुपर्छ। आजको नवयुवाले चाह्यो भने जे पनि गर्न सक्छ तर आफूले गर्नुपर्ने असल कुरा के हो भन्ने आफ्नो अग्रजबाट मार्गनिर्देशन लिनुपर्छ ।