यो जीवनको आनन्द लिनुहोस् । आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् ।
– प्रेम रावत
१० वैशाख २०८२, भक्तपुर, काठमाडौँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रेम रावतले आज भक्तपुरको सिपाडोलमा हजारौँ श्रोतालाई सम्बोधन गर्नुभएको छ ।
११ वर्षपछि शान्तिवक्ता रावतले नेपालमा यसै साता रूपन्देही र भक्तपुरमा गरी दुईओटा कार्यक्रमलाई सम्बोधन गर्नुभयो । वैशाख ६ गते रूपन्देहीको सैनामैनामा भएको कार्यक्रममा १ लाख बढी श्रोतालाई सम्बोधन गर्नुभयो भने आज भक्तपुरमा भएको कार्यक्रममा उहाँलाई झन्डै ४० हजारले सुनेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै प्रेम रावतले भन्नुभयो, “हामीले प्राप्त गरेको यो जीवन अत्यन्तै दुर्लभ छ । सत्यता के हो ? तीनओटा कुरा सबैका लागि समान छन्- पहिलो तपाईँको जन्म भएको छ, दोस्रो तपाईँ अहिले जीवित हुनुहुन्छ । तपाईँभित्र श्वास आइरहेको अनि गइरहेको छ । अनि, तेस्रो चाहिँ एक दिन तपाईँले यो संसारबाट बिदा लिनुपर्ने छ ।”
व्यक्तिले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिनु आवश्यक छ ? जीवनमा सदैव आन्तरिक आनन्दको अनुभव गर्नु आवश्यक छ । यसका लागि आफूभित्र भएका सृष्टिकर्तालाई मान्नु नभएर चिन्नु नै आवश्यक रहेको उहाँले बताउनुभयो ।
आत्मज्ञान प्रचार संघले यो कार्यक्रमको आयोजना गरेको हो । उपस्थित सबै सहभागीहरूले यस कार्यक्रमबाट भरपुर आनन्द लिनुभयो ।
प्रेम रावत न्युयोर्क टाइम्समा सर्वाधिक विक्री भएको पुस्तक Hear Yourself का लेखक पनि हुनुहुन्छ ।
प्रेम रावतले विश्वशान्तिदूतको भूमिकासँगै करोडौँ मानिसको जीवनमा सकारात्मक प्रभाव पार्नुभएको छ । आज उहाँको सन्देश १ सय १० भन्दा बढी देशमा सुन्ने गरिन्छ । उहाँ हरेक व्यक्तिलाई आशा र शान्तिको सन्देश प्रदान गरेर आन्तरिक सुख र शान्ति सम्बन्धी व्यावहारिक मार्ग देखाउनुहुन्छ ।
उहाँ ‘द प्रेम रावत फाउन्डेसन’ (टीपीआरएफ) का संस्थापक पनि हुनुहुन्छ । यस संस्थाले भोजन, पानी र शान्तिजस्तो आधारभूत मानवीय आवश्यकतालाई पूरा गर्ने कार्य गर्दछ । यसको पहलस्वरूप ‘जनभोजन’ कार्यक्रममार्फत भारत, नेपाल, घाना र दक्षिण अफ्रिकामा हरेक विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई समेत पौष्टिक भोजन प्रदान गर्ने गरिन्छ । उहाँको सन्देशमा आधारित ‘पिस एजुकेसन कार्यक्रम’ १ हजार ४ सयभन्दा बढी शैक्षिक एवम् अन्य संस्थाहरूमा देखाउने गरिन्छ । यसबाट ५ लाखभन्दा बढी मानिस लाभान्वित भएका छन् । यो कार्यक्रम १ हजारभन्दा बढी जेलमा सञ्चालन भइरहेको छ । यसको प्रभावबाट कैदीबन्दीहरूमा दोहोर्याएर अपराध गर्ने प्रवृत्ति घटेको अध्ययनले देखाएको छ ।
प्रेम रावतका कार्यलाई सरकारी, गैरसरकारी सङ्गठन, व्यापारिक संस्थानदेखि संसारका नागरिक सङ्गठनद्वारा स्वीकार गरिएको छ । उहाँले ब्रिटेनदेखि लिएर न्युजिल्यान्डसम्मको संसद तथा हावर्ड एवम् अक्सफोर्ड विश्वविद्यालयजस्ता प्रतिष्ठित संस्थानहरूमा सन्देश प्रस्तुत गर्नुभएको छ । सन् २०११ मा प्रेम रावत ‘युरोपियन संघ’ (ईयू) को एउटा विशेष कार्यक्रममा मुख्य वक्ता हुनुहुन्थ्यो । त्यहाँ उहाँले ‘शान्तिका लागि प्रतिज्ञा’ (प्लेड्ज टु पिस) मा हस्ताक्षर गर्नुभएको थियो ।
सन् २०२३ मा प्रेम रावतले टीभी, पत्रपत्रिका र रेडियोसहित विभिन्न सञ्चार माध्यमका सहायताले ९१.६ करोड मानिसहरूसमक्ष यो सन्देश प्रवाह गर्नुभएको छ । उहाँको ‘लाइफ एसेन्सियल’ नामक पोडकास्ट च्यानललाई १ सय १० भन्दा बढी देशहरूमा सुन्ने गरिन्छ । उहाँको ‘स्वयम् की आवाज’ र ‘शान्ति सम्भव है’ (पिस इज पोसिबल) पुस्तकलाई संसारभर मन पराइएको छ । उहाँ केवल वक्ता र लेखक मात्र नभएर एक आविष्कारक, सङ्गीतकार, कलाकार, फोटोग्राफर तथा हवाईजहाज र हेलिकप्टरका एक कुशल विमानचालक पनि हुनुहुन्छ । उहाँसँग १५ हजार घण्टा उडान भरेको अनुभव छ ।

