भोजपुर दिङ्गलामा जन्मनुभएका प्रा.डा. हेमाङ्ग राज अधिकारी नेपाली भाषा विशेषज्ञ हुनुहुन्छ । नेपाली भाषाको उत्थान र समसामयिक प्रगति र विकासका लागि सक्रिय उहाँले विद्यालयदेखि विश्वविद्यालयसम्म विभिन्न तहका लागि पाठ्यपुस्तकहरू लेख्नुभएको छ । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नुहुन्छ :
म बालब्रह्मचारी षडानन्द अधिकारीको वंशज हुँ । षडानन्दले विसं १९३२ मा पाठशाला स्थापना गर्नुभएको थियो । त्यो बेला जनस्तरमा पाठशाला थिएन । दरबार हाईस्कुल १९१० मा स्थापना भएको त थियो तर त्यो दरबारभित्रै सीमित थियो । १९४० मा मात्र यो स्कुल सर्वसाधारणका लागि बाहिर आएको हो ।
मेरो हजुरबुबा र बुबाले पनि त्यही गाउँमै खुलेको पाठशालामा पढाउनुभएको हो । पहिला बुबाले काठमाडौंको तीनधारा संस्कृत पाठशालामा पढेर पछि दार्जिलिङमा पढाउनुभएछ । त्यसपछि भने हजुरबुबासँगै बुबाले पनि त्यही पढाउनुभएछ ।
मेरो बुबाआमा दुवैजना २००६ सालमा बित्नुभयो । त्यो बेला म भर्खर तीन वर्षको थिएँ । हामी दुई भाइ र एउटी दिदी थियौं । म परिवारमा माइलो छोरा हुँ । दाइ पनि हुनुहुन्थ्यो रे तर उहाँ पनि रोगले बित्नुभएछ । जन्मेका चारमा एक भाइ बितेपछि हामी तीन मात्र बाँकी रहेका थियौं । हामी तीनैजनालाई हजुरआमाले हुर्काउनुभएको हो । हजुरबुबा पनि बितिसक्नुभएको थियो । मेरो पहिलो विद्यालय त्यही षडानन्द संस्कृत पाठशाला हो । त्यो अहिले षडानन्द उच्चमावि भएको छ । प्रारम्भिक शिक्षा त्यही पाठशालामा लिँदा म धूले पाटी र चकटी घरैबाट बोकेर जान्थेँ । अक्षरारम्भ घरमै भएको हो । प्राथमिक शिक्षा घरबाट नजिकै रहेको दस मिनेटमा पुगिने विद्यालयमा पढेँ । त्यसपछिको पढाइ षडानन्द पाठशालामा पढेँ । पछि सरकारले त्यसलाई मान्यता दिएपछि त्यो विद्यालय नै भयो । त्यसपछि मैले ढुक्कसँग त्यही पढेँ । त्यति बेला त्यो छात्रावाससहितको विद्यालय थियो । म त्यही बसेर पढ्थेँ । त्यहाँ मैले एघार कक्षासम्म पढेर काठमाडौं आएँ ।
त्यो बेला दिङ्गलाबाट रानीपोखरीको तीनधारा पाठशालामा म पूर्वमा सबैभन्दा बढी नम्बर ल्याएको विद्यार्थीको रूपमा छानिएर आएको थिएँ । पुतलीसडकस्थित राजकीय संस्कृत महाविद्यालय, हाल शंकरदेव क्याम्पस रहेको छेउमा, अहिले नागरिक लगानी कोष भएको ठाउँमा त्यो विद्यालय थियो । पछि त्यही विद्यालय वाल्मीकि क्याम्पसमा परिवर्तन भयो । यसरी काठमाडौंमा आएर मैले त्यही संस्कृत महाविद्यालयमा पढेँ । मैले नेपाली विषयमा एमए गरी नेपाली भाषाविज्ञान विषयमा नेपाली कारक व्याकरण भन्ने शीर्षकमा पीएचडी विद्यावारिधि गरेँ । कारक नेपाली व्याकरणको गाह्रो पक्ष मानिन्छ । त्यो आधुनिक भाषाविज्ञानको अर्थ विज्ञानसँग पनि सम्बन्धित छ ।
अब सानोको कुरा गर्दा घरमा सबै छोरा मान्छे मुली बितेको घरको छोरो थिएँ म । बाख्रा हेर्न जाने, गाईबस्तु चराउने, आली लगाउने र गरा सम्याउने सबै काम मैले गर्दथें । लेक–बेसी हिउँद लागेपछि गोठमा जाने र पढ्ने काम गर्दथेँ । त्यति बेला म आठ कक्षामा पढ्थें । हिन्दीको किताब पढ्नुपर्दथ्यो । त्यो किताब मैले मेरो ठूलो बुबालाई ल्याइदिनू भनेर भनेँ । उहाँले ल्याइदिनु भएकाे रहेछ । मलाई त्यो नयाँ किताब कहिले पढूँ, कहिले पढूँ भएको थियो । साँझको बेलामा विशेष लालटिनको व्यवस्था गरेर पढ्ने विचार गरेको थिएँ । धाईआमा गोठमा गाई रुँग्न जाने कुरा थियो । तर त्यो दिन गोठ जाने पालो मेरो परेछ । ला वित्यास पर्यो, लालटिन त घरमै रहने भयो । त्यसपछि मैले त्यो किताब देखिन्जेल जूनको उज्यालोमा पढेँ र देखिन छाडेपछि पातपतिङ्गर बटुलेर आगो बालेँ र त्यही उज्यालोमा किताब पढ्न थालेँ । म किताब पढ्न यति मग्न भएछु कि कति बेला हो अलि–अलि हावा लागेर गोठको सेउलामा आगो सल्किएछ । त्यसपछि अरूले हल्लाखल्ला गरेपछि मैले किताब र लुगा त्यही फालेर हतार–हतार गाई–बाच्छाको दाम्लो फुकाइदिएको थिएँ । पछिसम्म पनि मेरो हातमा गोठ जल्दा पोलेको दाग थियो । यसरी सानैदेखि म पढ्दाखेरी एकदमै ध्यानकेन्द्रित गरेर पढ्ने मान्छे हुँ । हजुरआमाले राम्रोसँग पढ्ने वातावरण बनाइदिनुभएको थियो ।
मेरो भाइ परिवारको दु:खका कारणले गर्दा चौध वर्षको उमेरमा बित्यो । दिदीको १९ वर्षको उमेरमा बिहे भएको थियो । उहाँ पनि बाइस वर्षको उमेरमा बित्नुभयो । साउनको बेला आमा कामको धोपडीले गर्दा बित्नुभयो र त्यसको तीन दिनपछि बुबा पनि आमाको शोकले बित्नुभयो । मेरा आफन्तहरू काकाहरू मात्र बाँकी थिए । तर राजनीतिमा संलग्न भएर होला काकासँग पनि मेरो भेट हुँदैनथ्यो । गाउँकै विद्यालयमा आधुनिक विषयहरू पनि आएपछि मलाई विद्यालय शिक्षा पूरा गर्न सजिलो भएको थियो । म विसं २०२३ देखि २०२६ सम्म संस्कृत छात्रावासमा बसेँ । त्यसपछि बाहिरै बसेर पढेँ ।
मैले विसं २०३० सालदेखि क्याम्पसमा पढाउन थालेको हुँ । मैले सबैभन्दा पहिला नेपालगन्ज क्याम्पसको शिक्षाशास्त्रमा पढाएँ । त्यसपछि सरुवा भएर कीर्तिपुर क्याम्पसमा आएँ । मेरा तीनवटी छोरीहरू छन् । श्रीमती उषा घिमिरे अधिकारी हुन् । मेरी हजुरआमाको नाम क्षत्रकुमारी अधिकारी हो ।
मैले जीवनमा पहिलोपल्ट परदेश हिँडेको प्रवेशिकाको जाँच दिन धरान गएको बेला हो । त्यो बेलाको पनि रोचक प्रसंग छ । त्यति बेला बाटा–बाटामा बास बस्दै जानुपर्दथ्यो । त्यति बेलासम्म मैले कहिले भाँडा माझ्ने र पकाउने काम गरेको थिइनँ । साथीहरूले खाना बनाए, खाइयो । भाँडा माझ्ने पालो मेरो थियो । अँध्यारोमा भाँडा माझेँ । भाँडा माझ्दा लुगाभरि दाग नै दाग भएछ । साथीहरूको माझमा हाँसोको विषय बन्यो यो कुरा । त्यस्तै जाँच पूरै समूह आएको त्यो बेला सबैले पालैपालो भात पकाउने सर्त थियो । भात पकाउने पालो मेरो आयो । सबै सामान साथीहरूले ठीक गरिदिएँ । भात बसाउन भाँडा हालेँ । बेला–बेलामा आगो झोस्नुपर्ने थियो । आगो झोस्दा र दाउरा धकेल्दा धकेल्दै भात नै पोखियो । ल तिमीले पर्दैन भनेर त्यसपछि साथीले भात पकाउन दिएनन् ।
त्यही बेलाको कुरा हो, जाँच दिएर फर्कंदा बस्नेत थरका साथी भेटाएँ । उनी नुन, तेल लिएर भरियासहित हिँडे । म पनि उनीसँगै साँघुरीको उकालो हिँडें । तल धारापानी हुँदै तल धनकुटाको हिलेसम्म पुगेर घर पुग्न तीन–चार दिन लाग्दथ्यो । बेलुका भएपछि भात पकाउने कुरा चल्यो । पण्डितको छोरासँगै छ । मैले पकाएको उसले खाँदैन भन्ने ती बस्नेतले सोचेछन् । बाख्रे खोलामा बास बसेर भात पकाउने सुरसार गर्न थाले । दुईतिरको खोंचमा यस्तो हावाहुरी आएको थियो । मैले आगो बाल्न खोजें ज्यान गए बलेन । अनि उनैले ल तिमीले सकेनौ भनेर आफैं खाना पकाएर खुवाए ।
त्यस्तै अर्को घटना दिदी लिन जाँदाको पनि छ । त्यो दिन फुपूको छोरा र म दिदीलाई लिन भनेर गएका थियौं । गएको दिन फुपूकोमा बसियो र त्यहाँबाट बिहानै हिँडियो । दस बजेतिर भोक लाग्यो, एउटा घरमा गएर भन्यौँ ।
मेरो मावली घर भोजपुर हो । मेरो ठूलो बुबाकामा जाँदा त धोती नलगीकन गयो भने भात खान नै पाइँदैनथ्यो । ठूली आमाले लुकाएर दिनुहुन्थ्यो । गाउँमा चिया खाँदा पनि एकदमै जातपात बार्ने चलन थियो । तर मानिसहरू बिस्तारै परदेश बसेर फर्कन थालेपछि खुलापन बढ्दै गयो ।
काठमाडौं आएपछि पनि म भट्टराई साथीसँग बसें । उनको काम भात पकाउने र मेरो काम तरकारी केलाइदिने हुन्थ्यो । फुर्सद भयो कि किताब समाएर बसिहाल्ने बानी थियो मेरो ।
पढाइमा म त्यति अब्बल थिइनँ । पाँच कक्षामा गणितमा फेल भएको थिएँ । मैले चार कक्षादेखि डेस्क–बेन्चमा बसेर पढ्न पाएको हुँ । त्योभन्दा अघि फलैंचामाथि पलेंटी कसेर बसी पढेको हुँ । पाँच कक्षामा फेल भएपछि कक्षा चढ्न पाइनँ । साथीहरू सबै छुटे । पछि फेरि अर्को जाँच लिएर मलाई पढाइयो । त्यसपछि मैले एकदमै ईख लिएर पढ्न थालेँ । सात आठ कक्षामा पुग्दा त म प्रथम हुन थालेँ । पछि नौ–दस र प्रवेशिकामा पनि विद्यालय टप भएको थिएँ । त्यही भएर मलाई तीनधारा पाठशाला काठमाडौंमा पढ्ने मौका मिलेको थियो । त्यही मौकाले नै मेरो जीवन बदलियो । त्यसैले हरेक बालबालिकाले सानै छँदैदेखि राम्रोसँग पढ्नुपर्ने रहेछ भन्ने शिक्षा मैले मेरो जीवनबाट सिकेको छु ।
मेरा त्यति बेलाका मिल्ने साथीहरू पोषरमण चापागाईं, चेतोनाथ गौतम हुन् । काठमाडौं आएपछिका सहपाठीहरूमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति विदुर पौडेल, नायब बडागुरुज्यू डा. माधव भट्टराई, सचिव राधेश्याम भट्टराई र अर्का सचिव तुलसी भट्टराई आदि हुन् ।
प्रस्तुति : कार्तिकेय