मायालु सुगा (कथा) : ललिता ‘दोषी’

Featured Highlights कथा साहित्य

भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो । मृगले रुँदै भन्यो– ”सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।”

सुगा कुनै उपाय निकाल्छु भन्दै भुर्र उड्यो । ऊ आत्तिदै यताउता मुसा खोज्न थाल्यो । अहँ पाएन । ऊ निराश भएर के गरौँ के नगरौँ भनेर सोचिरहेको थियो । उसले मुसा च्यापेर उडिरहेको कागलाई देख्यो । ऊ सकीनसकी उडेर काग नजिकै पुग्यो ।
मुसो चुइचुइ कराइरहेको थियो । सुगाले खुसी हुँदै भन्यो– ‘‘काग दाइ बिन्ती मेरो कुरा सुन । त्यो मुसालाई नमार, कराएर मुुसा नखसाल उसको धेरै ठूलो काम छ । तिमी बिस्तारै भुइँमा बस दाइ म पनि बस्छु ।
काग रिसाउँदै भुइँमा बसेर मुसालाई खुट्टाले च्याप्दै भन्यो– ”म धेरै भोको छु ? म किन यसलाई नमारौँ मार्छु ।”
सुगाले नम्र भएर भन्यो– ‘‘तिम्रो पेट भराउँने जिम्मा मेरो भयो । म तिमीले जे भन्छौँ त्यही खान दिन्छु । हेर त्यहाँ मृग छटपटाइरहेको छ । छिटो उसलाई छुटाऊँ नत्र पापी सिकारीहरूले उसलाई मार्छन् ।

कागले रिसाउँदै भन्यो ‘‘ल ल ठीक छ । पासो काटेपछि मात्र …….।

मुसाले आँसु झार्दै भन्यो– ‘‘म पनि कागको चुच्चाले च्याप्दा केही घाइते भएको छु । त्यत्रो जाल एक्लै काट्न पनि सक्दिनँ । हामीलाई पक्कै नमार्ने भए त्यहाँ दुलो रहेछ म अरू मुसासँग सहयोग माग्छु ।’’

सुगाले खुसीहुँदै भन्यो– ‘‘तिमीले ठीक भन्यौ । विश्वास गर तिमीहरूलाई केही हुँदैन । बरु चाँडै गर ।’’

अजिङ्गरको आहारा दैवले पुर्याउँछ भनेको सही रहेछ । आहा ! अब अरू मुसा खान पाइने भयो भनेर काग साह्रै खुसीभयो ।

मुसानजिकै रहेको दुलामा पस्यो । छिन भरमै तीनवटा मुसा दुलोबाट निस्केर मृग भएतिर खुरुरु दौडिए ।
सुगा र काग पनि त्यतै उडे । मुसाहरूले ढिलो नगरी जाल काटिदिए ।

मृगलेले खुसी हुँदै भन्यो– “मलाई पीडाबाट मुक्त गरिदिएकोमा मुसालगायत सुगा र कागलाई सबैलाई धेरैधेरै धन्यवाद छ । आफ्ना आमाबाबु र बथानबाट छुट्टाउने त्यही नाथे चितुवा हो । चितुवाले लखेटेपछि भाग्दैभाग्दै म यहाँ आएको त जालमा पो परेँ । अब कहाँजाऊँ के गरौँ?’’

सुगाले नम्र स्वरमाभन्यो– ‘‘पीर नगर दाइ ! हामी तिम्रो आमालाई खोज्न मद्दत गर्छौँ ।’’

कागले मुसातिर हेर्दै भन्यो– ‘‘कति आमा सामाको कुरा गरेका ? काम सक्की नै हाल्यो । धेरै होइन दुइटा मुसा त म खान्छु नै ।

सुगाले सम्झाउँदै भन्यो– ‘‘काग दाइ तिम्रो गुन हामी कहिल्यै भुल्ने छैनौँ । यस्तो ज्ञानी मुसालाई नखाऊ । मैले तिम्रो आहारा जुटाउँन सकिनँ भने बरु मलाई नै खाउला नि हुन्न ?’’

यस्ताको के कुरा सुन्नु भन्दै काग ठूलो मुसा च्यापेर के उडेको थियो । त्यही जालमा कागको खुट्टा अड्कियो । दुखेर काँ गरी कराउँदा मुखबाट मुसा फुत्कियो ।

मुसा बचेकोमा खुसी भयो । सबैले कागतिर हेरे । काग लाजले निहुरियो । खुट्टाको जाल निकाल्न धेरै कोसिस गर्यो तर सकेन ।

मृगले सम्झाउँदै भन्यो– ‘‘हेर काग दुःखसुख भनेको सबैलाई पर्छ । दुःख अरूलाई मात्र पर्छ भनेर सम्झनु गलत हो ।’’
सुगाले सम्झायो– ‘‘हेर मलाई देखेपछि बूढादेखि बच्चा सम्मले जे खानमाग्यो त्यही दिन्छन् । म त्यही तिमीलाई खानदिउँला । धन्न तिम्रो खट्टा अड्कियो र मुसाको ज्यान बच्यो नत्र….।’’

त्यही मुसाले डराउँदै जाल काटिदियो । कागले आँसु झार्दै भन्यो– ‘‘अबदेखि म कुनै सोचविचार नगरी कुनै गलत काम गर्दिनँ । मलाई माफ गर साथी हो ।’’

मुसाले नम्र स्वरमा भन्यो– ‘‘भोकले गर्दा नै हामीले पाप गर्छौँ । यस्तो सुक्खा मौसम छ । काग दाइको कुनै दोष छैन ।’’

मुसातिर हेर्दै सुगाले भन्यो– ‘‘तिम्रो कुरा त ठीकै हो मुसा भाइ तर मैले खानदिने कुरा गरेकै थिएँ नि ! लाग्छ तिमीहरू पनि भोका छौ ।’’

मुसाले मुन्टो हल्लाएर हो भन्ने सङ्केत गर्यो । सुगाले सबैतिर हेर्दै भन्यो– ‘‘ल मुसा र कागको भोक मेटाउने जिम्मा र मृगको आमा भेटाउने जिम्मा पनि मेरो भयो ।’’

सुगाको सुन्दर शरीर, मीठो बोली सहयोगी भावना देखेर सबै खुसी भए । सबैलाई सुगाको साह्रै मायालाग्यो । मृगले हाँस्दै भन्यो– ‘‘तिमी सधैँ सबैको प्यारो बन भाइ !’

मुसा र कागले पनि त्यसै भने । सुगाले खुसी हुँदै भन्यो– ‘‘तिमीहरूलाई धेरै धन्यवाद छ । ल उडौँ काग ! मैले धेरै काम गर्नु छ ।’’ काग सुगासँग उड्यो । मुसा र मृगले खुसीहुँदै मायालु सुगा र काग उडेतिर हेरिरहे ।





लेखक ललिता ‘दोषी’


Leave a Reply

Your email address will not be published. Required fields are marked *