काठमाडौँ । १५ औँ राष्ट्रिय बाल नाटक महोत्सवमा रङ्गकर्मी घिमिरे युवराजकाे नाटकले सर्वोत्कृष्ट नाटक पुरस्कार प्राप्त गर्न सफल भएकाे छ । उत्कृष्ट हुन सफल नाटक ‘आँधीको मनोरम नृत्य’ मा माउण्ट हार्मन चिल्ड्रेन एकेडेमी, मोरङका बालबालिकाहरुकाे अभिनय र प्रेम प्रसाद खतिवडाकाे निर्देशन रहेको थियो । फागुन २ गतेबाट सुरु भएको यस महाेत्सवमा २७ वटा नाटकबिच प्रतिस्पर्धा भएकाे थियाे । फागुन ९ गते वुधबार सम्पन्न भएको छ।
यस वर्ष शैली थिएटर, रूसी सदन, संस्थागत विद्यालय एसोसिएसन नेपाल तथा ओजस थिएटर एण्ड फिल्म स्टुडियोको आयोजना तथा चलचित्र विकास बोर्डको विशेष सहकार्यमा राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको हो ।
यस वर्ष महाेत्सवकाे पहिलाे दिन फागुन २ गते बालसाहित्य रत्न शान्तदास मानन्धरकाे स्मरण गर्दै उहाँकाे स्मृतिमा यसै वर्षबाट स्थापित ‘बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान’ शिक्षासेवी भक्त राजभण्डारीलाई प्रदान गरिएको थियो । शान्तदास शैली थिएटरका सल्लाहकार पनि हुनुहुन्थ्याे ।
उक्त प्रतियोगिताको समापन समाराेहको प्रमुख अतिथ्य वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गर्नुभएको थियो भने निर्णायकको भूमिकामा किशोर अनुराग र बाबा बस्नेत रहनुभएको थियो ।
उक्त बाल नाटक महोत्सवकाे प्रतियोगितामा उत्कृष्ट नाटक निर्देशक पुरस्कारबाट एलिट ग्रान्ड स्कुल चुच्चेपाटी चावहिलको नाटक ‘अनिश्चित सोच २११२ बाट’ इच्छा सिंह पुरस्कृत हुनुभएको छ ।
त्यस्तै, बाल नाटक महोत्सवमा नाटक विधातर्फ अनुशासन पुरस्कार होली एन्जल पब्लिक स्कुल गोकर्णेश्वरको नाटक ‘हेप्पी बर्थडे’ ले पाएको छ भने बाल नाटक प्रोत्साहन पुरस्कार यू वेष्ट प्वाइन्ट आमावि, म्याग्दीको नाटक ‘विकास सँगै विकृति’ ले पाएको छ ।
त्यस्तै, नाटक विधातर्फकै उत्कृष्ट अभिनेत्रीतर्फ ब्राइट फ्युचर सेकेन्डरी स्कुल, ललितपुरको नाटक ‘ढुङ्गाको खिचडी’ बाट दिव्यान्का ओझा पुरस्कृत हुनुभएकाे छ भने अभिनेतातर्फ आकाश गंगा इन्टरनेसनल स्कुलको नाटक ‘मुकुट’ बाट यमन नगरकोटी पुरस्कृत हुनुभएकाे भएकाे छ ।
त्यस्तै बेष्ट ओर्जीनल राइटिङ अवार्डबाट काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘फूलको भाषा’ ले पाएको छ भने वेष्ट कल्चरल अवार्ड रेडस्टार बोर्डिङ स्कुल मोरङको नाटक ‘हेत्छाकुप्पा’ ले पाएको छ ।
त्यस्तै बेष्ट भोलिन्टियर च्वाइस अवार्ड लोयला सेकेन्डरी स्कुलको नाटक ‘देवकी’ ले पाएको छ भने बेष्ट इन्सेम्बल अवार्ड नि:सर्ग बाटिकाको नाटक ‘ड्याड भर्सेस मम’ ले पाएको छ । त्यस्तै पब्लिक च्याइस अवार्ड एभरेस्ट इङ्लिस स्कुल, भक्तपुरको नाटक ‘मनको मन्दिर’ ले प्राप्त गर्न सफल भएको छ ।
बालनाटक प्रतियोगिताकाे समापन समाराेहमा विभिन्न सहभागी विद्यालयहरूलाई प्रमाणपत्र सहित पुरस्कृृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अशेष मल्लले विद्यार्थीमा भएको नाट्य प्रतिभा सधैं अमर रहने विश्वास व्यक्त गर्दै अभिनयमा रमाउने बालबालिका हरेक क्षाेत्रमा सफल हुने विशवास व्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा बोल्दै साहित्यकार महेश पौड्यलले विगत १५ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आएको महाेत्सवको सफलता सँगसँगै अनवरत निरन्तरताको कामना गर्नुभयो ।
महोत्सवमा विभिन्न प्रतियोगि तथा अप्रतियोगी गरेर २७ वटा नाटक मञ्चन भएका थिए भने विभिन्न विद्यालयको सहभागिता रहेको थियो ।
विगत १५ वर्षदेखि विभिन्न संघ संस्थाहरूको सहकार्यमा शैली थिएटरले राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ ।
केटाकेटी अनलाइन बालपत्रिकाले यस वर्ष सहयाेगी संस्थाको रुपमा महाेत्सवमा सहभागिता जनाएकाे थियाे । साथै च्यारिटी टिकट बास्केट कार्यक्रमकाे सुरुवात गरी थिएटरमा आउने अवसर नपाउनुभएका दृष्टिविहीन, अनाथ र सामुदायिक विद्यालयका बालबालिकाहरुलाई यस महोत्सवमा प्राथमिकताका साथ सहभागी हुने अवसर प्रदान गरेको थियो । यस पुन्यको कार्यमा हाम्रो बालपत्रिकासँग सहकार्य गर्नुहुने साहित्यकार एवम् समाजसेवी व्यक्तित्वहरु आदरणीय गीता खत्री, आदरणीय बेथ ब्रेवस्टरप्रति केटाकेटी अनलाइन बालपत्रिका परिवार हार्दिक आभार प्रकट गर्दछ ।
साथै विद्यार्थीहरुकाे परीक्षाकाे समयमा भएकाे असुविधाका बाबजुद पनि हाम्राे अनुराेधलाई स्विकार गरी बालबालिकालाई नाटकमा अभिनय गर्ने र अन्य समूहका नाटकहरु पनि हेर्ने अवसर प्रदान गर्नुहुने एभरेस्ट इङ्लिस स्कुल, भक्तपुर, इन्टरनेशनल स्कुल, धुम्बाराही, काठमाडौँ, नेक्स्ट जेनेरेशन स्कुल, यट्खा, काठमाडौँ र रिजेन्ट रेसिडेन्सियल स्कुल, धापाखेल, ललितपुरप्रति केटाकेटी अनलाइन बालपत्रिका परिवार हार्दिक आभार प्रकट गर्दछ ।