काठमाडौँ, माघ ६/ केटाकेटी अनलाइन बालपत्रिकाको ‘पुस्तक दान महादान’ अभियानका लागि आदरणीय बालसाहित्य लेखक एवम् समाजसेवी कविता पराजुलीले केटाकेटी अनलाइन बालपत्रिकालाई रु. एक लाखको बालपुस्तक दान गर्नुभएको छ । लेखक पराजुलीले रचना गर्नुभएका उत्कृष्ट ११ बालकथाहरु समावेश रहेको भ्यागुताको योग कृतिको नेपाली र अंग्रेजी संस्करण गरी ३७५ प्रति पुस्तक उहाँँले यस अभियान सफल बनाउनका लागि दान गर्नुभएको छ ।
उपहारमा प्राप्त कृतिहरु केटाकेटी अनलाइन बालपत्रिकाले बालसाहित्य प्रतिष्ठान नेपाल मार्फत् सामुदायिक पुस्तकालय र अनाथालयहरुमा निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइने बालसाहित्य प्रतिष्ठान नेपालले जनाएको छ ।
लेखक पराजुलीका ११ बालकथाहरुको सम्पादन कार्तिकेय घिमिरेले र अंग्रेजी अनुवाद महेश पौड्यालले गर्नुभएको हो । दुवै कृति केटाकेटी मिडियाले प्रकाशन गरेको हो । दुवै कृतिलाई बालबलिकाले अत्यन्त रुचाउनुभएको छ । दुवै कृति उपत्यकाका नौ वटा विद्यालयमा कक्षा ७ र ८ मा उत्कृष्ट बालकथाकृतिको रुपमा छनोट भई पठनपाठन हुँदै आएको केटाकेटी मिडियाका वेब एडिटर कृतिका पौडेलले बताउनुभएको छ ।
