‘गहभरि आँसु’ बालगीतकाे म्युजिक भिडियाे लाेकार्पण

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडौं / सुप्रसिद्ध बाल गीतकार, साहित्यकार रामबाबु सुवेदीले रचना गर्नुभएकाे बालगीत ‘गहभरि आँसु’ (डिप टियर्स) को म्युजिक भिडियाे मंगलबार राजधानीको एक कार्यक्रममा लोकार्पण गरिएको समाचार प्राप्त भएकाे छ । 

कार्यक्रममा रामबाबु सुवेदी, नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, पत्रकार-लेखक दीपक सापकोटा, डा. बुद्धिमान श्रेष्ठ, डा. रवीन्द्रमान श्रेष्ठ, प्रा.डा सन्ध्या श्रेष्ठ, अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु क्षेत्री, कवि रेणु अधिकारी, साउण्ड इन्जिनियर प्रकाश खरेलले संयुक्त रूपमा ‘गहभरि आँसु’ को म्युजिक भिडयाेकाे लोकार्पण गर्नुभएकाे थियाे ।

बालबालिकाको दाँतको स्वास्थ्य विषयमा चेतना दिने याे भिडियाे फिलिम हेरेकाे झै रमाइलाे हुने शैलीमा तयार गरिएकाे छ । यस लोकार्पण समाराेहमा कान्तिपुर डेन्टल कलेजमा ‘डेन्टल हेल्थ’ पढिरहनुभएका विद्यार्थी, डाक्टर र शिक्षकले  पनि दाँतका समस्यामाथि आफ्नाे विचार प्रस्तुत गर्नुभएकाे थियाे । 

‘गहभरि आँसु’ मा अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु कार्कीलगायतको अभिनय रहेकाे छ ।

अभिनेत्री सुरक्षा पन्तले ‘गहभरि आँसु’ बालगीतमा आफ्नो अभिनय अनुभव सुनाउँदै भन्नुभयाे, ”बालबालिकाका स-साना खुसी र दुःखलाई नजिकैबाट अनुभूत गर्न पाएँ ।”  

नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीले बालबालिकाका विषयमाथि धेरै फिल्म बन्नुपर्ने र तिनले बालबालिकाको समस्या पहिचान गर्नुपर्ने विचार व्यक्त गर्नुभयाे । उहाँले यस्ता फिल्मले बालबालिकाको दुःख बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै पत्रकार दीपक सापकोटाले बालबालिकाका समस्या बुझेर, तिनको स्वास्थ्यमाथि बहस–विमर्श हुनुले स्वस्थ समाज निर्माण गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, ”यो गीति फिल्मले बालबालिकालाई आफ्नो स्वास्थ्यमाथि सोच्न, आफू कसरी निरोगी रहने भन्ने कुरामा सचेत हुन र स्वास्थ्य कसरी ठिकठाक राख्ने भन्ने विषयमा ध्प्रेयान दिन प्रेरित गरेकाे छ ।” 

किताब चरो नेपालद्वारा सञ्चालित बालगीत परियोजनाअन्तर्गत कान्तिपुर डेन्टल कलेजको सहकार्यमा निर्माण भएको गीति–फिल्म ‘गहभरी आँसु’ लाई गायिका बबिना भट्टराई र सुप्रिमा थापाले गाउनु भएकाे छ । यसकाे निर्देशक आचार्य गोपाल हुनुहुन्छ । बालबालिकाका विषयमा डकुमेन्ट्री, सर्ट-फिल्म निर्देशन गर्दै यस क्षेत्रमा काम गर्दै आउनुभएका आचार्य गोपाल भन्नुहुन्छ, ”बालबालिकाका समस्या पहिचान गरेर काम गरे मात्रै उनीहरूलाई पनि समाजप्रति उत्तरदायी हुन प्रेरित गर्न सकिन्छ। हामीले फिल्ममार्फत् उनीहरूकै दुःख-व्यथा देखाउने प्रयत्न गरिरहेका छौं ।”

कार्यक्रममा बाेल्दै सुप्रसिद्ध बाल गीतकार, साहित्यकार रामबाबु सुवेदीले भन्नुभयाे, ”बालबालिकालाई प्रेम गरे मात्रै सुन्दर समाज निर्माण हुनेछ, त्यसैले म बालबालिकाकै विषयमा गीत लेख्न रुचाउँछु ।”

(फाेटाे/समाचार स्राेत : आचार्य गोपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *