१. नमस्कार बिक्रम सर, अहिले कुन बालसाहित्यको किताब पढिरहनुभएको छ ?
हजुर नमस्ते ! मेरो साहित्यलेखनको यात्रा प्रौढसाहित्यबाट शुरु भएको भएता पनि कम उमेरकाले पढ्ने साहित्यप्रतिको मेरो झुकाव शुरुदेखिकै हो । त्यही भएर मेरा कतिपय लेखनमा जुभेनाइल साहित्यका हल्काफुल्का बाछिटाहरु देखिन्छन् । पढ्न पनि म लाइट रिडिङ्ग नैं रुचाउँछु । दिमागलाई बोझिल बनाउने साहित्यमा म रम्न सक्दिनँ । आफू त्यस्तो पढ्न रुचाउने भएर हो क्यारे, लेख्छु पनि त्यस्तै ।
खाँटी बालसाहित्य नैं भनेर अहिले मैले पढिरहेको कुनै पुस्तक छैन, तर किशोरसाहित्यतिरका केही पुस्तकको प्यारालल-रिड भने गरिरहेको छु । राम्रो बानी हो वा हैन थाहा छैन, तर म भने एउटै पुस्तकलाई फेहरिस्त पढिसिध्याएर अर्को पुस्तक शुरु गर्नुभन्दा एकभन्दा बढी पुस्तक समान्तर पढ्ने गर्छु ।
अहिले पढ्दैगरेकोमा पहिलो त रस्किन बन्डको आत्मकथा ‘लोन फक्स डान्सिङ’ हो । यसमा उनका बाल्यकालदेखिका अनेक संस्मरणहरु साह्रै मिठासपूर्ण तवरले वर्णन गरिएको छ । सत्र वर्षको कलिलो उमेरमा ‘द रुम अन द रुफ’ नामक किशोर उपन्यास लेखेर पुरस्कृत भएका यी बृटिश मूलका भारतीय लेखकले देहरादून वरपरका क्षेत्रलाई आधार बनाएर लेख्ने गर्छन् । वरिपरिका प्राकृतिक दृश्य र दैनन्दिन क्रियाकलापलाई मिहीन ढङ्गले वर्णन गर्दै लेखिएका उनका किशोरसाहित्यका पुस्तकहरु मलाई औधी मन पर्छन् । त्यसो त उनले प्रौढसाहित्य पनि प्रशस्त लेखेका छन्, जस्तो कि उनले लेखेका ‘सुजानाज सेभेन हज्बन्ड्स’ मा आधारित रही प्रियङ्का चोपडा अभिनित ‘सात खून माफ’ सिनेमा नैं पनि बनेको छ ।
अर्को पुस्तक जुन म पढ्दैछु, त्यो हो कृष्णदीप सिग्देलकृत किशोर उपन्यास ‘सेकुवा’ । बालसाहित्यमा निक्कै दखल राख्नुभएका सिग्देलज्यूले प्रायोगिक रुपमा यो उपन्यास लेख्नुभएको छ । जनावरहरुलाई पात्र बनाएर लेखिएको यो कृतिको न्यारेटरी टेक्निक नौलो र चाखलाग्दो छ ।
तेश्रो पुस्तक भनेको मेरा अति प्रिय बृटिश लेखिका एनिड ब्लाइटनको ‘द माउन्टेन अफ एड्भेन्चर’ हो । नजाने मैले यो पुस्तक कतिफेर दोहोर्याएर पढेँ हुँला । म १२ वर्ष हुँदा रु.१२.६५ मा पाटनको महापालस्थित हिस्सप बुक हाउसमा किनेको यो किताब मलाई अत्यन्त प्रिय लाग्छ । आँबु खैरेनीबाट दरौंदी, मर्स्याङ्दी नदी तरेर १२ वर्षको उमेरमा बुवा, आमा, भाइसित मनकामना हिँडेर जाँदा यो किताब मेरो झोलामा बन्द थियो । अहिलेजस्तो आधुनिक होटेल त्यतिखेर थिएनन् त्यहाँ । जोशी लजको खाँटी गाउँले बसाईमा ओसिलो गन्धयुक्त चिसो हुस्सुले डम्म परेको विहानी घामको मधुरो प्रकाशमा पढेका त्यस किताबभित्रका हरफहरु अझै याद छन् । चार बालकहरु र एउटा सुगाका साहसिक कारनामाले भरिएको यो किशोरउपन्यास नोस्टाल्जियाका खातिर आजको दिन पनि म बारम्बार पढ्ने गर्छु ।
२. बालसाहित्यमा पहिलो किताब प्रकाशन गर्दा कस्तो अनुभव गर्नुभयो ? किताब प्रकाशन गर्दाको अनुभव साझा गरिदिनुस् न है ।
भन्ने नै हो भने म बालसाहित्यमा लाग्छु भनेर लागेको हैन । यसको श्रेय म अनुराधा शर्मा बहिनीलाई दिन्छु । नेपाली मात्र नभै अन्तर्राष्ट्रिय स्तरमै उनले बालसाहित्यमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । उनैको तत्त्वावधान एवं कोपिला किताब नामक प्रकाशन संस्थाको अगुवाइमा आयोजित दुईदिने ‘ट्रुथ एन्ड लाइज’ शीर्षकगत कार्यशाला गोष्ठीमा उनैले मलाई निम्त्याइन् । त्यही गोष्ठीमा जन्म भयो ‘बेखामान र राक्षस’ । डेनमार्कमा बसोबास गर्नुहुने युक्रेनी नागरिक स्यालीको प्रशिक्षणमा एउटा सुन्दर बालचित्रकथाको खाका तयार भयो र चित्रकार सोभितमान बानियाँको साथ पाएर अत्यन्त सजीव चित्रले सुसज्जित पुस्तकको जन्म भयो । नेवार संस्कृतिमा प्रचलनमा रहेको कथालाई विनिर्माण गरी कथेको चित्रकथा प्रकाशन गर्ने कोपिला किताबका भानु भट्टराई, अर्पिता शाक्य र पल्पसा मानन्धर धन्यवादका पात्र हुन् ।
यसरी बालसाहित्यमा मेरो पहिलो पुस्तक प्रकाशनको अनुभव सुमधुर रह्यो, बिना कुनै व्यवधान, बिना कुनै संघर्ष । मानौं यो एउटा रेगुलर प्रक्रिया हो, जुन यति सुगम रह्यो कि पुस्तक हात पर्दा पत्याउनै गाह्रो भो कि अब म बालसाहित्यकार पनि बनेँ भनेर । (हाँसो)
३. तपाईंको विचारमा बालबालिकाले कस्तो किताब पढ्नुपर्छ जस्तो लाग्छ ?
भन्दै सुन्दै आएको कुरा नैं हो कि बालबालिका आलाकाँचा माटाजस्ता हुन् । जुनै आकारमा पनि ढाल्न सकिने । कलिलो मनमस्तिष्कमा परेको प्रभाव पछिसम्म रहिरहन्छ । ससाना कुराले हुँडरी मचाइदिन्छ । हुन पनि बाल्यकालमा जुनै कुरापनि अतिरञ्जित रुपमा ग्रहण गरिने गरिन्छ । कुनै ठिक्कको रुख पनि साह्रै अग्लो देख्न पुगिन्छ । माटोको होचै ढिस्को पनि पहाड झैं लाग्छ । मानिसहरु अग्लाअग्ला लाग्छन् । आफू सानो कदको भएर होला । अनि सानोसानो कुराले पनि धेरै खुसी दिलाउँछ । सानासाना कुराले पनि मन उद्वेलित बनाउँछ । थोरै अँधेरोमा पनि मन तर्सिन्छ । बुझाइको दायरा सानो भएर होला ।
भन्नै परोइन कि यस्तो नाजुक उमेरमा जे पढ्यो, त्यसले अमिट छाप छोड्छ, कलिलो दिलोदिमागमा । त्यसैले बालबालिकाले सकारात्मक सोचको विकास हुने खालका पुस्तक पढ्ने गर्दा एक असल जेहनदार व्यक्तित्वको विकास हुन्छ । अझ भन्नुपर्दा बालबालिकाको उमेरको हिसाबले जति कम उमेर उति कम अक्षर भएका पुस्तक पढ्न दिइनुपर्छ । किनकि सानो उमेरको दिमागले अक्षर भन्दा बढी चित्र बुझ्छ । चित्रले बढी तान्छ । अध्ययनले यो पनि भन्छ कि साना उमेरकाहरुलाई भूतप्रेत तथा जादूटोनाका पुस्तक सकेसम्म पढ्न नदिँदा राम्रो, जसले उनको सोचमा नकारात्मक असर पार्न सक्छ ।
अर्को कुरा, बालबालिकाले मात्र नभै अरु जोकोहीले पनि त्यस्ता पुस्तक पढ्न खोज्छ, जसले उसलाई आकर्षित गर्छ । बाँधेर राख्छ । मेरो विचारमा बालबालिकालाई उनीहरुका चाहना अनुरुपका पुस्तक पढ्न अभिप्रेरित गर्नुपर्छ । पाठ्यक्रमका पुस्तक बाहेक बालबालिकाले त्यस्ता पुस्तक पनि किनुन्, पढुन् जसमा उनीहरुको रुचि होस् । उनीहरुले आफ्ना रुचिका पुस्तकलाई पाठ्यपुस्तक जसरी दवावपूर्ण ढङ्गले पढ्नु नपर्दा अभिरुचिपूर्वक पढ्न पाउँछन् । जसले गर्दा नजानिँदो पारामा पाठ्यपुस्तक बुझ्न समेत सहयोग पुगिरहेको हुन्छ ।
यसका साथै पाठ्यक्रम बाहिरका रुचिका पुस्तक पढ्ने बानी भएका बालबालिकामा ग्रास्पिङ पावर (बुझ्ने क्षमता) बढी भएको पाइन्छ । उनीहरूमा ज्ञानको दायरा फराकिलो हुने हुँदा तीक्ष्णता, आत्मविश्वास, जिज्ञासुपन बेसी हुन्छ साथै सामान्य ज्ञान पनि मनग्गे हुन्छ ।
त्यसैले म त भन्छु कि बालबालिकाहरुले आफूलाई रुचि लाग्ने बाहिरका पुस्तकहरु प्रशस्त पढ्ने गर्नुपर्छ । पाठ्यपुस्तकमा मात्र सीमित रहनुहुन्न ।
४. अनि तपाईंले नेपाली बालसाहित्यको अवस्था कस्तो पाउनुभयो ?
मेरो कुरा गर्दा पठनसंस्कृतिले बाल्यकालदेखि नैं जरो गाड्यो । जुनै जस्तै पुस्तक पनि पल्टाइहाल्ने बानी मलाई सम्झना भएदेखि नैं थियो मेरो । त्यसमाथि बालसाहित्यप्रति मेरो सानैदेखिको अनुराग थियो । तर नेपाली बालसाहित्यका पुस्तकको निक्कै कम विकल्प थियो त्यसबखत । त्यतिखेर रत्नपार्कतर्फ बाट बागबजार जाने बाटोको दाहिने फुटपाथ (नेपाल विद्युत प्राधिकरणको पर्खालमुनि) फिँजारेर राखिएका वीरसिक्का, तोतामैनाको कथा, मधुमालतीको कथा, हातिमताईको कथा आदि मेरालागि नेपाली बालसाहित्य पुस्तकको विकल्प थिए । हिन्दीबाट अनुदित यी पुस्तकहरु बनारसमा छापिएर आएका हुन्थे । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट छापिएको तुलसी दिवसको ‘नेपाली लोककथाहरु’ समेत म बालसाहित्य पुस्तक ठानेर पढ्ने गर्थेँ । अँ, हुन्थे त्यतिखेर पातला पातला बालकथाका पुस्तकहरु । ‘लालगेडीको कथा’ तिनैमध्ये एउटा थियो, जसको नाम मलाई अहिले झ्वाट्ट याद आयो । यो म तीसको दशकको कुरा गर्दैछु ।
भन्नुको तात्पर्य नेपाली बालसाहित्यका पुस्तकहरुको धेरै नै कम च्वाइस भएको बखतबाट आएको व्यक्तिका नाताले अहिले बजारमा देखिने बग्रेल्ती थरीथरीका रङ्गीचङ्गी कलेवरमा सजिएका नेपालीमा लेखिएका बालपुस्तकहरु देख्दा मलाई भन्न करै लाग्छ कि नेपाली बालसाहित्यले ठूलै फड्को मारेको छ । त्यसमाथि पठनसंस्कृतिको राम्रो विकास हुन थालेको छ । विद्यालयहरुले पाठ्यसामग्री भन्दा बाहिरका पुस्तकहरु पनि विद्यार्थीले पढ्नुपर्छ भन्ने कन्सेप्टको विकास हुन थालेको छ । स्थानीय पुस्तकालयमा समेत बालपुस्तकहरु बाक्लै देखिन थालेको छ । अभिभावकहरुले आफ्ना बच्चालाई बाहिरका पुस्तक पढ्न प्रोत्साहित गर्न थालेका छन् । यस्तोमा नेपाली बालसाहित्यका पुस्तक प्रकाशन गर्ने संस्थाहरु स्थापना हुने रुझान बढ्दो छ । यो सबै देख्दा मन हर्षित हुन्छ, यो सोचेर कि नेपाली बालसाहित्यको विकासले मीठो लय पक्डेको छ । यो कायम रहोस्, मेरो भित्री हृदयदेखिको चाहना । किनकि भनिहालेँ नि बालसाहित्यप्रति मेरो बाल्यकालदेखिको अनौठो लगाव छ ।
५. अब कुनै नयाँ बालकृति प्रकाशनको तयारी गर्दै हुनुहुन्छ हो ?
साहित्ययात्राको शुरुवात एउटा प्रौढ र एउटा बालपुस्तकको प्रकाशनबाट भयो । मलाई दुबै विधामा समानान्तर पाइला चाल्नु छ । प्रौढ साहित्यको दायरा भलै फराकिलो किन नहोस्, बालसाहित्यमा पनि मेरो विशेष रुचि छ । यस अर्थमा मेरो कलम नयाँ बालकृति सृजना गर्न तत्पर छ ।
बालसाहित्यको नाममा एउटा बालचित्रकथा लेखिसकेँ । हुनसक्छ, अबको पालो मैले केही बढी उमेरका बालबालिकाका लागि पुस्तक लेख्छु कि ? हुनसक्छ, योङ्ग टिनएजरहरुका लागि च्याप्टर बुक । जसलाई अचेल किशोरसाहित्य भन्न थालेको देख्छु । एउटा प्लट दिमागमा घुम्दै गरेको धेरै भो । पोखिन उपयुक्त समय र मुडको प्रतीक्षामा छु । हेर्दै जाउँ, के हुन्छ ! यहाँहरुको सद्भाव, सुझाव र शुभकामना पाए अवश्य सफल हुँदो हुँ !