अमू शाक्य
कक्षा : १०, सिफल स्कुल, कालाेपुल, काठमाडाैँ ।
लैनसिंह बाङ्देलद्वारा रचित “लङ्गडाको साथी” सामाजिक र मानवतामा आधारित मौलिक उपन्यास हो । अझ विशिष्ट रूपमा भन्नुपर्दा पशुत्वमा आधारित कृति पनि भन्न सकिन्छ । यसको पहिलो प्रकाशन सन् १९५१ मा दार्जिलिङमा भएको थियो भने प्रचलित आठौंँ संस्करण सन् २०२३ मा प्रकाशित भएको हो । यो पुस्तकमा जम्मा ६९ पृष्ठ र ९ वटा अध्यायहरू छन् । यो पुस्तक छोटो, सटिक र सरल भाषामा लेखिए तापनि कथावस्तु मार्मिक छ । यो पुस्तकको नाम र आवरण जति मार्मिक देखिन्छ, त्यो भन्दा कैयौँ गुणा यो पुस्तक पढिसकेपछि मार्मिक बन्छौँ ।
पुस्तकको कथावस्तुलाई विहङ्गावलोकन गर्दा लङ्गडा र उसको साथी कुकुरको घामछाँया जीवनलाइ प्रस्तुत गरेको छ । कहिले चरमसुखको भोग गर्नुपर्ने, कहिले अचाक्ली दुःखको भोग गर्नुपर्ने जीवनलाई यस उपन्यासले कहन्छ । दुईजना मानव साथी हुँदा हुने हाँसी-मजाक, क्षणिक द्वन्द आदिलाई मानव र कुकुर साथी हुँदा पनि समान रूपले हुने कुरा चित्रण गरिएको छ । लङ्गडाको खाना कुकुरले खोस्दा लङ्गडाको कुकुरमाथि रिसालु व्यवहार एक स्मरणीय कथा वस्तु होस् जसले मानव–मानवबिच हुने क्षणिक भावलाई जोड दिन्छ । लङ्गडा भएको कारण उसको केही इलम हुँदैन, अर्कोतिर कुकुर मानवीय परिप्रेक्ष्यमा पराइ प्राणी । यस सन्दर्भमा मागेर खाने नै लङ्गडाको सहारा हो । मागेकै भरमा उसले कहिले आफू र कुकुर पेटभरि खान पुग्थ्यो भने कहिले पुग्दैनथ्यो । अधिकांश दिनहरू भोकै नै सुत्नुपथ्र्यो । कहिलेकाहीं आफू लङ्गडा भएकोले उसलाई भगवानदेखि एकदमै रिस उठ्थ्यो । तर प्रारब्ध र नियतिको खेल उसले बुझेको थियो ।
एकदिन मागेकै भरमा लङ्गडा र उसको साथी कुकुरले पेटभरि खान पाएको हुन्थ्यो । त्यो लङ्गडाको सफलताको कथा थियो । लङ्गडाको सफलता भनेकै कुकुरको सफलता थियो । विपनामा सुखको भोग गर्न त पाएन यद्यपि सपनामा पनि कमसेकम सुखको भोग गर्न पाएको थिएन । आफूलाई र कुुकुरलाई गिद्धले लुछेको जस्ता विभीषिका उत्पन्न गराउने सपनाले विपनामा पनि सताउँथ्यो । यसरी निशामा कुण्ठित जीवनलाई प्रत्यूषको प्रतीक्षा गर्दै गरेको दृष्टिबाट देखाइएको छ । मागेर आफू दुई छाक खाँदा र साथी कुकुरलाई पनि पेटभरि मासुभात खुवाउँदा भएको खुसी र विद्यालयका एक दलले सधैँ ‘भुइँभालु’ भनेर गिज्याउँदा मनमा हुने पीडालाई समायोजनमूलक दृष्टिले देखाइएको छ ।
आफ्नो साथी कुकुर हराउँदा लङ्गडालाई भएको पीडा र उसको आन्तरिक वेदनालाई सूक्ष्म रूपमा केलाइएको छ । आफू अशक्त भए तापनि साथीको चिन्ता र न्यास्रोले घिस्रीघिस्री खोज्न जाँदा एक मानव र पशुको आत्मीय सम्बन्धलाई थप सुदृढीकरण र उजागर गर्छ । अन्त्यमा एउटा मार्मिक दृष्यसित यो पुस्तकले दृष्टिगोचर गराउँछ । आफ्नो साथीलाई घिस्रिँदा घिस्रिँदै पानी परेर ओत लाग्ने ठाउँ खोज्दा हातखुट्टा भएका मानिसहरूले पनि एकदिन कुर्न नदिँदा अशक्त मानिसहरूको अशक्त मानसिकतालाई साक्षात्कार गराउँछ । कसैले बास नदिएपछि लङ्गडा पानीको हिलोमा गाडिन्छ । त्यसको भोलिपल्ट ऊ उठ्दा उसलाई सबैले हेरिरहेका थिए । खुसीको खबर के थियाे भने त्यो समय उसले आफ्नो कुकुरलाई देख्छ र दु:खकाे कुरा कुकुरलाई अँगालेको केही क्षणमा नै उसको देहावसान हुन्छ । लङ्गडा मरेको लगभग १० महिनापछि कुकुरको पनि देहावसान हुन्छ । यसरी नै यस सशक्त उपन्यासमा लङ्गडा र उसको साथी कुकुरको पीडा प्रस्तुत गरिएको छ ।
पुस्तकको परिचयमा चर्चा गरे जस्तै यो पुस्तक एक अशक्त मानव र कुकुरको घनिष्ठतालाई चित्रण गरिएको विशिष्ट पुस्तक हो । सबै अशक्तरहित मानिसहरूले लङ्गडाको साथ छोड्दा एक अबोध प्राणी कुकुरले उसको साथ दिँदा साँच्चै नै मानवता लुप्त भएको यथार्थता चित्रण गर्दछ जुन विषयवस्तु वास्तविक र विद्यमान सन्दर्भसँग तुलना गर्दा यथार्थ नै ठहरिन्छ । लेखक मुकुन्दराज पथिक (२०१५) द्वारा रचित “अनारको बोट” कथामा उनले लेखेका थिए– “मानिसमा मात्र होइन, अन्य प्राणीमा पनि सेवाको पैँचो तिर्ने प्रवृति पाइँदो रहेछ ।” यसै भनाइको चरितार्थ यस कथामा भेटिन्छ । लङ्गडाले मागेर कमाएको बेला कुकुरलाई पेटभरि खुवाउँछ र कुकुरले पनि आफ्नो जिम्मेवारी सम्झी लङ्गडालाई साथ दिन्छ । मानिसको सर्वोत्तम हतियार नै चेतना हो जसले गर्दा ऊ अरु प्राणीहरूभन्दा सर्वोच्च मानिन्छ तर मानवेतर प्राणीहरूमा पनि उदार भाव हुँदोरहेछ भन्ने यो पुस्तकले पुष्टि गर्दछ । कसैले गुन गरेपछि कृतघ्न नभई गुन फर्काउन पर्ने नै यो पुस्तकको व्यवहारिक सन्देश हो । ६९ पृष्ठको छोटो सरल पुस्तकले बोकेको सन्देश केवल कुनै एक सन्देशमा मात्र सीमित छैन, अनगिन्ती छन् । कथालाई नसोचेको मोडमा लगेर अवतरित गर्नु लेखकको विशिष्ट गुण हो । सकारात्मक पक्षका लागि यो पुस्तक वाञ्छनीय नै छ । यद्यपि आलोचनात्मक दृष्टिले अवलोकन गर्दा मेरो धारणामा केही विषयहरू थप भए पुस्तक अझ रोचक र मनोरञ्जनात्मक हुने थियो ।
कवि वासुदेव पाण्डेय “प्रभाकर” ले भनेका थिए– “१०० वटा टिप्पणीमा ९९ जनाले वाह, क्या राम्रो भनेको छ र एकजनाले यो भइदिए हुन्थ्यो भन्यो भने यो भइदिए हुन्थ्यो भन्नेलाई प्रथम स्थान दिइन्छ ।” त्यही कुराको मनन गर्दै समालोचनात्मक दृष्टिले हेर्ने जमर्को गर्दछु । कथावस्तुलाई नियाल्दा “लङ्गडा” लाई लङ्गडा नै भनिएको हुन्छ र कुकुरलाई कुकुर नै भनिएको हुन्छ । तिनीहरूको औपचारिक वा सो नभए अनौपचारिक नाम भइदिएको भए लङ्गडालाई नहेपिएको जस्तो प्रतीत हुने मेरो बुझाइ हो । अर्को कुरा कुकुर हराउँदा भएको पीडा लङ्गडाको तर्फबाट मात्र प्रस्तुत भएको छ । कुकुर र लङ्गडाको आत्मीय सम्बन्धलाई पुस्तकले देखाएपछि एकले अर्कालाई गुमाउँदा भएको पीडा पनि द्विपक्षीय दृष्टिकोणबाट प्रस्तुत गर्दा पुस्तक थप मार्मिक र सुन्दर बन्ने थियो । यसका साथै अन्त्यमा लङ्गडा मर्नुको केही अर्थगत कारण यो पुस्तकले दिएको छैन । हुन त एक दिन अघि वर्षातको कारण हिलोमा गाडिएर मरेको भनेर पाठकवर्गले अनुमान लगाउन सक्छन् । तैपनि एउटा कारण दिँदा घटनाक्रममा शोभा थपिने थियो । मुख्यतः सकारात्मक परिप्रेक्ष्यबाट हेर्दा यो पुस्तक एक मानव र पशुको स्नेह, स्यहार र सम्बन्धको त्रिवेणी हो । उनका आउँदा पुस्तकमा तत्तत् विषयवस्तुहरूको संशोधनको अपेक्षा गर्दछु ।
र अन्त्यमा :
लङ्गडाको साथी एकपटक पढ्नै पर्ने उपन्यास हो । यो मौलिक उपन्यासले मानवताको मार्गलाई देदीव्यमान पार्दै पाठकलाई पनि त्यही मार्गमा हिँडाउन अनुप्रणित गर्दछ । म पनि यस पुस्तक पढिसकेपछि सक्रिय रूपमा मानवताको पथमा हिँड्न अनुप्राणित भएँ । मानवताको परिधिभित्र मात्र सीमित नभई संज्ञात्मक ज्ञान, जीवनोपयोगी ज्ञान आदिको निमित्त पनि विशिष्ट ठहरिन्छ यो पुस्तक । निष्पक्ष दृष्टिकोणले लेख्नुपर्दा यो पुस्तक मानव भएर पनि दानवको व्यवहार देखाउने मानिसहरूमा सिफारिस गर्न चाहन्छु ताकि तिनीहरूले गल्तीहरूलाई प्रायाश्चित्त गर्ने निधो गरून् । यसको सहज भाषाशैलीको हिसाबले बालकदेखि वयस्कसम्म सबै उमेरसमूहका मानिसहरूलाई याे किताब सिफारिस गर्न चाहन्छु ।