प्रस्तुति : सरिता अर्याल
बालसाहित्यलेखक समेत रहनुभएका नर्वेजियन नाटककार युन फस्सलाई सन्. २०२३ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ। स्विडिश एकेडेमीले लेखक फस्सले लेख्नुभएका नसुनिएकाहरूको आवाज समेटिएकाे नाटक र गद्यका लागि यो सम्मानजनक पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताएकाे छ । उहाँका प्रमुख कृतिहरूमा बोड हाउस, मेलाङ्कोली, सेप्टोलोजी आदि पर्दछन्। फस्सका कृतिहरूको प्रशंसा गर्दै स्विडिश एकेडेमी भन्छ, “फस्सले सबैको जीवनमा आउने दैनिक परिस्थितिहरूलाई आफ्ना कृतिहरूमा प्रस्तुत गर्नुभएकाे छ । फस्सले भाषिक एवं भौगोलिक दुवै पक्षलाई निकै कलात्मक एवं आधुनिक शैलीमा स्थानीय परिस्थितिसँग बलियो रुपमा जोड्नुभएकाे छ ।”
युन फस्सको जन्म २९ सेप्टेम्बर, सन्. १९५९ मा नर्वेको हौजिसन्डमा भएको हाे । सन. १९८३ मा प्रकाशित ‘रेड ब्ल्याक’ उहाँको पहिलो उपन्यास हो। नर्वेजियन भाषामा नाटक, उपन्यास, बालसाहित्य, कविता आदि लेख्नुभएका उहाँ विशेषतः नाटककारका रुपमा विश्वभर परिचित हुनुहुन्छ। उहाँका थुप्रै नाटक, उपन्यास, निबन्ध आदि विभिन्न चालीस वटा भाषामा अनुवाद भैसकेका छन्। उहाँले तीस भन्दा बढी नाटक लेखिसक्नुभएकाे छ । उहाँका नाटकहरू विश्वभर मञ्चन भएका छन्।
२०२३ को साहित्यतर्फको पुरस्कारको घोषणासँगै फस्स नोबेल पुरस्कार प्राप्त गर्ने चौथो नर्वेजियन नागरिक बन्नुभएकाे छ । सन्. १९०१ बाट प्रदान गर्न थालिएको नोबेल पुरस्कारबाट हालसम्म एक सय पन्द्र जना लेखकले साहित्यतर्फको पुरस्कार प्राप्त गरेका छन्। नोबेल पुरस्कारकाे नामकरण स्विडेनका उद्योगपति अल्फ्रेड नोबेलको नामबाट गरिएको हो । यो पुरस्कार हरेक वर्ष साहित्यका साथै भौतिकशास्त्र, फिजियोलोजी वा मेडिसिन, अर्थशास्त्र र शान्तिका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई एकैसाथ प्रदान गरिन्छ । नोबेल पुरस्कार विजेताले स्वर्ण पदक, प्रमाणपत्रसहित नगद राशि प्राप्त गर्छन् ।