सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

सामुदायिक विद्यालयमा अध्ययनसँगै कृषि कर्ममा लगाउने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । यस्तो कार्यले एकातिर विद्यार्थीमा व्यवहारिक ज्ञान हासिल हुँदै गएको छ भने अर्कोतिर पढाई खर्च पनि आफैं जुटाउन सहज भएको छ । केही पहाडी तथा तराईका जिल्लामा अध्ययन र कृषि कर्मलाई विद्यार्थीले सँगसँगै अघि बढाएका छन् । पाल्पाको रामपुरमा रहेको एक सामुदायिक विद्यालका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत ५८ जना विद्यार्थीले पढाईसँगै तरकारी खेति गरेर कमाई समेत गरिरहेका छन् । यसै गरी काभ्रेको नमोबुद्धमा रहेको अर्को सामुदायिक विद्यालयका विद्यार्थीले पनि विद्यालय परिसरमै रहेको बाँझो जमिनमा फूल खेति गरेर तिहारमा राम्रो कमाई गर्न सफल भए ।

यसै गरी कपिलवस्तुको  जनता नमुना माध्यमिक विद्यालय र सुद्धोधन स्थित मुडफुटवा मा.वि.ले पनि पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेका छन् । यी विद्यालयका विद्यार्थीले च्याउ, लसुन र आलु खेति गरेका छन् ।

तनहुँको ऋषिङ गाउँपालिकामा रहेको शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत विद्यार्थी अध्ययनसँगै पशुपालनमा आबद्ध भएका छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत यहाँ पशुपालन समेत हुन थालेको हो । यहाँका विद्यार्थी बिहान ६:३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त हुन्छन् र त्यसपछिको समय भने फार्ममा बिताउने गरेका छन् । विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ । फार्ममा ब्रोइलर कुखुरा र बाख्रापालन गरिएको छ ।

यी त केही प्रतिनिधि उदाहरण हुन् । सामुदायिक विद्यालयमा शुरु गरिएकको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत् विद्यार्थीलाई पढाईसँगै व्यवहारिक सीप र ज्ञान हासिल गर्ने गरेका छन् । कक्षा कोठामा पुस्तक अध्ययन गरेका विद्यार्थीले विद्यालयद्धारा सञ्चालित कृषि फर्ममा काम गरेर व्यवहारिक ज्ञान हासिल गर्नुका साथै आत्मनिर्भर हुन पनि सिकेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *