मित्रता

कथा साहित्य
  • विद्या सापकोटा

मुसलधारे पानी परिरहेको थियो । वा-आमा काममा जानुभएको आइपुग्नुभएको थिएन । शनिवारको दिन स्कूल विदा भएकोले राजु घरमा एक्लै थियो । कालुको पनि विहानदेखी अत्तोपत्तो नै थिएन । पानी पनि कत्ति पर्न सकेको, वार्दलिमा उभिएर एक्लै रुन थाल्यो ऊ । भल यति ठूलो आएको थियो कि, दाउराको चाङ्गहरु भत्काउदै लगिरहेको थियो । चराहरु रुखमा क्रुकुक्क परेर वसेका थिए । साथीहरु पनि कोही आउन सकेका थिएनन् । बिहानदेखि पानी परेको रोकिएको थिएन । भोक लागेर पनि राजुको छटपटी वढेको थियो । रोएर उसका आँखा राता भैसकेका थिए । पानी परेको समय भएर होला, वरिपरि कसैले पनि राजुको रुवाइ सुनेनन् ।

रुँदा-रुँदा थाकेर राजु निदाउन लागेको थियो । उसको छेउमै आएर कालु टुक्रुक्क वस्यो । पानीले निथ्रुक्क भिजेको कालुलाइ देखेर राजु खुसी भयो । कालु तँ कहा गएको थिइस् हँ ? मलाइ एक्लै कस्तो डर लाग्यो……… । राजुले उसलाइ थपथपाउदै भन्यो । कालुले डराउदै ट्वाल्ल परेर हेरिरह्यो ।

ए ! तैले किन हेरिरहेको नि मलाई ? तलाई पनि त जाडो भयो होला पख् ल । राजुले कपडा खोजेर कालेलाइ पुछिदियो । कालु पनि आत्तिएको जस्तो देखिन्थ्यो । राजुको साथ पाएर थपक्क वसिरहृयो । कालु वोल्न सक्दैनथ्यो तर उसका चम्किला आँखाहरु, लामो-लामो जुँगाको भाषा राजु तुरुन्तै वुझिन्थ्यो । विस्तारै झरि पनि रोकिदै गइरहेको थियो । अघिसम्म भोकले आकुल भएको राजु कालुलाइ भेटेपछि त्यत्तिकै अघाएजस्तो भयो । झुस्यानले पानी बग्ने बाटो छेकिएछ । भल भरिएर वाख्राको गोठ भरिन लागेको थियो, कालुले बुर्लुक्क उफ्रेर नाल खोलिदियो ।

दुवै भोकाएका थिए । आमाले दलानमा खाजा पकाएर राखिदिनुभएको थियो । राजु सानै थियो कालुले राजुको मुखमा हेर्‍यो अनि सानो बनेर बसिदियो । राजुले उसको जिउमाथि चढेर खाजा झिक्यो अनि दुवै मिलेर खाए । एक्लै डराइरहेको वेला एक अर्काको साथ पाएर दुवै एकदम खुसी भए ।

साँझ परेपछि वावा-आमा आउनुभयो । कालुलाइ राजुसँग वसिरहेको देखेर दङ्ग पर्नुभयो । तर कालु पहिला जस्तो पटक्कै थिएन । कताकता डराएजस्तो, आत्तिए जस्तै गरेर बाहिर हेरिरहेको थियो ।

कालु के भो तलाई ? राजुले सुम्सुम्याउदै सोध्दा आखाभरि आशु बनाउदै कालु राजुसँगै झन् टास्सिएर बस्यो ।
आमा हेर्नु के भो यसलाइ अघि देखी नै डराइरहेको छ । के भयो भनेर सोध्यो कि खाली रुन्छ मात्रै रुन्चे अनुहार लगाउदै अघि देखिको एकएक कुरा आफू आत्तिएको, काले भिज्दै आएको, वाख्रा वचाएको, खाजा खाएको सवै कुरा राजुले बाबुआमालाइ सुनायो ।

राजुको जे कुरा पनि विगारिदिने, खानेकुरा पनी खाइदिने भनेर आमाहरुले नै परको खेतनेर छोड्न कालुलाइ लग्नुभएको थियो तर काले त अघि नै आइपुगिसकेछ । आमालाइ यिनीहरुको यस्तो मित्रता आफूले नदेखेकोमा पछुतो लाग्यो । एउटा विरालोको वच्चाले आफ्नो छोरालाइ त्यत्ति धेरै माया गरेको तर आफू मान्छे भएर पनि उसलाइ सधै दुर्व्यवहार गरेकोमा खिन्नता लाग्यो ।

ल आओ ! खाजा खान आमाले वोलाउनुभयो । राजु आयो तर काले डराएर उतै वसिरहृयो । काले, तँ पनि आइज न, आमाले मायाले बोलाउनु भयो ! राजु र काले दुवैले रमाउँदै सँगै वसेर दूधभात खाए ।

कल्याणपुर – ७, नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं
Email: nirjala0008@gmail.com

Leave a Reply

Your email address will not be published.