यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षामा पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा रहेकाे छ ।
आज चैत १५ देखि सुरु भएको परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । एसईईलाई व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्ष लगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको एसईई परीक्षामा सहभागी हुन मुलुकभरबाट ५ लाख ४ हजार ४ सय १४ जना परीक्षार्थीले रजिस्ट्रेसन फारम भरेका थिए । सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा ३८ हजार ८ सय १३ जना र सबैभन्दा कम जापानमा २३ जना रहेको बोर्डले जनाएको छ । त्यस मध्ये छात्राको सङ्ख्या २ लाख ५० हजार ७ सय ७२ र छात्रको सङ्ख्या २ लाख ५३ हजार ६ सय २७ रहेको छ । परीक्षाका लागि देशभरि २ हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने जापानमा पनि एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४ सय ४१ वटा रहेका छन् ।
यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिनेछ । गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । विगत केही वर्षदेखि विद्यार्थीलाई फेल नगर्ने भनेर थालिएको अभ्यास यसपटक केही परिवर्तन गरिंदैछ । सैद्धान्तिकमा ३५ अंक र प्रयोगात्मकमा ४० अंग नल्याउने विद्यार्थीलाई पास नगरिने भएको हो । दुई वटा विषयसम्म कम अंक ल्याए मौका परीक्षाको व्यवस्था गरिनेछ । अन्यथा अर्को वर्ष पुनः परीक्षा दिनुपर्नेछ । यस वर्षदेखि परीक्षा सञ्चालन हुने सात वटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुनेछ भने ७५ अङ्कको मात्रै सैद्धान्तिक परीक्षा हुने व्यस्था गरिएको छ ।
